• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

कुशलको पोखराको अवस्था चिन्ताजनक, रोहितको लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेल र निरोसन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे। रोहितले अविजित ४७ रन बनाए। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै डिक्वेलाले २६ बलमा अविजित २७ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। यी दुईले तेस्रो विकेटका लागि ४६ बलमा अविजित ५० रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

लुम्बिनीका ओपनर आसिफ शेख ७ रन बनाएर पहिलो विकेटका रूपमा रनआउट भए। त्यसपछि आएका डार्सी सर्टले आक्रामक ब्याटिङ गरे पनि ६ बलमा १३ रन बनाएर आउट भए। उनलाई विपिन खत्रीले आकाश चन्दको हातबाट क्याच गराए।

लुम्बिनीले १.६ ओभरमै २१ रन बनाउँदा २ विकेट गुमाएको थियो। तर, त्यसपछि रोहित र डिक्वेलाले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो।

पोखराको सुरुवात निकै खराब रह्यो। ओपनर अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए। त्यसपछि सदीरा समरविक्रमा ७ र विपिन आचार्य १ रनमा आउट भए। कप्तान कुशल भुर्तेलले २० बलमा १४ रन बनाएर पवेलियन फर्किए।

शाकिब अल हसनले पनि ८ बलमा ३ रन मात्रै बनाउन सके। पोखराले ८.३ ओभरमा ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो।

त्यसपछि महेदी हसन र अर्जुन घर्तीले छैटौँ विकेटका लागि १९ रनको साझेदारी गरे। महेदीले २४ बलमा १३ रन बनाए भने घर्तीले २० बलमा ६ रन जोडे।

अन्तिम ओभरहरूमा चामिका करुणारत्नेले केही आक्रामक ब्याटिङ गरे। उनले १७ बलमा २५ रन बनाए। किरण ठगुन्नाले ६ बलमा १२ रन जोडे। यी दुईको योगदानले पोखराले ९७ रनसम्म पुग्न सकेको थियो।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र रोहित पौडेलले समान १ विकेट लिए।

यो जितसँगै लुम्बिनीले तीन खेलबाट ५ अंक जोडेको छ। लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले यसअघि दुई खेलमा एक जित र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो।

यता पोखराको भने यो लगातार तेस्रो हार हो। तीन खेल खेलेको पोखरा अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर