सर्बियाकाे विद्यार्थी आन्दोलन सफल, ढल्यो १४ वर्षे सत्ता
काठमाडाैं। सर्बियामा दुई वर्षदेखि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीको समर्थनमा बनेको चुनावी मोर्चाले संसदीय निर्वाचनमा जित हासिल गरेको छ।
दक्षिणपन्थी नेता अलेक्जान्दर भुचिचले आइतबार आफ्नो पार्टीले चुनाव हारेको स्वीकार गरेका छन्। यससँगै सन् २०१२ देखि सत्तामा रहेको उनको पार्टीको शासन अन्त्य हुने भएको छ।
भुचिचले आधिकारिक नतिजा सार्वजनिक हुनुअघि नै विद्यार्थी समर्थित स्टुडेन्ट्स लिस्टले चुनाव जितेको स्वीकार गरेका हुन्। उनले विपक्षी मोर्चाले संसद्का २५० मध्ये १३५ देखि १४० सिट जित्ने र आफ्नो सर्बियन प्रोग्रेसिभ पार्टीले करिब १०५ सिट पाउने अनुमान गरेका छन्।
‘यो स्पष्ट भइसकेको छ कि हामीले चुनाव हारेका छौं र स्टुडेन्ट्स लिस्टले जितेको छ,’ भुचिचले चुनावी नतिजापछि आफ्ना समर्थकलाई भने।
उनले पराजयको दोष स्वतन्त्र सञ्चारमाध्यम, केही युरोपेली देशको कथित हस्तक्षेप र ‘अमेरिकी डीप स्टेट’लाई दिएका छन्।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार चुनावी नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर खुसी मनाएका छन्।
उनीहरूले गाडीको हर्न बजाउँदै, गीत गाउँदै र ‘अलेक्जान्दर गइसके’ भन्दै नाराबाजी गरेका थिए। भुचिचका समर्थकले एक वर्षभन्दा लामो समयदेखि शिविर बनाएर बसेको राजधानीको एउटा पार्कमा पनि मानिसहरू पुगेका थिए। उनीहरूले त्यहाँका बार र पाल हटाएका थिए।
सर्बियाको राजनीतिमा आएको यो परिवर्तनले रुस र पश्चिमी देश दुवैसँग सन्तुलित सम्बन्ध राख्दै आएको बाल्कन क्षेत्रको यस देशको आन्तरिक र बाह्य नीतिमा प्रभाव पार्न सक्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका परिवार र निकट सहयोगीसँग सम्बन्ध विस्तार गरेका भुचिचको पराजयले वासिङ्टनसँगको भविष्यको सम्बन्धबारे पनि प्रश्न उठाएको छ।
भुचिचको पराजयले युरोपमा बढिरहेको युवा आन्दोलनको प्रभावलाई पनि देखाएको छ।
अमेरिकी अनलाइन एक्सियसले सर्बियाको घटनालाई भ्रष्टाचार, शिक्षा र आर्थिक समस्याविरुद्ध युरोपका विभिन्न देशमा युवाहरूले गरिरहेको आन्दोलनको लहरसँग जोडेको छ।
विद्यार्थीले सडकमा गरेको प्रदर्शनलाई चुनावी शक्तिमा रूपान्तरण गर्न सकेको यो नतिजाले सर्बियामा लोकतान्त्रिक सुधारको बाटो खोल्न सक्ने विश्लेषण पनि उसले गरेको छ।
१६ जनाको ज्यान गएको दुर्घटनाबाट सुरू भएको आन्दोलन
सन् २०२४ नोभेम्बरमा उत्तरी सर्बियाको नोभी साद सहरस्थित रेल्वे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि सरकारी निर्माण तथा मर्मतसम्भारमा भ्रष्टाचार र राजनीतिक पहुँचका आधारमा काम भएको आरोप लाग्यो। दुर्घटनाको जिम्मेवारी लिनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन सुरू गरे।
आन्दोलन विस्तारै विश्वविद्यालयको घेराबाट बाहिर निस्कियो।
