• २०८३ कार्तिक १३ शुक्रबार
  • Friday, 30 October, 2026

न्यायाधीश फुयालले स्वीकारे बिचाैलिया ईनम सापकाेटासँगकाे भेट 

काठमाडौँ । बिचाैलिया दीपक भट्ट हुँदै ईनम सापकोटासम्म सरकारी अनुसन्धान जारी रहेका बेला एकपछि अर्को गर्दै न्यायाधीश विवादमा तानिएका छन् । थुनामा रहेका ईनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् । न्यायाधीश फुयालले ईनमसँग किन र के कुरा गरे ? सञ्चारकर्मीसँग फुयालकाे कुराकानीको अंश :

विचौलिया भनी पक्राउ परेका ईनम सापकोटासँग तपाईँको भेट कसरी भयो ?

अहिले जुन विवाद आइरहेको छ, यो जुडिसियल करप्सनको एउटा इन्भेस्टिगेसन भइरहेको घटनाको हो । मैले भनेका कुराहरूले यो अनुसन्धानमा कुनै असर नपरोस् भन्ने मेरो एउटा धारणा छ। सार्वजनिक भएको विवरण प्रहरी कार्यालयमा अनुसन्धानको फाइलमा नभएको कुरा हो । यो कसरी र कसले बाहिर ल्यायो भन्ने कुरामा म आफैँ आश्चर्यमा छु । म आफू आर्थिक, नैतिक र आचरणगत कुरामा कहीँ कतै पनि विचलित नभएको व्यक्ति हुँ । र म यस्ता कार्यको समर्थन पनि गर्दिनँ । म सधैँ न्यायिक सुशासन र न्यायिक मर्यादाको पक्षमा छु । जुन यो समाचार अहिले आएको छ, यो समाचारको विवादले सेवाग्राहीहरूलाई एक खालको भ्रम र अन्योलता सिर्जना भएकोमा म क्षमा चाहन्छु ।

केही समयअघि म लगायतका केही न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव लैजाने चर्चा चलेको थियो । त्यही बेला ती मानिस मेरो सम्पर्कमा आएका थिए । त्यतिखेर यी मान्छे चिनजानका मानिसहरूको आधार लिँदै म लगायत सर्वोच्च अदालतका कम्तीमा चार, विशेष अदालत र उच्च अदालतसमेतका श्रीमान्हरूको सम्पर्कमा पुगेका रहेछन् । यो कुरा म सहितका अरू न्यायाधीशहरूले केही समयपछि थाहा पायौँ । म ती व्यक्तिसँग पुग्ने मध्येको तेस्रो मान्छे थिएँ। मअघि तीन जना न्यायाधीशसँग यी मानिसको भेट भइसकेको रहेछ ।

यो कुरा ईनम र अन्य न्यायाधीशहरूले भनेपछि मलाई थाहा भयो । अरूलाई जस्तै मलाई यी मान्छेले कुनै एकजना प्रतिष्ठित मान्छेमार्फत आफू झापा घर भएको भनी मेरो आफन्तमार्फत चिनजानमा आएका थिए । तत्कालीन अवस्थामा उनले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको मानिस भनेर चिनाएका थिए । अनि महाभियोगमा हामीलाई सहयोग गर्ने बताएका थिए । उनले आफूलाई नजिकको छिमेकी देशको मेडिकल डाक्टर हुँ भनेर चिनाएका थिए । उनले आफू दूतावासमा गोप्य रूपमा काम गर्छु भनी परिचय दिएका थिए । उनले भनेका थिए, 'तपाईँहरू आत्तिनु पर्दैन, तपाईँहरूलाई महाभियोग लाग्दैन। मेरो सत्तारूढ दलकै पार्टीको सभापतिसम्म पहुँच छ ।' उनले सरकारको पार्टीको सभापतिलाई मैले त्यहाँको राजदूतको सिधै फोन गराएँ भनेर समेत भनेका थिए । तपाईँलाई महाभियोग लाग्दैन, चिन्ता नगर्नुस् भन्ने कुरा उनले मसँगको भेटमा गरेका थिए ।

तपाईँलाई यो कुरा सापकोटाले फोनमा भनेका थिए कि भेटेर भनेका थिए ?

फोनमा हैन, भेटेरै उनले यस्ता कुरा सुनाएका थिए । सुरुका करिब–करिब दुई महिना एकदम राम्रो कुरा गरे । स्वतन्त्र न्यायपालिकादेखि मनोज शर्मालाई प्रधानन्यायाधीशसमेत आफैँले बनाएकोसम्म भने । तत्कालीन समयमा हामीलाई महाभियोग लाग्छ कि भन्ने त्रासमा थियौँ । जुन अहिले पनि कायमै छ । यस्तो अवस्थामा एउटा सेतुको रूपमा जसको नयाँ प्रधानमन्त्रीसँग सिधै सम्पर्क छ भने किन काम लाग्दैन भन्ने हाम्रो सोच भयो । उनले हामीसँगको भेटमा आईजीपी र प्रधान सेनापतिसँग नजिकको सम्बन्ध भएको दाबी गर्थे । एक दिन मैले उनले भनेको कुरा एकजना आफन्तीमार्फत उनी दूतावाससँग सम्बन्धित हुन् कि हैनन् भनेर भेरिफाइ गर्न खोजेँ । तर सकिनँ । भित्र काम गर्ने र गोप्य रूपमा काम गर्नेहरूको बारेमा थाहा नहुने जानकारी मैले पाएँ । उनले म सहितका न्यायाधीशहरूलाई गोप्य रूपमा काम गर्छु भनेर बताएका थिए ।

यिनले यही कुरा अरू न्यायाधीश र उच्च पदस्थ व्यक्तिहरूलाई भन्ने गरेका रहेछन् । यो कुरा पछि हामीले एकअर्कालाई सेयर गर्दा थाहा भयो । कुराकानीकै क्रममा ईनमले एक दिन एक विवादास्पद व्यक्तिको मुद्दाको कुरा गरे । मैले त्यो कुरा नगर्नुस् है भनेँ । त्यो मान्छेलाई म राम्ररी चिन्छु । त्यो मान्छेले इन्सुरेन्स क्षेत्रमा नियुक्ति पाएको थियो । सुदूरपश्चिमतिरको एकजना मान्छे हो । ती मानिस विवादास्पद हुन् र उनको मुद्दा चलिरहेको अवस्थामा यस्तो कुरा नगर्नु भनेको थिएँ । जब उनले मुद्दाको कुरा गरे, अनि अलिअलि शंका उत्पन्न हुन थाल्यो । फेरि अर्को मुद्दाको पनि कुरा गरे । मुद्दाका कुरा चाहिँ म्यासेजमा गर्थे । मैले हरेक पटक उनको कुरा अस्वीकार गर्दै गएँ । उनले अरू न्यायाधीशहरूलाई पनि यही कुरा भन्ने गरेका रहेछन् । अरू न्यायाधीशहरूले पनि यस्तो म्यासेजले प्रेसर फिल गर्नुभएको रहेछ । अनि एक दिन हामीबीच यो कुरा सेयरिङ भयो । हामीले यी मान्छेका बारेमा भेरिफाइ गर्न थाल्यौँ । उनले नेपाली कांग्रेसको मुद्दाका बारेमा धेरै चासो राखेका थिए । अरू श्रीमान्हरूले पनि मुद्दाको कुरा गरेपछि अस्वीकार गर्नुभएको थियो । सर्वोच्च प्रशासनका मानिससँग पनि उनको यस्तै शैलीमा कुराकानी भएको पाइयो ।

सार्वजनिक म्यासेजमा तपाईँको र ईनमको रोहित गुप्ताको मुद्दामा पनि कुरा भएको देखिन्छ । यो सन्दर्भमा के भएको हो ? अनि किन ईनमलाई हिमालयन होटलमा भेट्ने भन्नुभएको थियो ?

उनीसँग कुराकानी जारी रहेका बेला एक दिन एउटा म्यासेज आयो । त्यतिबेला रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरण र विशेष अदालतले थुनामा पठाउने आदेशविरुद्ध दर्ता भएको १७ नम्बर निवेदनको मुद्दा सुनुवाइमा थियो ।

म सहितको संयुक्त इजलासमा पेसी थियो । म इजलास छिरिसकेपछि उनको फोन आएको रहेछ । म सधैँ इजलास जाँदा डायरमा फोन राखेर जान्छु । त्यो दिन घर पुगेपछि मोबाइल हेर्दा उसले प्रधानमन्त्रीको रिफरेन्स दिएर गरेको म्यासेज देखेँ । म्यासेजमा गुप्ताको निवेदन खारेज गर्नु र थुनामै राख्नु भन्ने कुरा थियो । म सहितको इजलासले थुनामा राख्नुपर्ने कुनै ग्राउन्ड नदेखेपछि २ करोड धरौटी माग गरेको थियो । त्यो मुद्दामा गुप्तालाई थुनामा राख्नु नपर्ने नै थियो । यही मुद्दामा यसअघि व्यवसायी शेखर गोल्छासहित धरौटीमा छुटेका थिए । मिसिलमा हेर्दा यो कसुरमा गुप्ताको उनीहरूभन्दा कम जिम्मेवारी थियो । यसअघि नै विशेषमा त्यो विवाद प्रवेश भएको रहेछ । जुन पछि मात्र हामीले थाहा पायौँ । प्रधानमन्त्रीको 'विहाफ'मा भेट्न खोजेको हो भने भेटौँ न त भन्ने हामी केही न्यायाधीशका बीचमा सल्लाह भयो । त्यसपछि मैले हिमालयन होटलमा भेट्ने कुरा गरेँ । हामीले भेटेका पनि हौँ ।

भेटमा अरू न्यायाधीश पनि थिए भन्नुभयो । उहाँहरू को–को हुनुहुन्थ्यो ?

म अरू कसैको नाम लिन चाहन्नँ । तर त्यो दिन म एक्लै थिइनँ । भेटमा ती व्यक्तिले तपाईँहरूसँग प्रधानमन्त्री खुसी हुनुहुन्न । महाभियोग अघि बढ्ने भयो भन्ने गरी लाउड भ्वाइसमा भनेका थिए । त्यसपछि हामीलाई यी मानिसप्रति झन् शंका बढ्यो । त्यसपछि मैले आईजीपीको सचिवालयमा यो मानिसका बारेमा सोधेँ र उनको समेत नाम लिएको कुरा अनौपचारिक रूपमा राखेँ । उताबाट उनी हाइप्रोफाइलसँग सम्बन्ध देखिएका व्यक्ति हुन्, 'वि केयर फुल' भनी सन्देश आयो । हामीलाई शंका बढाउने कुरा होटलको बिल हामीले तिर्न खोज्दा उनले अरू कसैको नाममा राख्न लगाए । आईजीपीको सचिवालयले पनि आफूहरू जोगिएर बसेको र तपाईँहरू पनि जोगिनुहोला भनेपछि हामीलाई थप त्रास र प्रेसर फिल भयो । कांग्रेसको मुद्दापछि उसले सबैभन्दा धेरै जोड दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको निवेदनमा गरेको थियो । उसले भनेअनुसार भएन । त्यसलगत्तै हामीले प्रधानसेनापति र प्रधानमन्त्रीको सचिवालयमा यो मानिसका बारेमा डिटेल पठाएर जानकारी माग गर्‍यौँ । प्रधानमन्त्रीका तर्फबाट भनी यहाँ दबाब दिइरहेको कुरा हामीले फोटो अनि हामीसँग भएका प्रमाणसहित प्रधानमन्त्रीको सचिवालयमा पठायौँ । जवाफमा प्रधानमन्त्री कार्यालयले यो मानिसका बारेमा आफूहरूले पनि हल्ला सुनेको तर कतै देखेको र चिनजान भएको जानकारी दिए ।

तपाईँले प्रधानमन्त्री कार्यालयमा के–के कुरा पठाउनुभयो ?

हामीले व्यक्तिको फोटो, सम्पर्क नम्बर अनि हामीसँग भएका कम्युनिकेसनका सबै कुरा खुलाएर पठायौँ । हामी केही न्यायाधीशहरूलाई असाध्यै प्रेसर फिल भएपछि यो गरेका थियौँ । त्यसअघि हामीले सल्लाह गरेका थियौँ । सेनापतिको सचिवालयमा पनि हामीले यो डिटेल पठाएका थियौँ । त्यसको केही दिनमा चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको कुरा सार्वजनिक भयो । त्यसको केही दिनमा यो मानिस पक्राउ पर्‍यो । पछि मात्र हामीले यो मानिसले प्रहरीतिर धेरै र सेनातिर केही मानिसलाई यसै गरी प्रेसर दिएको थाहा पायौँ । हामीले पनि अति नै भएपछि मुख खोलेर प्रधानमन्त्री कार्यालयमा आफैँले सूचना दिएका थियौँ ।

किन यस्तो मान्छेको विश्वासमा तपाईँहरू पर्नुभयो ?

तत्कालीन समयमा हामीविरुद्ध महाभियोगको हल्लासँगै त्रास थियो । महाभियोग लाग्दैन, म प्रधानमन्त्रीको मान्छे भनेपछि यस्तो कन्टेक्स्टमा हामी सम्पर्कमा पुगेका थियौँ । हामीले जुन सूचना दियौँ, त्यही सूचनाले त हामी पीडित भएनौँ भन्ने महसुस भइरहेको छ । हाम्रो यसमा केही र कुनै बदनियत छैन । त्यो मान्छेसँग सेटिङ गरेको पनि छैन । कतिपय ठाउँमा त्यो मान्छेलाई नभेटेको भए पनि हुन्थ्यो होला, तर उसले वर्तमान प्रधानमन्त्रीको तर्फबाट सन्देश पठाएको भनेपछि हामीले विश्वास गरेका थियौँ । तर यो कुरा सुनेपछि प्रधानमन्त्री त्यो मान्छेसँग रिसाउनुभएको थियो रे ।

उसले प्रधानमन्त्रीको नाम लिँदा तपाईँहरूले प्रधानमन्त्रीकहाँ उसको सन्देश पुग्छ कि पुग्दैन भनेर भेरिफाइ सुरुमै गर्नुभएन ?

सुरुमा गरिएन । तर जब शंका लाग्यो, अनि हामीले सन्देश पठायौँ र हामीसँग भएको जानकारी सेयर गर्‍यौँ । अनि प्रधानमन्त्रीले थाहा पाउनुभयो । त्यो समयसम्म यो मानिसबारे सेना र प्रहरीले पनि थाहा पाएका थिए ।

तपाईँहरूलाई शंका लागेपछि प्रहरीलाई अनुसन्धान गर्नुस् भन्नुभएन ?

हामीले जानकारी त प्रहरीलाई दिएका थियौँ । तर प्रहरीले अनौपचारिक रूपमा यो मान्छे हामीभन्दा माथि छ, केही गर्न सकिँदैन । तपाईँहरू होसियार भएर रहनुस् । हामी पनि होसियार भएर बचेका बसेका छौँ मात्र भनेपछि हामीले प्रधानमन्त्रीको सचिवालयमा सूचना दिएका हौँ ।

यो प्रकरणमा अब के होस् भन्ने तपाईँको कुरा हो ?

यो प्रकरणको पहिलो सूचना हामीले नै दिएका हौँ । तर अहिले म मात्र भिक्टिम भएको देखिएको छ । यसमा गम्भीर रूपमा अनुसन्धान होस् । हामी दोषी देखिन्छौँ भने म लगायत अरू न्यायाधीशहरूलाई कारबाही होस् । त्यसका लागि म तयार नै छु ।

भेट र कुराकानीमा आर्थिक कुरा पनि भए कि भएनन् ?

आर्थिक कुरा कहीँ कतै भएनन् । मैले थाहा पाएअनुसार उसले सहयोग गरिदिनुस् र फलानालाई भनिदिनुस् मात्र भन्ने गर्दथे । आर्थिक कुरा कसैलाई गरेको मलाई थाहा छैन । मसँग त आर्थिक कुरा गर्दै गरेन ।

तपाईँसहित अरू न्यायाधीशलाई पनि भन्ने गरेको कुरा आएपछि फुलकोर्टमा पनि कुरा उठ्यो कि उठेन ?

चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि बसेको फुलकोर्टमा मैले सांकेतिक रूपमा केही कुरा उठाएको थिएँ । विशेष अदालतको कुरा उठेपछि केही मान्छेहरू सिधै आउन थाले, सिधै भेट्न थाले । प्रधानन्यायाधीशलाई चिनेको छु भन्छन्, प्रधानमन्त्रीलाई चिनेको छु भन्छन् । एकदम उकुसमुकुस जस्तो भयो, के गर्ने होला भनेर मैले सेयर गरेको थिएँ ।

जुन संवाद बाहिर आयो नि, त्यो कहाँबाट लिक भयो भन्ने लाग्छ ?

कहाँबाट आयो त हामीलाई थाहा छैन । तर जुन नयाँ पत्रिकाले समाचार बनायो, त्यो पूरा आएको छैन । मैले आफ्नो प्रतिक्रिया र प्रधानमन्त्रीको सचिवालयमा म आफैँसहितले विस्तृत विवरण बुझाएको कुरा भनेको थिएँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर