• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

एसिया कप राइजिङ स्टार्सः नेपालद्वारा यूएई सजिलै पराजित

काठमाडौँ । नेपालले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा पहिलो र सहज विजय हात पारेको छ । कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

नेपाल शुक्रबार मात्र भारतसँग ३ सय ६ रनले पराजित भएको थियो र सोक्रममा २६ रनमै अलआउट भएको थियो । जुन लिस्ट ‘ए’ मान्यता खेलकै पाँचौं न्युन स्कोर थियो । नेपालले सेमिफाइनलमा पुग्ने आशालाई जिवितै राख्दै मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्ने छ । 

नेपालले युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदान टस जितेर फिल्डिङ रोजेपछि उत्कृष्ट बलिङ गरेको थियो । यूएईलाई ३९.५ ओभरमा १ सय २१ रनमा अलआउट गरेको नेपालले जवाफमा कुशल भुर्तेलले अर्धशतक बनाएपछि २२ ओभरमा लक्ष्य पूरा गरेको थियो । 

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका रशिद खानले आर्यन्श शर्मालाई विकेटको पछाडि क्याच गराए । अर्का ओपनर अंश टन्डन १ रनमा रनआउट भए । हरप्रित सिंह र मोहम्मद साहदादले तेस्रो विकेटमा ६३ रनको साझेदारी गरे पनि यूएईले अन्तिम ८ विकेट केवल ४७ रनमा गुमाएको थियो । हरप्रितले ४८ बल खेल्दै ४ चौका प्रहार गरी ३२ र साहदादले ७० बल खेली ५ चौका प्रहार गरी ४० रन बनाए । अफ्ताब आलम ४ र कप्तान बसिल हमिद २ रन बनाई कुशल भुर्तेलको बलमा आउट भएपछि यूएई नाटकीय रुपमा पतन भएको थियो । 

नेपालबाट कप्तान सन्दीप लामिछाने र कुशलले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रनमात्र खर्चेका थिए । कुशलले ५ ओभरमा २ मेडन राख्दै १५ रन खर्चे । रशिदले ४ ओभरमा १३, ललित राजवंशीले ८ ओभरमा १ मेडन राख्दै २७ र नन्दनले ४.५ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए ।

नेपालको सुरुआत राम्रो थिएन । अर्जुन कुमाल ५ रनमै आउट भए । देव खनाल १ बलमात्र टिकी शुन्यमा आउट भए । कुशल र मयन यादवले तेस्रो विकेटमा ६१ रनको साझेदारी गरी नेपालको स्थितिलाई सुधारे । मयन २७ रनमा आउट भए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । 

कुशलले ५७ रन जोडे । उनले ५६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । बसिर अहमद ३१ बल खेली १८ र पवन सर्राफ ८ बल खेलि ९ रनमा अविजित रहे । पवनले २ चौका प्रहार गरे । यूएईका मोहम्मद मोहसिनले २ विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर