• २०८३ असोज २५ आइतबार
  • Sunday, 11 October, 2026

बुढीगण्डकीकाे बाढी अपडेट: पुल, घर र जलविद्युतमा कति भयाे क्षति?

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठुलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीले विभिन्न स्थानमा ठुलो भौतिक क्षति पुर्‍याएको छ।

विङ्गिलुङ खोलामा सुरू भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो। विङ्गिलुङ र स्यार बूढीगण्डकीका सहायक खोला हुन्। 

बाढीले बूढीगण्डकी नदी आसपासका बस्ती, पदमार्ग, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ।

अहिलेसम्म ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्।

आइतबार बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

बाढीले न्याकचेत र माछिखोलाका पुल, आरुघाटस्थित पक्की पुल तथा सोतीको फलामे पुल बगाएको छ। धार्चे गाउँपालिकामा निर्माणाधीन ऊर्जा आयोजनाका संरचना र आसपासका घरसमेत बाढीले बगाएको छ।

माछिखोलाको तल्लो बस्तीका २० देखि २२ घर जोखिममा परेका छन्। बाढीको बहाव र नदी कटानका कारण थप क्षति हुन सक्ने जोखिम रहेको छ। बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा समेत क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र र निर्माणमा प्रयोग भइरहेका उपकरणसमेत बाढीले बगाएको छ। बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमन र सञ्चार सेवामा समेत असर पर्न सक्ने देखिएको छ।

जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती र पूर्वाधारमा थप क्षति हुन नदिन सतर्कता अपनाउनुपर्ने अवस्था छ। सम्भावित थप क्षतिलाई ध्यानमा राख्दै प्राधिकरणले बुढीगण्डकी र आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर