धनुषाको तीन मध्ये दुई वितरण केन्द्रमा विद्युत आपूर्ती बन्द 

जनकपुरधाम । लगातार भएको वर्षापछि आएको बाढीका कारण धनुषाको अधिकांश भागमा विद्युत आपूर्ती बन्द भएको छ । बाढीका कारण धनुषा जिल्लामा रहेको तीन विद्युत वितरण केन्द्रहरुमध्ये  दुई वितरण केन्द्रको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द भएको हो । यद्यपि जनकपुर वितरण केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति सुचारू नै रहेको नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रले जनाएको छ । 

धनुषाको पूर्वी क्षेत्रमा ३३ केभी प्रशारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको अधिकांश गाउँपालिकाहरु अन्धकारमय बनेको छ । 

धनुषाको यदुकोहा वितरण केन्द्र अन्तर्गत ३३ केभीको ६ वटा पोल बाढीले ढालेको केन्द्रका प्रमुख सुनील महतोले बताए । विद्युत पोल ढलेपछि अहिले जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, शहीद नगरपालिका, विदेह नगरपालिका , औरही गाउपालिका , हँसपुर नगरपालिकामा विद्युत आपूर्ती बन्द भएको छ । 

यदुकोहा वितरण केन्द्रका प्रमुख महतोका अनुसार अहिले ढलेको पोलको मर्मत सम्भार  कार्य तीव्र गतिमा भइ रहेको छ यद्यपि वितरण केन्द्रका सबै स्थानमा बिजुली आउन अझै एक–दुई दिन लाग्ने उनले बताए । 

जनकपुर वितरण केन्द्र अन्तर्गत पर्ने लक्ष्मीनिया गाउँपालिका, औरही गाउँपालिका, मिथिला विहारी नगरपालिका, नगराइन नगरपालिका , धनौजी गाउपालिका र जनकपुरधाम उपमहानगरपालिकामा विद्युत आपूर्ति सहज रहेको जनकपुर वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले बताए । 

धनुषाको उत्तर क्षेत्रमा पनि बाढीका कारण विद्युत आपूर्ति अबरुद्ध भएको छ । महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न गाउँपालिका र नगर पालिकाका छुट्टाछुट्टै स्थानमा विजुलीको पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको छ । 

औरही खोलामा आएको बाढीले बिजुलीको ७ वटा पोल बगाएको छ भने ६ वटा पोल ढलेको छ ।  त्यस्तै चारनाथ खोला वरीपरी ३ वटा बिजुली पोल पानीले बगाएको छ भने जमुनीवास क्षेत्रमा ३ वटा बिजुली पोल तोडेको वितरण शाखाका प्रमुख राजकुमार रमनले जानकारी दिए । 

रमनका अनुसार जनकपुर–महेन्द्र सडकखण्डमा मात्रै ६ वटा विजुलीको पोल ढलेको र एउटा टुटेको बताए । महेन्द्र नगर, लालगढ, वीरेन्द्र बाजार, धनुषाधाम सबैला लगायतको स्थानमा साँझसम्म बिजुलीको मर्मत सम्पन्न भए आपूर्ती सूचारु हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर