एनपीएल तेस्राे सिजन आजदेखि, प्रधानमन्त्री बालेनले उद्घाटन गर्ने !
काठमाडौं । नेपाली खेलकुदकै सबैभन्दा ठुलाे प्रतियाेगिता क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ।
कीर्तिपुर मैदानमा आज अपराह्न साढे ४ बजे तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेल हुनेछ। उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई निम्ताे दिएकाे र सकारात्मक जवाफ पाएका नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने सुदूरपश्चिमको भिडन्तले अघिल्लो संस्करणको फाइनल खेलको झल्को दिनेछ।
दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
लुम्बिनी गत सिजनको विजेतका हिसाबले सुखद सुरूवात गर्ने लक्ष्यमा रहनेछ भने अघिल्लो हारको बदला लिने दाउमा सुदूरपश्चिम रहनेछ।
विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग हुने कुराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन तातेको छ।
प्रतियोगितामा यसपटक अघिल्ला दुई संस्करणभन्दा केही महत्त्वपूर्ण परिवर्तन भएका छन्।
अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।
त्यसमा आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधि, विदेशी खेलाडीको अनुबन्धमा थप सहजता र कीर्तिपुर मैदानमा सुधारिएका सुविधाले यसपटकको एनपिएललाई थप विशेष बनाएका छन्।
एनपिएल सिजन ३ को सबैभन्दा ठूलो आकर्षण अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो छाप छाडेका खेलाडीको सहभागिता हो।
आइपिएलमा खेलेका र विश्वका विभिन्न टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी नेपाली मैदानमा उत्रनेछन्।
अस्ट्रेलियाका पूर्वओपनर डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्नेछन्। आइपिएलमा सनराइजर्स हैदराबादलाई सन् २०१६ मा उपाधि दिलाएका वार्नरले तीनपटक प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको उपाधि जितेका थिए।
उनी अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य पनि हुन्। वेस्ट इन्डिजका आन्द्रे रसेल विराटनगर किङ्समा आबद्ध छन्।
आक्रामक ब्याटिङ र तीव्र गतिमा बलिङ गर्ने क्षमताका कारण परिचित रसेलले कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्दै आफ्नो प्रभाव देखाएका थिए। उनी सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्यसमेत हुन्।
दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्नेछन्।
दबाबको अवस्थामा आक्रामक ब्याटिङ गर्दै खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण उनी टी–२० क्रिकेटमा परिचित छन्। कर्णालीले मिलरसँगै पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलतलाई पनि अनुबन्ध गरेको छ।
बंगलादेशका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट खेल्नेछन्। ब्याटिङ र स्पिन बलिङ दुवैमा योगदान दिन सक्ने शाकिबले आइपिएलसहित विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका छन्।
यी खेलाडीबाहेक पनि एनपिएलमा अनुभवी विदेशी खेलाडीको उपस्थिति छ। इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसम जनकपुर बोल्ट्समा छन्। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध छन्। जिम्बाब्वेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्नेछन् भने वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा छन्।
यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको सहभागिताले एनपिएलको चर्चा बढाएको थियो। यसपटक वार्नर, रसेल, मिलर र शाकिबजस्ता खेलाडीको आगमनले प्रतियोगितालाई थप अन्तर्राष्ट्रिय पहिचान दिने अपेक्षा गरिएको छ।
एनपिएलको तेस्रो संस्करणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि आइसिसीबाट प्राप्त आधिकारिक मान्यता हो। आइसिसी स्वीकृतिपछि यस संस्करणका खेलको प्रदर्शन खेलाडीको आधिकारिक टी–२० करियर तथ्यांकमा गणना हुनेछ।
अघिल्ला दुई संस्करणमा बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० करियर तथ्यांकमा समावेश भएका थिएनन्। यसपटक भने प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र खेलेका खेलले आधिकारिक तथ्यांकमा स्थान पाउनेछन्।
आइसिसीको मान्यताले विदेशी खेलाडीको अनुबन्धमा पनि थप सहजता ल्याएको छ। यसअघि टेस्ट खेल्ने राष्ट्रका खेलाडी अनुबन्ध गर्ने विषयमा रहेको सीमितता हटेपछि फ्रेन्चाइज टोलीले अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउन थप लचकता पाएका छन्।
प्रत्येक फ्रेन्चाइजले आफ्नो टोलीमा ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न सक्नेछन्। तर प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्रै समावेश गर्न पाइनेछ। साथै, एसोसिएट सदस्य राष्ट्रका कम्तीमा एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्नुपर्ने व्यवस्था छ।
विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्नेछ। आइसिसीको स्वीकृति नपाएको प्रतियोगितामा पछिल्लो छ महिनाभित्र खेलेका खेलाडीलाई समेत नियमअनुसार खेल्न अयोग्य ठहर गर्न सकिने व्यवस्था छ।
आइसिसीको मान्यताले एनपिएलमा खेल्ने नेपाली क्रिकेटरको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक तथ्यांकमा स्थापित गर्ने अवसर दिएको छ। यसले भविष्यमा विदेशी फ्रेन्चाइजको ध्यान नेपाली खेलाडीमा आकर्षित गर्नसमेत सहयोग पुर्याउन सक्छ।
यसपटक एनपिएलमा पहिलोपटक डिआरएस प्रयोग हुनेछ। अघिल्ला संस्करणमा थर्ड अम्पायरको व्यवस्था भए पनि खेलाडीले मैदानका अम्पायरको निर्णयलाई प्रविधिको सहायताले चुनौती दिन पाउने पूर्ण प्रणाली उपलब्ध थिएन।
डिआरएसमा एलबी डब्लूको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। ब्याटमा बल लागेको वा नलागेको जाँच्न आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एज डिटेक्सन तथा ध्वनि विश्लेषण प्रविधि पनि प्रयोग गरिनेछ।
रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, उचाइका आधारमा वाइडको निर्णय तथा छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डिआरएस लागू गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्नेछ। क्यान र आठवटै फ्रेन्चाइजले खर्च साझेदारी गर्नेछन्।
डिआरएस प्रयोगका कारण खेलको अवधि बढ्न सक्ने भएकाले क्यानले खेल तालिकामा पनि परिवर्तन गरेको छ। डबल हेडर अर्थात् एकै दिन दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एक खेल मात्रै हुने दिनको खेल पनि साँझ ५ बजे सुरु हुनेछ।
यसअघि साँझका खेल ४:३० बजे सुरु हुने तालिका थियो। डिआरएसका लागि थप समय आवश्यक पर्ने भएकाले साँझको खेल आधा घण्टा ढिलो सुरु हुने व्यवस्था गरिएको हो।
एनपिएलको पहिलो खेलका सबै टिकट बिक्री भइसकेको जनाएको छ।
तेस्रो सिजनको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको जानकारी दिए ।
'यस सिजन प्रायोजन (स्पोन्सरसिप) बाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ) बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ । एक महिनासम्म चल्ने प्रतियोगिता अवधिभर एनपीएलको कुल (ग्रोस) आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ,' खड्काले भने, 'यसैको परिणामस्वरूप पुरस्कार राशिमा पनि वृद्धि गरिएको हो ।'
यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।
त्यस्तै, यसपटक दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।







प्रतिकृया दिनुहोस