• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

भारतसँग प्रधानमन्त्री बालेनले यी विषयमा गर्दैछन् समझदारी

काठमाडौं । नेपाल–भारत सम्बन्धलाई पूर्वाधार, ऊर्जा र आर्थिक सहकार्यका नयाँ परियोजनामार्फत थप विस्तार गर्ने एजेन्डासहित प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता गर्दै छन् ।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका शाह र मोदीबिचको भेटमा हवाई रुट अनुमति, करिब दुई अर्ब भारतीय रुपैयाँको आर्थिक सहायता तथा व्यापार, पारवहन र लगानी विस्तारका विषयमा सहमति हुने अपेक्षा छ । 

दुई प्रधानमन्त्रीको भेटमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटनसँगै नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।

कार्यतालिकाअनुसार अयोध्या–जनकपुर रेलमार्गको शुभारम्भ हुनेछ । नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँच चौकीहरू तथा निर्माण सम्पन्न भएका परियोजनाको उद्घाटन हुनेछ ।

अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनालगायत महत्वपूर्ण परियोजनाको शिलान्यास हुनेछ । सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदान–प्रदान हुनेछन् ।

दिल्लीस्थित कूटनीतिक अधिकारीहरूका अनुसार नेपालले मागेको हवाई रुट दिन भारत सैद्धान्तिक रूपमा तयार भएको छ । यसबारे आइतबार साँझसम्म पनि दुवै पक्षका प्राविधिक टोलीबिच छलफल भइरहेको थियो । प्रधानमन्त्रीका एक निकटस्थले भने, ‘हवाई रुट अनुमतिका विषयमा करिब–करिब सहमति भएको छ । केही प्राविधिक विषय मात्रै बाँकी छन्, त्यो टुंगिहाल्छ ।’

नेपालले हवाई रुट अनुमति दिएर भारतलाई आफूलाई ट्रान्जिट रुटका रूपमा विकास गर्नुपर्ने नेपाली अधिकारीहरूले बताएका छन् । हवाई रुट अनुमतिका विषयमा दिल्लीमै रहेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक पौडेलले पहल गरिरहेको ती अधिकारीले बताए । 

‘हवाई अनुमति दिने सन्दर्भमा हामीले भनेका छौँ कि नेपालले लिन खोजेको होइन, दिन लागेको हो । भारतलाई पारगमन विन्दु बनाउँदा हुने फाइदाका लागि बाटो खोल्न खोजेका छौँ,’ ती अधिकारीले भने । यससम्बन्धी घोषणा सोमबार प्रधानमन्त्रीस्तरमा हुनेछ ।

नेपाललाई भारतले करिब दुई अर्ब भारतीय रुपैयाँको आर्थिक सहायता दिने टुंगिएको कूटनीतिक अधिकारीले बताए । यसमध्ये एक अर्ब रुपैयाँ सहुलियत ऋण, ५० करोड रुपैयाँ भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनस्र्थापनामा तथा बाँकी ५० करोड रुपैयाँ पोखरा–बुटवल फास्ट ट्र्याक निर्माणलगायत परियोजनाका लागि भारतले अनुदान दिने गरी करिब टुंगिएको उनले बताए । 

अधिकारीहरूले जनाएअनुसार दुई प्रधानमन्त्रीको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) समेत आदान–प्रदान हुनेछन् ।

 दुई प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नेछन् । व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटीलगायत विषयमा छलफल हुनेछ । 

यस्तै, दुई देशबिच स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तारबारे पनि कुराकानी हुनेछ । सडक, रेल, हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत् तथा ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता हुनेछन् ।

यसबाहेक दुई प्रधानमन्त्रीले सोमबार जनकपुर–अयोध्या रेल सेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलामा महाकाली पुल र काभ्रेमा निर्मित नेपाल प्रहरी एकेडेमीको संयुक्त उद्घाटन गर्नेछन् । त्यसैगरी, दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल शिलान्यास हुनेछ ।

नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन, एआई तथा सूचना प्रविधिमा सहकार्य, नेपाल–भारत सीमापार ग्यास पाइपलाइन, क्रिकेट रंगशाला तथा नेपाली खेलाडीहरूलाई तालिम र भारतीय शैक्षिक संस्थान आइआइएम तथा आइआइटीका नेपालमा शाखा सञ्चालनलगायतमा सहकार्यको घोषणा हुनेछ ।

यस्तै, विपत्पूर्व तयारीमा सहकार्य, अप्टिकल फाइबरको गुणस्तर वृद्धि, दुई देशका राजधानीबाहेकका सहरबिच हवाई कनेक्टिभिटी विस्तार, थप पुल तथा सडक निर्माणमा भारतीय सहयोगलगायत एजेन्डामा पनि सहकार्यको घोषणा हुने अधिकारीहरूले जनाएका छन् । 

‘यसपालि आर्थिक सहकार्यका धेरै विषय सार्वजनिक हुनेछन् । परिणाम देखिने गरी सम्भव हुने परियोजना गरौँ, सम्भव नहुने परियोजना नगरौँ भन्नेमा नेपाल र भारतका नेतृत्व सहमत छन्,’ नेपाली अधिकारीले भने, ‘परियोजना निर्माणका विषयमा राजनीतिक तहमा सैद्धान्तिक सहमति गर्ने र प्रक्रियागत रूपमा कर्मचारीतन्त्रलाई पनि राजनीतिक तहबाटै सहजीकरण गर्नुपर्ने नेपालको प्रस्ताव हुनेछ । 

अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर एवं भारतको विदेश मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् । 

प्रधानमन्त्रीसँग जयशंकरको २० मिनेट भेटवार्ता, कनेक्टिभिटीदेखि क्रिकेटबारे छलफल
नयाँदिल्ली आएकै दिन प्रधानमन्त्री बालेन्द्र शाहसँग आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि बेग्लै भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरले होटेल ताजमहलमा पुगेर शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल ताजमहल होटेलमा बसेको छ । २० मिनेट भेटवार्तामा सम्बन्धको आर्थिक पक्षमा भएका प्रगतिदेखि क्रिकेटबारे छलफल भएको छ । 

भेटमा सहभागी एक अधिकारीका अनुसार क्रिकेटमा नेपाल–भारतबिच सहकार्य हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । भारतीय विदेशमन्त्री जयशंकरले सहकार्यका प्रक्रियागत पक्षबारे चर्चा गरे । प्रधानमन्त्री शाहले ‘सहकार्यको नीतिगत कुरामा जाऊँ न, प्रक्रिया त मिलिहाल्छ नि’ भनेको र त्यसमा जयशंकरले सहमति जनाएको ती अधिकारीले बताए । 

प्रधानमन्त्री कार्यालयले शिष्टाचार भेटबारे भनेको छ, ‘नेपाल–भारत सम्बन्धका विविध पक्ष, विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । उहाँहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ ।’

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँग विशेष मित्रतालाई भारतले उच्च महŒव दिएको टिप्पणि गरे । उनले भेटवार्तापछि एक्समा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री शाहसँग भेवार्ता गर्न पाउनु मेरो सौभाग्य हो । भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महŒव दिन्छ । भोलि (सोमबार) प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उहाँको भेटघाट कार्यक्रमहरूलाई लिए उत्सुक छु ।’

भेटमा नेपाली पक्षबाट प्रधानमन्त्रीसँगै उनका राजनीतिक सल्लाहाकर असिम शाह, परराष्ट्रसचिव अमृतबहादुर राई, नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्रराज भण्डारी, नियोग उपप्रमुख डा. सुरेन्द्र थापालगायत थिए । भारतीय पक्षबाट विदेशसचिव विक्रम मिश्री, नेपालका लागि राजदूत सुधाकर दलेला, नेपाल र भुटान डिभिजन प्रमुख अतिरिक्त सचिव मनु महावरलगायत थिए ।

यस्तो छ प्रधानमन्त्री शाहको दिल्ली भेटवार्ताको रूपरेखा भारतको दुईदिने राजकीय भ्रमणमा 
आइतबार अपराह्न नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीबिच सोमबार औपचारिक भेटवार्ता हुँदै छ । दुई प्रधानमन्त्रीबिच दुई ११ः५ देखि १२ः३५ सम्म वार्ताका क्रममा एकान्त वार्ता पनि गर्न सक्ने सम्भावना छ । तर, औपचारिक जानकारी दिइएको छैन । 

तर, दुई प्रधानमन्त्रीबिच सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा पहिलो भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

सोमबार सुरुमा बिहान ११ बजेर पाँच मिनेटमा हैदराबाद हाउसको नीलगिरि हलमा प्रधानमन्त्रीसहित सात–सातजना सहभागी हुने वार्ता हुनेछ । यसलाई ‘रेस्ट्रिक्टेड फम्र्याट मिटिङ’ भनिएको छ ।

यो भेटवार्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन वा राजनीतिक सल्लाहकारमध्ये एकजना, परराष्ट्रसचिव अमृतबहादुर राई र नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी हुनेछन् । साथै नोट टेकरका रूपमा परराष्ट्रका सहसचिव गेहेन्द्रराज भण्डारी र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार पनि रहनेछन् । 

त्यसपछि दुई प्रधानमन्त्री हैदराबाद 
हाउसको शिवालिक हलमा जानेछन् । त्यहाँ प्रधानमन्त्री मोदीले समकक्षी 
शाहलाई ‘प्रधानमन्त्री गति शक्ति नेसनल मास्टर प्लान फर मल्टिमोडल कनेक्टिभिटी’को प्रस्तुतीकरण दिनेछन् । उनीहरूबिच ११ः५० बजे गिरनर हलमा प्रतिनिधिमण्डलस्तरीय भेट हुनेछ, जहाँ प्रधानमन्त्रीबाहेक १५ जना सहभागी हुनेछन् ।

भारतीय पक्षबाट पनि सोही संख्यामा सहभागी हुनेछन् ।
त्यसपछि उनीहरू कैलाश हलमा सहभागी हुनेछन्, जहाँ भारतीय सहयोगमा निर्मित परियोजनाहरूको शिलान्यास हुनेछ । भारतीय सहयोगमा निर्माण भएका २१ परियोजनाको रिमोट एवं विद्युतीय उद्घाटन हुनेछ । 

हस्ताक्षर भएका समझदारीपत्रहरूको 
आदान–प्रदानसमेत हुनेछ । त्यसपछि सञ्चारमाध्यमलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । सुरुमा भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् र त्यसपछि नेपाली प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि शाहले सञ्चारमाध्यमलाई पहिलोपटक सम्बोधन गर्न लागेका छन् । अरू कार्यक्रम सकिएपछि शाहले भारतीय राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सोमबारै प्रधानमन्त्री शाह स्वदेश फर्किनेछन् ।

दुई प्रधानमन्त्रीबिच आज यसरी हुँदै छ वार्ता
दुई प्रधानमन्त्रीबिच सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा पहिलो भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

त्यसपछि ११ बजेर ५ मिनेटमा हैदराबाद हाउसको नीलगिरि हलमा प्रधानमन्त्रीसहित सात–सातजना सहभागी हुने वार्ता हुनेछ । यसलाई ‘रेस्ट्रिक्टेड फम्र्याट मिटिङ’ भनिएको छ ।

त्यसपछि दुई प्रधानमन्त्री हैदराबाद हाउसको शिवालिक होल्डिङ रुमको विनय हलमा जानेछन्, जहाँ प्रधानमन्त्री मोदीले समकक्षी शाहलाई ‘नेसनल मास्टरप्लान फर मल्टी मोडल कनेक्टिभिटी’को प्रस्तुतीकरण दिनेछन् । उनीहरूबिच ११ः५० म गिरनर हलमा प्रतिनिधिमण्डलस्तरीय भेट हुनेछ । त्यहाँ दुवै पक्षबाट प्रधानमन्त्रीबाहेक १५–१५ जना सहभागी हुनेछन् ।

त्यसपछि उनीहरू कैलाश हलमा सहभागी हुनेछन् जहाँबाट भारतीय सहयोगमा निर्मित परियोजनाहरूको शिलान्यास हुनेछ । भारतीय सहयोगमा निर्माण भएका २१ परियोजनाको रिमोट एवं विद्युतीय उद्घाटन हुनेछ ।

हस्ताक्षर भएका समझदारीपत्रहरूको आदान–प्रदानसमेत हुनेछ । त्यसपछि सञ्चारमाध्यमलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । दुई प्रधानमन्त्रीबिच एकान्त वार्ताको पनि सम्भावना छ । तर, तय भइसकेको छैन । प्रधानमन्त्री शाहले द्विपक्षीय वार्तापछि राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्नेछन् र सोमबारै स्वदेश फर्किनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर