अन्तरजातीय विवाह गरेको भन्दै पानीको स्रोत बन्द गर्नेलाई पक्राउ गर्न निर्देशन

विराटनगर । मुसहर समुदायलाई पानीको स्रोतबाट वञ्चित गराइएको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न इलाका प्रहरी कार्यालय नेमुवालाई मंगलबार निर्देशन दिएको हो । 

बुढिगंगा गाउँपालिका २ सख्मा टोलका मुसहर परिवारले प्रयोग गर्दै आएको ट्युबवेल उखेलिएपछि झण्डै २० दिनदेखि उनीहरु पानीका लागि भौंतारिदै आएका थिए । सख्मा टोलका २२ बर्षे शनि ऋषिदेव र सोही ठाउँकी सिर्जना थापा मगर चैत्र १८ गतेदेखि गाउँमा छैनन् । सिर्जनाको परिवारले सनिले भगाएर लगेको आरोप लगाएको छ । उनीहरुले छोरा खोजेर ल्याउन पटक पटक सनिका परिवारलाई धम्कीदिदै आएका थिए । केटालाई नल्याएको भन्दै उनीहरुले प्रयोग गर्दै आएको पानीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो । 

समाज, स्थानीय तह र प्रहरीमा पटक पटक छलफल गरेर समाधानको प्रयत्न गर्दापनि मुसहर समुदायले पानी पिउन नपाएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोमबार इलाका प्रहरी कार्यालयमा छलफल राखेको भएपनि समाधान निस्किएको थिएन । मंगलबार जिल्ला प्रहरी कार्यालयको संयोजनमा अर्को छलफल राखेको थियो । सो छलफलमा तत्कालै मुसहर समुदायकाले पिउने पानीका लागि ट्युबवेल राख्ने र त्यसमा अवरोध गर्नेलाई कानूनी कारवाही गर्ने सहमति बनेको थियो । ‘पिउने पानीबाट बञ्चित गराउने कार्य कानून विपरित हो,’ मोरङका प्रहरी उपरिक्षक मनोज केसीले भने– ‘ट्युबवेल उखेल्ने र पानी नै पिउन नदिने कार्यमा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न मैले मातहतमा निर्देशन दिइसकेको छु ।’

छलफलमा केटा पक्षले १५ दिनभित्र सनि ऋषिदेवलाई खोजेर ल्याउने सहमति पनि भएको बताइएको छ । यद्यपी प्रहरीले भने अन्तरजातीय विवाह र पानी पिउनबाट वञ्चित गराउने कार्य दुवै फरक भएकोले फरक प्रकृयाबाट कारवाही हुने बताएको छ । अन्तरजातीय विवाह भएपनि सिर्जनाको उमेर २० वर्ष भन्दा कम भएकोले प्रहरीले दुवै विषयमा अनुसंधान गरी कारवाही हुने बताएको छ । 

र याे पनि ः

अन्तरजातीय विवाहले तनाव : पानिको स्रोत नै बन्द, छोरी बेचेको आरोप ! [भिडियो]

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर