राष्ट्रिय जागरण अभियान घोषणा गर्दै प्रचण्डले भनेः सरकारबाट भय र त्रास सृजना भयाे
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण जनतामा भय र त्रास सृजना भएकाे बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको आरोप लगाए।
राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै नेकपा संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए।
उनले आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउँदै अघि बढ्ने बताए।
उनले अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने धारणा राखे ।
राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए । त्यस्तै प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
तर देश सङ्कटमा रहेको, राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा परेको र जनताका लोकतान्त्रिक अधिकारहरू जोखिममा परेको अवस्थामा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न नेकपा नडराउने प्रचण्डले बताए।







प्रतिकृया दिनुहोस