भाेटेकाेशी जस्तै बुढीगण्डकी बाढीः पूर्वसूचना प्रवाहमा किन भएन सुधार?
काठमाडाैं। घरमुनिको खोलामा गुडुङगुडुङ आवाज बढ्दै गएपछि चुमनुब्री गाउँपालिका, चुम्चेतस्थित लोक्पाका शेराप गुरुङ झस्किए । बाहिर निस्केर हेर्दा खोला ठूलो आवाजसहित उर्लिरहेको थियो । उनले हत्तारिँदै घरभित्र सुतेका श्रीमती, छोराछोरी र आफ्नो होटलमा बास बसेका पर्यटकलाई उठाए । सबैलाई लिएर घरमाथिको डाँडातिर भागे ।
बुढीगण्डकीको सहायक स्यारखोलामा बाढी आएको खबर गुरुङले फिलिम, घट्टेखोलादेखि सल्लेरीसम्मका चिनेजानेका आफन्त र साथीभाइलाई फोनमार्फत दिए ।
‘यस्तो आवाज कहिल्यै सुनेका थिएनौं । भोटेकोशी बाढीको पनि याद आयो । बाढी नै हो भन्ने भयो,’ उनले भने । आइतबार बिहान झिसमिसैमा उकालो लागेका उनीहरू उज्यालो भएपछि मात्र घर फर्किए । कम्तीमा ६ पटक स्यारखोला थुनिने र खोलिने हुँदै बगेको उनले सुनाए । ‘डरैडरमा बस्यौं, थुनिँदा खोला कराउँदैन, बग्न थालेपछि ठूलो आवाज आउँछ,’ गुरुङले भने, ‘के कसो हुने हो भनेर अत्तालिँदै बस्यौं ।’ गुरुङले २५/३० वर्षअघि पनि स्यारखोलामा ठूलो बाढी आएको देखेका थिए । तर त्यतिबेला आइतबारको जस्तो उर्लिर्एर आएको थिएन । ‘यसरी बाढी आउला भन्ने त लागेकै थिएन,’ उनले कान्तिपुरलाई भने, ‘यही खोला पनि यत्रो हुँदो रहेछ ।’
स्यारखोलाको सहायक उङ्गिलुङ खोलामा पहिरो खसेर बाढी आएको उनले सुनाए । पहिरोले केहीबेर थुनिएर बग्दा बढेको स्यारखोला बुढीगण्डकीमा मिसिएर आरुघाटसम्मको तटीय क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । बाढीले पुल र बाटोघाटो बगाएका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सडक तथा पैदलमार्ग सदरमुकामसँग विच्छेद भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उङ्गिलुङ खोलाबाट बगेको गेग्रानले स्यारखोला थुनिएर फुटेपछि बुढीगण्डकीमा लेदोसहितको ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरेको छ ।
उङ्गिलुङ खोला नजिकै भेडा चराउन गएका पाँच जना बाढीपछि सम्पर्कविहीन छन् । चुमनुब्री–६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया मेम्मो अजी लामा, ६६ वर्षीय सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय दोर्जे लामा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । भेडा चराउँदै हिँड्ने उनीहरू उङ्गिलुङ खोला किनारमा गोठ सारेर बसेका थिए । पाँच जना बेपत्ता बनेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि पुष्टि गरे ।
बुढीगण्डकीमा बाढी आउँदा चुमनुब्री–३ का घट्टेखोला, सल्लेरी, पैंयु र जगत बगर तथा धार्चे गाउँपालिका–५ माछाखोलाका ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको छ । नदी किनारका केही घर बगेका छन् भने केही घरमा पानीसहितको लेदो पसेको छ । क्षतिको विवरण संकलन भइरहेको सहायक प्रजिअ शर्माले बताए ।
कतिपय स्थानीय बुढीगण्डकी उर्लिएर घरनजिकै आइपुगेपछि छाडेर हिँडेका थिए । आफूहरू दिनभर जंगलमा बसेको चुमनुब्री–३ जगतका गणेश कार्कीले बताए । ‘बिहानै फोन आएपछि उठ्यौं, बाढी आयो भन्ने खबर थियो,’ उनले भने, ‘हल्लाखल्ला भएपछि घर छाड्यौं । केहीबेरमा नदी बढेर बस्ती नजिकै आइपुग्यो ।’
जगतबाट झन्डै पाँच सय मिटरमाथि गएर बसेको उनले सुनाए । ‘यस्तो बाढी कल्पना नै गरेका थिएनौं, १५ मिनेट बाढी आउने, फेरि रोकिने बिहानभर नै भयो,’ उनले भने । बाढी आएपछि स्थानीय त्रस्त बनेको चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए । ‘घर नै छाडेर
हिँड्नुपर्ने अवस्था आयो,’ उनले भने । बाढीका कारण अलपत्र परेकालाई उद्धार गर्न आइतबार चार वटा हेलिकोप्टर परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । ८२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको सेनाको भनाइ छ । बाढीले आरुघाट गाउँपालिका–९ को धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल बगाएको हो । आरुघाट गाउँपालिका–२ को मान्वु र ३ को सोती जोड्ने मोटरेबल पुल पनि बाढीले बगाएको छ । चुमनुब्री–३ नाग्चेत र फिलिम जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछाखोला र केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ ।
१२ वैशाख २०७२ को भूकम्पपछि चुमनुब्री–६ चुम्चेतस्थित सर्दिभीरमा बनेको ‘क्यान्टिलिभर’ (भीर खोपेर बनाइएको पुल) बाढीले बगाउँदा दुई वडा पुग्ने बाटो विच्छेद भएको छ । चुमनुब्री–६ र ७ वडा पुग्ने एक मात्र पैदलमार्गको क्यान्टिलिभर पुल बगेको हो । ‘ती दुई वडासहित सिंगो पालिकासँग नै पैदल र सडक सञ्जालको यात्रा टुटेको छ,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए । ‘बुढीगण्डकीले दोभानबाटै सडकमार्ग कटान गर्यो, जगत र सल्लेरी क्षेत्रको बाटो कटानले ठप्पै छ ।’
सापकोटाले वैकल्पिक पैदलमार्ग खुलाउन सोमबार ठाउँ हेर्ने तयारी भइरहेको जानकारी दिए । ‘आज (आइतबार) उद्धारमा व्यस्त भयौं, बाटो खुलाउन सकिन्छ कि भनेर हेर्न भोलि (सोमबार) त्यसतर्फ जान्छौं,’ उनले भने । उनका अनुसार आइतबार चुमनुब्रीबाट ९६ जनाको उद्धार गरिएको थियो । चुमनुब्रीमा मात्र ३१ घर बाढीले बगाएको छ । चुमनुब्री–३ घट्टेखोलाको विकास आधारभूत विद्यालयमा पनि बाढीले क्षति गरेको छ ।
बाढीपछि मनास्लु क्षेत्र घुम्न गएका पर्यटक बीचबाटामै रोकिएका छन् । जगत बगरबाट फिलिमसम्म पुग्ने बाटो नै बाढीले बगाएको छ । बाढीले पदमार्ग र पुल बगाएका कारण शनिबार राति बास बसेकै ठाउँमा पर्यटक रोकिएका मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का सूचना अधिकारी भुवन ओझाले बताए । ‘पर्यटक जहाँ थिए, त्यहीं रोकिएका छन्, सुरक्षित छन्,’ उनले भने ।
चुमनुब्री–३ को जगतमा करिब १ सय १५ र चुमनुब्री–६ को लोक्पामा करिब ४० जना पर्यटक रहेको ओझाले जानकारी दिए । ‘न्याक फेदीमाथि बाटोको समस्या छैन, जगत बगरबाट फिलिमसम्मलाई समस्या हो,’ उनले भने ।
गाउँपालिकाको केन्द्र सिर्दिबास फिलिमभन्दा केही माथिबाट उत्तरी गोरखाको चुम र नुब्री उपत्यका जाने पदैल मार्ग छुटिन्छ । बाढीले चुमतर्फ जाने बाटोमा क्षति गरेको हो भने नुब्रीतर्फ त्यसभन्दा माथि क्षति छैन । तर त्यहाँसम्म पुग्ने बाटो अवरुद्ध छ । बाढीपछि चुमभ्यालीमा पदयात्रा रोक लगाइएको छ । भदौ, असोज र कात्तिकलाई मनास्लु क्षेत्र घुम्ने उपयुक्त समय मानिन्छ ।
धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रका तीन वटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ । चुमनुब्री–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशयुत्त जलविद्युत् आयोजनाको क्याम्पमा बाढीले क्षति पुर्याएको छ । उपकरण बाढीले बगाएको आयोजनाले जनाएको छ । दोभानको २४.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको क्याम्प र बेलिब्रिजमा पनि क्षति पुगेको छ ।






प्रतिकृया दिनुहोस