• २०८३ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2026

राेमाञ्चक प्रतिस्पर्धाः सन्दीपकाे विरानगर कुशलकाे चितवनसँग पराजित

काठमाडाैं । नेपाल प्रिमियर लिगकाे जारी तेस्राे सिजनकाे सुरुवात विराटनगर किंग्सले हारबाट गरेकाे छ । सन्दीप लामिछाने नेतृत्वकाे विराटनगर जितकाे मुखैमा पुगेर हार बेहाेर्न बाध्य भएकाे हाे । 

आज भएको खेलमा चितवन राइनोज विराटनगरविरुद्ध ८ रनले विजयी भएको हो।

नेपाली ओपनर लोकेश बम र वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको विस्फोटक ब्याटिङकाबिच जित नजिक पुगेको विराटनगर किङ्सले अन्तिममा लगातार विकेट गुमायो।

अन्तिममा ८ रन बनाउँदा विराटनगरले ५ विकेट गुमाउँदै चितवनलाई २ अंक सुम्पियो। 

जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक समय १५.४ ओभरमा १३२/४ को बलियो स्थितिमा जिततर्फ लम्किरहेको विराटनगरले अन्तिम ६ विकेट मात्र १७ रन जोड्दा गुमाउन पुग्यो। आन्द्रे रसेल आउट भएपछि विराटनगरको इनिङ्स तासको घरझैँ ढल्न पुगेको थियो।

चितवनको जितमा तीव्र गतिका बलर कमल ऐरी नायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। कमलले खेल पल्टाउने क्रममा विष्फोटक ब्याटिङ गरिरहेका आन्द्रे रसेल (३३), बसिर अहमद (१३), एन्जेलो म्याथ्युज (१४) र रुपेश सिंह (०) लाई पेभेलियनको बाटो देखाए।

यस्तै, रिजन ढकालले १९औं ओभरमा उत्कृष्ट बलिङ गर्दै प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेलाई शून्य रनमै आउट गरी २ विकेट चट्काए। टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले १-१ विकेट हात पारे।

विराटनगरका लागि ओपनर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए। यस्तै, आन्द्रे रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ तथा ओपनर लोकेश बमले १४ बलमा ४ चौका र १ छक्कासहित २६ रनको आक्रामक पारी खेले।

मध्यक्रममा एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, सुभम रञ्जानेले १० र चरिथ असालंकाले ८ रन बनाए। तल्लो क्रमका रुपेश सिंह, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भएपछि विराटनगर जितको नजिक पुगेर पनि स्तब्ध हुन पुग्यो। नरेन साउद २ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि ओपनर डेविड मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। कप्तान रवि बोपाराले अविजित ३२ र ड्यान मौस्लेले अविजित २९ रन जोडेका थिए।

विराटनगरका लागि बलिङमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १-१ विकेट लिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर