आइजीपी अपदस्तः सरकार र पार्टी प्रवक्ताको कुरा बाझियो
काठमाडाैं। सरकारले आइजीपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजीपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए।
आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजीपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदबाट हटाऊ वा नियुक्ति गर भनेर निर्देशन नदिएको बताए।
‘शनिबार बसेको सचिवालय बैठकले सञ्चार माध्यामका कार्यालयमा पुगेर प्रहरीले पत्रकार पक्राउ गर्ने कामको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिएको थियो। तर कसैलाई पदबाट हटाऊ वा मुक्त गर भनेर निर्देशन दिएको थिएन,’ प्रवक्ता खरेलले भने।
आजै मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग बोल्दै सरकारका प्रवक्ता पोखरेलले भनेका थिए, ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ। एक किसिमको संवेदनशील विषयमा सरकारले केही गर्न पर्यो भन्ने पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो।’
मन्त्रिपरिषदले आइजीपीबाट कार्कीलाई हटाएर उनको ठाउँमा मनोज केसीलाई नियुक्त गरेको छ। एआइजी केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए।
पदबाट हटाइएका कार्की अब प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको थियो ।
तर कार्की भने न्यायका लागि अदालत जाने तयारीमा रहेकाे उनी निकटस्थहरु बताउँछन् ।
कार्की हटाएकाे विषयमा विपक्षी दल कांग्रेस र एमालेका अध्यक्ष केपी ओलीले समेत असन्ताेष व्यक्त गरेका छन् ।
नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको र सरकारले कार्कीलाई हटाउन खोजेको भन्ने समाचारहरू बाहिरिएपछि स्रोत खोज्दै प्रहरीले पत्रकार र सञ्चारगृहमा धरपकड गरेको थियो।






प्रतिकृया दिनुहोस