प्रधानमन्त्री बालेन जानै नमानेपछि रविले गर्न थाले राष्ट्रपतिलाई ब्रिफिङ
काठमाडौं । शुक्रबार रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेर सामसामयी क राजनीति सरकारका काम र प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका प्रशंगमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भारतको पहिलो राजकीय भ्रमण अघि र पछि पनि राष्ट्रपतिलाई जानकारी नगराएपछि असन्तुष्ट रहेका राष्ट्रपतिलाई लामिछानेले ब्रिफिङ गरेर शान्त पार्ने प्रयास गरेका हुन् ।
समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने संवैधानिक व्यवस्था छ।
भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिन बित्दासमेत राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भने घण्टौं छलफल गरेका छन्। बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेर प्रधानमन्त्री शाहले करिब पाँच घण्टा समय दिई भारत भ्रमणका क्रममा भएका छलफल र उपलब्धिबारे विस्तृत ब्रिफिङ गरेका हुन्।
नेपालको संविधानको धारा ८१ मा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा पेस गरिने विधेयक, मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने स्पष्ट व्यवस्था छ। प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरी मंसिर ७ गते स्वदेश फर्किएका थिए।
भ्रमणअघि पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका शाहले फर्किएको चार दिनसम्म भेटेर जानकारी गराउन चासो नदेखाएपछि संवैधानिक दायित्व पालनाबारे प्रश्न उठेको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री र राष्ट्रपतिबीच पछिल्लो भेटवार्ता भए, नभएकोबारे आफूलाई जानकारी नभएको बताए।
संविधानअनुसार विदेश भ्रमण र त्यसका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराउनु प्रधानमन्त्रीको संवैधानिक दायित्व तथा संवैधानिक संस्थाबीचको समन्वयको विषय हो। तर, राष्ट्रपतिसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले पार्टी सभापति लामिछानेसँगको छलफललाई भने निरन्तरता दिएका छन्। यसअघि भारत भ्रमणमा जानुभन्दा दुई दिनअगाडि मंसिर ४ गते पनि उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लामिछानेसँग करिब तीन घण्टा भ्रमणको तयारीबारे छलफल गरेका थिए।
रास्वपाका सहप्रवक्ता सुरेन्द्र चौधरीका अनुसार, बिहीबारको करिब पाँच घण्टा लामो भेटमा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, पार्टीले सातवटै प्रदेशमा सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा आसन्न प्रदेश र स्थानीय तह निर्वाचनको तयारीबारे छलफल भएको थियो।
सचिवालयका अनुसार भेटमा सभापति लामिछानेले सरकारका कामकारबाही कानुन र विधिसम्मत ढंगले अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। साथै, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत कुराकानी भएको थियो।
संवैधानिक जिम्मेवारी राष्ट्रपतिसँग जोडिएको भए पनि प्रधानमन्त्रीले पार्टीगत राजनीतिक समन्वयलाई प्राथमिकता दिँदा सरकार सञ्चालनको राजनीतिक संरचना र प्राथमिकतामाथि संवैधानिक कानुनका विज्ञहरूले प्रश्न उठाउन थालेका छन्।





2026-11-27-03-33-48.jpeg)
2026-11-27-12-26-51.jpeg)
प्रतिकृया दिनुहोस