बाढीबाट भएको क्षतिको समितिले स्थलगत निरिक्षण गर्ने

सरकारले समयमै राहत उपलब्ध गराउन नसकेको महतोको आरोप

जनकपुरधाम । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि बनाएको उपसमितिले प्रदेश दुईमा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण सुरु गरेको छ ।

समितिले सांसदहरुको दुई वटा टोली बनाएर प्रदेश दुईको आठै जिल्लाको बाढीबाट भएको क्षतिको विषयमा स्थलगत निरिक्षणका लागि पठाएको हो । एउटा टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा पर्साको निरिक्षण गर्नेछ भने अर्को टोलीले सिरहा सप्तरी लगायतको जिल्लाको निरिक्षण गर्नेछ । सांसदहरुको टोलीमा राजेन्द्र महतो, रामसहाय प्रसाद यादव, देवेन्द्र प्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, छक्क बहादुर लामा, बृजेश कुमार गुप्ता लगायतका रहेका छन् ।  

प्रदेश दुईको आठ वटै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । स्थलगत निरिक्षणका लागि आएका राजपा नेता राजेन्द्र महतोले सरकारले बाढी पीडितहरुलाई अझै सक्दो राहच उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गरे । उनले भने ‘सरकारका मन्त्रीहरु हवाई निरीक्षण गरी फर्कियो भन्ने हामीले सुन्यौँ, जनतासँग नभेटेर मन्त्रीहरुको जम्बो टोलीले राम्रो गरेन । हामी जनतासँग भेटेर यर्थात बुझ्न आएका छौं ।’

महतोले बाढी पीडितलाई तत्कालै राहत दिनुपर्छ, विस्थापित भएकालाई पुर्नस्थापनाका लागि सरकारले चाँडै निर्णय लिनु अवश्यक रहेको बताए । बाढीले बगाएका घरहरुको अविलम्ब निर्माण गर्नु आवश्यक रहेको उनको भनाई छ ।

निरीक्षणका लागि जनकपुर विमानस्थल आइपुगेका समितिका पदाधिकारीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले ब्रिफिङ गरेका थिए । उनले धनुषामा ११ हजार मानिस बाढीबाट प्रभावित भएको र राहत अपुग भएको जानकारी टोलीलाई गराए । क्षतिको पूर्ण विवरण अझै संकलन नभएको र दुई दिनभित्र विवरण संकलन गरी राहतका लागि संघीय सरकारलाई पत्र पठाउने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर