खगेन्द्र सुनारले बुझाए लिखित जवाफः गरे आरोप अस्वीकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार उनीमाथि लागेका आराेप अस्वीकार गरेका छन् । उनले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग पनि गरे ।
उनले आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने उल्लेख गर्दै आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूले गरेको भनिएको कुनै पनि गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने बताएका छन् । उनले पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।
‘म माथि उठेको प्रश्नको सत्यतथ्य छानबिन होस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्’, उनले लेखेका छन्, ‘मैले गरेको भनिएको पाप, अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु ।’
सुनारले आफूमाथि आरोप लागे पनि राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गरिरहेकी एक महिलामाथि मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूलाई कारबाही गरिए स्वीकार्य हुने तर ती महिलामाथि भइरहेको भनिएको आक्रमण स्वीकार्य नहुने बताएका छन् ।
उनले कुनै व्यक्तिले विगतमा दुःख दिएको थियो भन्ने भनाइ वा बुझाइका आधारमा महिलालाई यसरी सार्वजनिक रूपमा लखेट्नु सान्दर्भिक नभएको तर्क गरेका छन् । आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित निकायले गोप्य रूपमा अनुसन्धान गरी कानुनी प्रक्रियाबाट कारबाही गर्न सक्ने उनको भनाइ छ ।
सुनारका अनुसार ती महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदा पनि प्रहरीको केन्द्रीय कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बारम्बार भेट्न बोलाएको र मुद्दा हाल्न भनेको थियो। उनले त्यसपछि आफूहरू दुवै जनालाई एकैपटक सिध्याउने धम्की दिइएको र त्यसको केही दिनपछि पछिल्लो घटनाक्रम अघि बढेको दाबी गरेका छन् ।
सुनारले आफूले कुनै विषयमा प्रश्न उठाएको वा मुद्दा अघि सारेको आधारमा आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको पनि स्पष्ट पारेका छन् । तर आरोपको छानबिन गर्ने क्रममा महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुनु आपत्तिजनक रहेको उनको भनाइ छ ।
उनले आफूमाथि लागेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न पुनः माग गर्दै दोषी ठहरिए कानुनी सजाय भोग्न तयार रहेको बताएका छन् ।
खगेन्द्र सुनारकाे भनाइः
प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् ।
म र मैले गरेको कुनै पनि कु-कर्मको पार्टी, सरकार सती जान पर्दैन । म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियाे जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन ।
आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ?
प्रहरीको हेडक्वाटर, CIB ले बार-बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन ।
मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्नः उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य-तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् – मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।






प्रतिकृया दिनुहोस