सन्दीपकाे विराटनगरकाे दाेस्राे हार, कर्णालीकाे सनसनीपूर्ण जित
काठमाडौँ । कप्तान सोमपाल कामीसहितका खेलाडीले सानदार ब्याटिङ गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ ।
सोमपालले अविजित ६२ रन बनाएपछि कर्णालीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ८७ रनको लक्ष्य १ बल अगाडि पूरा गर्यो । कर्णालीले अन्तिम ओभरमा ७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो । कर्णालीले लगातार दोस्रो खेलमा जित हात पारेको हो । विराटनगर लगातार दोस्रो खेलमा पराजित भएको हो ।
सोमपालले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । सोमपालले सबै खाले ट्वान्टी–२० मा पहिलो अर्धशतक बनाएका हुन् । सोमपालले गुल्सन झासँग सातौं विकेटमा ४१ बलमा ७१ रनको अविजित साझेदारी गरे । गुल्सनले २१ बल खेली समान २ चौका र छक्कासहित अविजित २८ रन बनाए ।
सोमपालले पवन सर्राफसँग पनि छैटौं विकेटमा ६७ रनको साझेदारी गरेका थिए । पवनले २८ बल खेली १ चौका र ३ छक्कासहित ३६ रन बनाए । ओपनर मार्क वाट १ रनमै आउट भएका थिए भने अर्का ओपनर आरिफुल इस्लामले १२ बल खेली समान ३ चौका र छक्कासहित ३२ रन जोडे ।
दीपक डुम्रे ११ बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । हुसैन तलातले खाता खोल्न सकेनन् भने अकबर अली १ रनमै आउट भएका थिए । विराटनगरबाट एन्जेलो म्याथ्युजले ४ ओभरमा २५ रन खर्चेर ३ तथा चारिथ असलंका र प्रतिश जिसीले १–१ विकेट लिए ।
सोमपालको इनिङ्सले लोकेशको विस्फोटक स्कोरलाई छायामा पारेको थियो । टस हारेपछि ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८६ रन बनाएको थियो ।
लोकेशले ५२ बल खेली ३ चौका र ९ छक्का प्रहार गरी ८७ रन बनाए । उनी सोमपाल कामीको बलमा कट एन्ड बोल्ड भए । लोकेशले म्याथ्युजसँग तेस्रो विकेटमा ४१ बलमा ७१ रनको साझेदारी गरे । म्याथ्युजले २३ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।
पाकिस्तानी बलर तलातले फालेको १४औं ओभरमा विराटनगर किंग्सले २४ रन जोड्दा लोकेशले २ छक्का र १ चौका प्रहार गरेका थिए । सोमपालले लोकेशसहित म्याथ्युज र एन्ड्रे रसेललाई आउट गरी विराटनगरलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । रसेलले १५ बल खेली ३ चौका र २ छक्कासहित २७ रन बनाए ।
यसअघि लोकेशका ओपनिङ जोडी इमरान शेख ५ रन बनाई वाटको बलमा आउट भए । चारिथ असलंकाले ३ रनमात्र बनाउन सके । सेहन जयसूर्या ११ रन बनाई दोस्रो रन लिने क्रममा आउट भए । सोमपालले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए ।



2026-10-29-04-26-30.jpeg)


प्रतिकृया दिनुहोस