शिक्षक, किसान र विभिन्न पेसाका मानिसहरू पनि यसमा जोडिए। विद्यार्थीले सरकारमाथि भ्रष्टाचार गरेको, लोकतान्त्रिक संस्थालाई कमजोर बनाएको र सञ्चारमाध्यममाथि नियन्त्रण कायम गरेको आरोप लगाउँदै आएका थिए। सरकारले भने आफूलाई सत्ताबाट हटाउन विदेशी शक्तिले आन्दोलनलाई उक्साएको आरोप लगाएको थियो।
विद्यार्थी आन्दोलनको चुनावी मोर्चा ‘स्टुडेन्ट्स लिस्ट’ परम्परागत राजनीतिक दलको विकल्पका रूपमा अघि सारिएको थियो। त्यसमा विद्यार्थी स्वयं उम्मेदवार बनेनन्। बरु कम चिनिएका विज्ञ, खेलाडी, किसान र कलाकारलाई उम्मेदवार बनाइयो। आन्दोलनको नेतृत्व पनि कुनै एक व्यक्तिमा केन्द्रित नभई विकेन्द्रित रहेको बताइएको छ।
यसले भुचिचको व्यक्तिकेन्द्रित राजनीतिक शैलीको विकल्प प्रस्तुत गर्ने प्रयास गरेको थियो भनेर एपीले लेखेको छ।
चुनावी जितलाई आन्दोलनमा सहभागी नागरिकको जितका रूपमा प्रस्तुत गर्दै विद्यार्थी मोर्चाका उम्मेदवार रादोमिर साइसिचले भने, ‘आज राति हामी विजयको उत्सव मनाउँछौँ, भोलिदेखि भविष्य निर्माण गर्छौं।’
उनले यो जित कसैको व्यक्तिगत नभई नागरिकको जित भएको बताउँदै त्यससँगै जिम्मेवारी पनि आउने बताएका छन्।
बेलग्रेडमा खुसी मनाउनेमध्ये रेल्वे स्टेसन दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिकी आमा दियाना ह्रका पनि थिइन्। उनी दुई वर्षदेखि यो क्षणको प्रतीक्षामा रहेको बताउँदै अब दुर्घटनाका लागि जिम्मेवार सबैमाथि कारबाही हुने अपेक्षा व्यक्त गरिन्।
भुचिचको पराजय सर्बियाको आन्तरिक राजनीतिमा मात्र सीमित रहने छैन।
एक्सियसका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र ट्रम्पका निकट सहयोगी रिचर्ड ग्रेनेलसँग सम्बन्ध विस्तार गरेका थिए।
ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सम्बन्धित प्रस्तावित विकास परियोजना पनि विवादमा परेको थियो।
भुचिचको सत्ता गुमेसँगै रुस र पश्चिमी देश दुवैसँग सम्बन्ध सन्तुलित राख्दै आएको सर्बियासँग अमेरिकाको सम्बन्ध कस्तो हुन्छ भन्ने प्रश्न उठेको छ।
सर्बियाले रुससँग निकट सम्बन्ध कायम राख्दै आएको छ र युक्रेनमाथि रुसको आक्रमणपछि पश्चिमी देशले लगाएका प्रतिबन्धमा सामेल भएको छैन। अर्कोतर्फ, सर्बिया युरोपेली संघको सदस्य बन्ने प्रक्रियामा छ। त्यसैले नयाँ सरकारका लागि युरोपेली संघसँगको सम्बन्ध, रुससँगको निकटता र अमेरिकासँगको सम्बन्ध महत्त्वपूर्ण चुनौती हुनेछन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले विद्यार्थी मोर्चालाई बधाई दिँदै कानुनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक संस्थालाई बलियो बनाउने सुधारमा सहयोग गर्न युरोपेली संघ तयार रहेको बताएकी छन्।
अब विद्यार्थी मोर्चाले प्रधानमन्त्री चयन गरेर सरकार गठन गर्नुपर्नेछ।
डिसेम्बरमा छुट्टै राष्ट्रपति निर्वाचन पनि हुँदैछ, जसबाट भुचिचको उत्तराधिकारी चयन हुनेछ। चुनावी जितले पुरानो सत्तालाई चुनौती दिएको भए पनि भ्रष्टाचार नियन्त्रण, संस्थागत सुधार र अर्थतन्त्र सञ्चालनको जिम्मेवारी अब नयाँ नेतृत्वसामु हुनेछ।







प्रतिकृया दिनुहोस