• २०८३ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2026

सुदूरपश्चिमको दोस्रो खेल, पहिलो जित

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीकाे ५१ रनसहित इशान पाण्डेले ७४ रनको ठोस साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा विजय लय समातेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएर रन्थनिएको सुदूरपश्चिमले यी दुईको प्रयासमा ६ विकेटको विजय निकालेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । कप्तान दीपेन्द्र र इशानले ९ ओभरमै उक्त साझेदारी गरेपछि सुदूरपश्चिमले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । पोखराले आफ्नो पहिलो खेलमै हार बेहोरेको हो ।

इशान ३१ बल खेली समान २ चौका र छक्कासहित ३७ रनमा आउट भए । उनको स्थानमा आएका सेरफन रदरफोर्डले दोस्रो बलमै माहेदी हसनको बलमा छक्का प्रहार गरेका थिए । उनी ४ बलमा ८ रन बनाई अविजित रहे ।

दीपेन्द्र ५१ रनमा अविजित रहे । उनले पोखराका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्नुका साथै विजयी रन बटुलेका थिए । प्लेयर अफ द म्याच दीपेन्द्रले ३६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । पोखराबाट तीनै विकेट विदेशी खेलाडीको नाममा रह्यो । धनञ्जय लक्षण, मेहदी हसन र सकिबले १–१ विकेट लिए ।

सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । पोखरा भने एनपीएलका दुवै संस्करणमा प्लेअफमा पुग्न नसक्ने एकमात्र टोली हो ।

सुदूरपश्चिमको सुरुआत राम्रो थिएन । ओपनर विनोद भण्डारी पहिलो बलमा चौका प्रहार गरेपछि अर्को बलमा बोल्ड हुन पुगे । स्कटिस ब्याटर स्कट म्याकमलेनले १२ बल खेली २ चौका र १ छक्का प्रहार गरी २२ रनमा सकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । ओपनर सैफ जैब १५ रन बनाई रनआउट भए ।

यसअघि बंगलादेशी ओपनर माहेदी हसनले पोखराबाट ३२ रन बनाए । उनले २१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । तर उनका ओपनिङ जोडी दिनेश खरेल ७ बल खेली ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका कुशलले २१ रन बनाए । उनले १७ बल खेली २ चौका प्रहार गरे । बंगलादेशका पूर्व कप्तान सकिब अल हसन १६ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भए ।

सदीरा समरविक्रमा ८, धनञ्जय ११, किरण ठगुन्ना १ रनमा आउट भए । मध्यमक्रममा ब्याटिङ गरेका अर्जुन घर्तीमगरले सर्वाधिक रन बनाए । इनिङ्सको अन्तिम ओभरमा न्युजिल्यान्डका बलर स्कट कुग्लेनलाई २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले कुल २५ बल खेली अविजित २४ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर