नेसन्स लिगः फ्रान्स पराजित स्पेनको जित
काठमाडौं । जिनेदिन जिदानको प्रशिक्षणमा फ्रान्सले पहिलो हार बेहोरेको छ। युइएफए नेसन्स लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्स इटालीसँग ३–१ गोलले पराजित भएको हो।
इटालीको सान सिरोमा फ्रान्सले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको सुरु भएको १० मिनेटमा नै इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माको गल्तीको फाइदा उठाउँदै माइकल ओलिसेले गोल गरे।
तर इटालीले २६ औं मिनेटमा खेल बराबरीमा ल्यायो। पियो एस्पोसिटोले निकोलो काम्बियागीको पासमा उत्कृष्ट फिनिस गर्दै गोल गरे।
इटालीका सेबास्टियानो एस्पोसिटो पेनाल्टीमा गोल गर्न चुके। तर फेडेरिको डिमार्कोको पासमा डेभिडे फ्राटेसीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
त्यसपछि ७५ औं प्राप्त अर्को पेनाल्टीमा पियो एस्पोसिटोले गोल गर्दै व्यक्तिगत दोस्रो तथा इटालीको तेस्रो गोल थपे।
२१ वर्षीय इन्टर मिलानका स्ट्राइकर एस्पोसिटोले राष्ट्रिय टोलीबाट १४ खेलमा ९ गोल गरिसकेका छन्।यो जितसँगै इटालीले सन् १९६२ पछि पहिलोपटक घरेलु मैदानमा फ्रान्सलाई हराएको छ।
समूह ए मा इटाली १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ। समान १० अंक रहेको फ्रान्स हेड टु हेडमा पछि पर्दै दोस्रो स्थानमा छ। बेल्जियम ९ अंकसहित तेस्रो स्थानमा छ। बेल्जियमले यसअघि टर्कीलाई २–१ ले पराजित गरेको थियो।
विश्वविजेता स्पेनले युइएफए नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० गोलले पराजित गरेको छ। योसँगै स्पेनले लगातार १२औं जित निकाल्दा सबै प्रतियोगितामा अपराजित यात्रा ४३ खेल पुर्याएको छ।
प्रागमा बिहीबार राति भएको खेलमा स्पेनले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। ३९औं मिनेटमा चेक गणतन्त्रका लुकास एम्ब्रोसले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा एलेक्स बाएनाले गोल गरेका थिए।
दोस्रो हाफमा येरेमी पिनोले स्पेनको अग्रता दोब्बर बनाए पनि अफसाइडका कारण गोलले मान्यता पाएन। त्यसपछि एडम ह्लोजेकको हेडर क्रसबारमा लागेर फर्किएपछि चेक गणतन्त्र बराबरी गर्नबाट चुक्यो।
६९औं मिनेटमा कप्तान लादिस्लाभ क्रेइचीले रोबर्टो फर्नान्डेजलाई फउल गरेपछि सुरुमा पहेँलो कार्ड पाएका थिए। तर भिएआरको सहायतामा निर्णय परिवर्तन भएपछि उनले रातो कार्ड पाए। त्यससँगै घरेलु टोली १० खेलाडीमा सीमित भयो।
इन्जुरी समयको अन्तिमतिर मार्क पुबिलले गोल थपेपछि स्पेनले २–० को जित सुनिश्चित गर्यो।
यस जितसँगै नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाइसकेको स्पेन समूहको शीर्षस्थानमा छ। स्पेनले आइतबार अन्तिम समूह खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता समूह विजेता बन्नेछ।
नेसन्स लिगमा बेल्जियम र अल्बानियाको जित
युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएका खेलमा बेल्जियम र अल्बानियाले जित निकालेका छन्।
लिग ए को समूह १ मा बेल्जियमले टर्कीलाई २–१ गोलले पराजित गर्यो। यस जितसँगै बेल्जियमले समूहमा महत्वपूर्ण तीन अंक जोडेको छ।
यस्तै, समूह १ कै अर्को खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलले हरायो। फ्रान्सका लागि जिनेदिन जिदान प्रशिक्षक बनेपछि यो पहिलो हार हो।
लिग सी अन्तर्गतका खेलमा अल्बानियाले फिनल्यान्डलाई २–० तथा मोन्टेनेग्रोले लाट्भियालाई २–१ गोलले हराए। आर्मेनिया र साइप्रसले १–१ गोलको बराबरी खेले।
अर्को खेलमा बेलारुसले सान मारिनोलाई २–० गोलले पराजित गर्यो।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। आइतबार हुने अन्तिम खेलमा बेल्जियमले इटालीसँग खेल्दा फ्रान्सले घरेलु मैदानमा टर्कीको सामना गर्नेछ।






2026-11-12-02-29-51.jpeg)
प्रतिकृया दिनुहोस