राष्ट्रिय जागरण अभियानः समस्या बुझ्न जनतामा जाने र नयाँ योजना बनाउने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियानबाट जनताका समस्या बुझ्ने र समाधानका लागि नयाँ याेजना बनाउने बताएकाे छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गरेका हुन्।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।
राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै नेकपा संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए।
उनले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको आरोप लगाए।
आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउँदै अघि बढ्ने प्रचण्डले बताए।
उनले अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने धारणा राखे ।
राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए । त्यस्तै प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
तर देश सङ्कटमा रहेको, राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा परेको र जनताका लोकतान्त्रिक अधिकारहरू जोखिममा परेको अवस्थामा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न नेकपा नडराउने प्रचण्डले बताए।
त्यस्तै उनले अभियानसँगै आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्ने भन्दै सदस्यता नवीकरण तथा अद्यावधिक, सङ्गठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने जानकारी दिए। नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान मंसिर २५ गते समापन हुने प्रचण्डले बताए।
अभियान उद्घाटनमा सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताए ।
उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन्।
उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे। त्यस्तै उनले पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने धारणा राखे।
उनले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उल्लेख गरे।
विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीहरूको आत्मसमिक्षा गर्ने र जनतामा देखिएका केही असन्तुष्टिहरूलाई सुधार्दै अघि बढ्ने उनले बताए।







प्रतिकृया दिनुहोस