• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पोखरामा चरा उत्सव हुने

पोखरा । चरा संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धनमा सघाउन पोखरामा असारको चौथो हप्ता चरा उत्सव हुने भएको छ । पोखरा पन्छी समाजको आयोजनामा पोखराको गौरीघाटमा यहि असार १९ गतेदेखि २१ गतेसम्म नेपाल बर्ड फेयर–२०१९ (नेपाल चरा उत्सव) आयोजना गर्न लागेको पोखरा पन्छी समाजले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

चरा उत्सवको पहिलो दिन उद्घाटन शत्र चल्ने आयोजकले जनाएको छ । उद्घाटन शत्र पछि चरा पहिचान र चराको बसाईसराईसम्बन्धी तालिम, दिउँसो जंगलको नियम र सावधानी, लाटोकोसेरोको पहिचान, मांसहारी चराहरुको पहिचानबारे तालिम सञ्चालन हुने पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

उनका अनुसार चरा उत्सवको दोश्रो दिन बर्ड वाचिङ, विद्यार्थीहरुलाई चराको जीवन सम्बन्धी जानकारी, फोटो प्रदर्शनी, पोस्टर प्रेजेन्टेसन, कला, फेस पेन्टिङलगायतका कला प्रदर्शनी तथा अन्तिममा चरा संरक्षणमा चुनौति र चराको बसाईसराई सम्बन्धी छलफल कार्यक्रम हुनेछ ।

चरा उत्सवको अन्तिम दिन विहानी शत्रमा पोखरा भ्यालीमा पाइने चरा र गिद्ध सम्बन्धी जानकारीमूलक पुस्तकको विमोचन हुनेछ भने त्यसपछिको समयमा नेपालमा चराको अवस्था, पोखरा भ्यालीमा पाइने चरा र तिनको अवस्था, चरा नृत्य हुनेछ । अन्तिम दिनको शत्रको दिउँसो उल्लु र यसको तस्करी, एक्याप क्षेत्रमा गरिएको चरा संरक्षण, पुरस्कार वितरणसहित समापन शत्र चल्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

पोखरामा ४६७ प्रजातिका चरा पाइने बताइन्छ । चरा उत्सव सम्पन्न गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको पोखरा पन्छी समाजले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर