काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दिन भारत सहमत

काठमाडौं । नेपाल र भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको उक्त हवाई रुटलाई दुवैतर्फी बनाउने उल्लेख छ । 

भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दिनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन् । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत नेपालको पहुँच उपलब्ध गराइनेछ ।

मोदीको निमन्त्रणामा आइतबारदेखि दुई दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको हो । प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो ।

भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सुविधा हुनेछ । सहायता परिचालनका लागि परियोजना र कार्यविधि दुवै देशको आपसी परामर्शबाट तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

हवाई रुटलाई दुवैतर्फी बनाउने सहमति कार्यान्वयन गर्न प्राविधिक परामर्श गरिनेछ । हाल काठमाडौं–भैरहवा–लखनउ रुटबाट नेपालबाट भारततर्फ उडान गर्न सकिने भए पनि भारतबाट यही मार्ग हुँदै नेपाल प्रवेश गर्न पाइँदैन । नयाँ सहमतिले लखनउबाट भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्ग खुलाउने अपेक्षा गरिएको छ । नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि प्राविधिक परामर्श गर्ने सहमति भएको छ ।

दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका लागि रेल, सडक, बन्दरगाह र पेट्रोलियम पूर्वाधारमा समेत सहकार्य गर्ने सहमति भएको छ । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम भएको घोषणा गरिएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने भएको छ ।

दुई प्रधानमन्त्रीले अयोध्या–जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन् । उक्त रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने र दुई देशबीचको सभ्यतागत सम्बन्ध थप सुदृढ बनाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ । बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सञ्जाल विस्तार गर्ने सम्भावना खोजिनेछ ।

सीमा पूर्वाधारतर्फ भारत र नेपालको धार्चुला–दार्चुला जोड्ने नयाँ मोटरेबल पुल उद्घाटन गरिएको छ । बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिलाई पनि दुवै पक्षले स्वागत गरेका छन् । सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त स्थलगत कार्यलाई निरन्तरता दिने र बाँकी सीमा समस्याबारे काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिने सहमति भएको छ ।

पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण नेपालतर्फ हस्तान्तरण गरिएको छ । झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास पनि भर्चुअल माध्यमबाट गरिएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम शीघ्र सुरु गर्ने र नेपाल–भारतबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने सहमति भएको छ ।

ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास गरिएको छ । नेपालमा भारतीय कम्पनीले विकास गरिरहेका जलविद्युत् परियोजना शीघ्र सम्पन्न गर्ने सहमति पनि भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिएर कार्यान्वयन अघि बढाउन दुवै देशका सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार गर्ने कामलाई पनि तीव्रता दिने सहमति भएको छ ।

नेपालको शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्दै भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अन्तर्राष्ट्रिय क्याम्पस स्थापना गर्ने भएको छ । यसले नेपालको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको पनि दुवै नेतृत्वले स्वागत गरेका छन् ।

दुई देशबीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने विषयमा प्रगति भएको जनाइएको छ । साथै, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चारलगायत सेवामा सहज पहुँच उपलब्ध गराउन आपसी सहजीकरण गर्ने सहमति भएको छ ।

भ्रमणका क्रममा दुवै देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । ती समझदारी फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले रासुवा–भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

दुई प्रधानमन्त्रीले 'विकसित भारत र समुन्नत नेपाल' सम्बन्धी संयुक्त दृष्टिपत्र पनि जारी गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत, जनस्तरको सम्बन्धका साथै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गरेको र भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर