महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ
काठमाडौं । बडादसैँअन्तर्गत आज महानवमी पर्व। नवरात्रको नवौँ दिन आज दुर्गा देवीको नवौँस्वरूप माता सिद्धिदात्री र महालक्ष्मी देवीको विशेष पूजाआराधना गरी मनाइँदै छ।
आज कलपूर्जा, हातहतियार, मेसिनरी सामान तथा विभिन्न सवारीसाधनको पूजा गरी बलि दिने चलन छ। दसैँघर, कोत तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा, राँगा आदिको बलिसहित पूजा गरिन्छ।
पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।




प्रतिकृया दिनुहोस