• २०८३ मङ्सिर ३ बिहीबार
  • Thursday, 19 November, 2026

चितवनका मिशराले हाने एक्लै १२० रन, काठमाडाैं आउट 

काठमाडौं । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमै बुधबार पहिलो पटक क्वालिफायर–२ पुगेको छ । यसका लागि उसले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई सजिलै ६१ रनले हरायो । यो उपलब्धिमा कप्तान रवि बोपाराले खुसी व्यक्त गरे ।

उनले भने, ‘नेपालमा खेल्दाको खुसी बेग्लै छ । आजै मैले टी–२० क्रिकेटको पाँच सयौं खेल पनि खेलेँ ।’ उनले आफ्ना खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरे, विशेषतः कमिल मिशराको । उनले भने, ‘मैले देखेका शतकीय इनिङ्समध्ये यो पनि एक रह्यो । भोलि सुदूरपश्चिमको सामना गर्दैछौं र त्यसका लागि तयार छौं ।’

चितवनले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ४ रन बनायो । जवाफमा काठमाडौंले नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । अब बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ र त्यसको विजेताले फाइनल खेल्नेछ । काठमाडाैं भने बाहिरिएकाे छ ।

चितवनको जितका नायक रहे, श्रीलंकाली बायाँहाते ओपनर मिसरा । उनले नटआउट रहेर १ सय २० रन बनाए । प्रतियोगिताको इतिहासमै यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । उनले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे ।

उनी नै खेलका निर्विवाद ‘प्लेयर अफ द म्याच’ भए । उनले भने, ‘आज मैले मौका पाएँ र त्यसको सदुपयोग गरेँ । आज मैले आफ्नो स्वाभाविक खेल खेलेँ र शतक बनाउन सफल रहेँ । बोपारासँग मिलेर ब्याटिङ गर्दा पनि सजिलो भएको छ । भोलि राम्रो खेल्ने प्रयास गर्नेछु ।’

यस्तै, पराजित टिम काठमाडौंका कप्तान करण केसीले आफ्नो टिम फेरि एकपटक इलिमिनेटरबाट बाहिरिएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘हामीले केही क्याच छुटायौं र त्यसैको मूल्य चुकायौं । हाम्रो फिल्डिङ राम्रो रहेन । मिशराले पनि राम्रो प्रदर्शन गरे । आज हाम्रो दिन नै रहेन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर