मोरङमा बाह्रै महिना विरुवा वितरण हुने वन नर्सरी स्थापना

विराटनगर । असार–साउन महिनामा मात्र वृक्षारोपणकालागि रुखका बिरुवा उत्पादन र वितरण गर्ने परम्परागत प्रणालीमा सुधार गर्दै मोरङमा बाह्रै महिना बिरुवा उत्पादन र वितरण हुने नर्सरी स्थापना भएको छ । प्रदेश सरकारको सहयोगमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा आधुनिक बाह्रमासे नर्सरी निर्माण गरिएको हो ।
वातावरण संरक्षणमा विशेष जोड दिँदै प्रदेश सरकारले जुनसुकै समयमा पनि बिरुवा उपलव्ध गराउन सक्ने गरी नर्सरी निर्माणमा लगानी गरेको हो । सेक्टर बन कार्यालय सलकपुरमा एक बिघा भन्दा बढी क्षेत्रफलमा आधुनिक नर्सरी निर्माण गरिएको छ ।
प्रदेश सरकारले उपलव्ध गराएको ३० लाख रुपियाँ बजेटबाट नर्सरी, र त्यसमा हरितगृह प्रणालीको छानो लगाउने काम गरिएको छ ।
नर्सरीमा अहिले झण्डै ३ लाख बिरुवा हुर्किएका छन् । सतिसाल, सिसौ, टिक, खयर, करम, बोटधएरो, रक्त चन्दन, रुद्राक्ष आदि काठ तथा ग्रैरकाठ प्रजाती र सडक किनारमा हरियाली प्रवद्र्धन हुने खालका बिरुवाहरु नर्सरीमा हुर्किएका छन् । नर्सरी सञ्चालनकालागि लागि वन कार्यलयले तीन जना कर्मचारी खटाएको छ । सिजन अनुसारका विरुवाका बीऊहरु खोज्ने, रोप्ने, माटो तयार पार्ने, पोलिप्याक गर्ने, पानी हाल्ने, मल हाल्ने, समय समयमा घाम र हावाको सन्तुलन कायम गर्ने जस्ता काम नर्सरीमा नियमित गर्नुपर्छ ।
विभिन्न छिमलमा हुर्काइएका बिरुवाहरु एक वर्षको भएपछि मात्र रोप्नकालागि वितरण गरिने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अब किसानहरुले चाहेको बेला बिरुवा लगेर सार्न सक्नेछन् ।
‘कलिलो बिरुवा वितरण गर्दा बिरुवा सर्ने दर कम हुने भएकोले हामीले एक वर्ष नर्सरीमा हुर्किएको बिरुवा मात्र वितरण गर्ने गरेका छौं,’ उनले भने–‘वर्ष दिन भएको बिरुवा सजिलै सर्ने भएकोले हुर्किने निश्चित जस्तै हुन्छ ।’ यद्यपी बिरुवा रोप्नकालागि पानी परेको र गर्मी मौसम अनुकुल हुन्छ । वैशाख महिनादेखि कार्तिक महिनासम्म बिरुवा रोपेर हुर्काउन सकिन्छ । त्यस बाहेक जाडो याममा भने बिरुवा हुर्काउन कठिन हुन्छ । सडक किनार आदि ठाउँहरुमा जुनसुकै समयमा पनि बिरुवा लगाउन सकिन्छ ।
पर्यावरण संरक्षण र वातावरणीय सन्तुलनकालागि विभिन्न स्थानीय तहहरुले हरियाली प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिररहेका हुन्छन् । तर उनीहरुले जुनसुकै समयमा बिरुवा प्राप्त गर्न सक्दैनन् । त्यस्तो बेलामा भारतीय बजारबाट बिरुवा किनेर ल्याउनु पर्ने वा शहर बजारका नर्सरीबाट महंगोमा किनेर बिरुवा ल्याउनु पर्ने भएकोले वन कार्यालय मार्फत निशुल्क बिरुवा वितरणकालागि बाह्रमासे नर्सरी प्रभावकारी हुने बताइएको छ ।
मोरङमा यो वर्ष ७ लाख ४० हजार काठ प्रजातीका बिरुवाहरु उत्पादन गरेको डिभिजन बन कार्यालय मोरङका प्रमुख घिमिरेले जानकारी दिए । जिल्लाको १८ हेक्टर खालीपर्ती जमिनमा वृक्षारोपण गरिएको छ । उत्पादित बिरुवा किसानहरुलाई निशुल्क वितरण गरिएको छ । घिरेका अनुसार एक जनालाई २० थानका दरले बिरुवा वितरण गरिएको छ ।
प्रदेश नम्बर १ मा ४३.४ प्रतिशत वन क्षेत्र रहेको छ भने मोरङमा ४४ हजार ५ सय हेक्टर वन छ । यस अघि मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेकोका अघिल्लो वर्ष भएको सर्वेक्षणले करिव ११ हजार हेक्टर वन क्षेत्र घटेको देखाएको छ ।
प्रतिकृया दिनुहोस