बुटवलमा सडक किनारमा पुष्प उधान बनाउन सुरु

बुटवल । बुटवलमा सडकका किनार र खाली जग्गामा मौसम अनुसारका फुलहरु रोप्दै पुष्प उधान बनाउने अभियान सुरु भएको छ । बुटवल वडा नं. १० को कालिकानगरस्थित सडक किनारको खाली ठाउँमा फुलका विरुवा रोप्दै शनिबार यो अभियान सुरु भयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सयपत्रीका विरुवा रोप्दै यो अभियानको शुभारम्भ गरे । लुम्बिनी नर्शरी तथा पुष्प व्यवसायी संघको सहकार्यमा उपमहानगरपालिकाले पुष्प उधान र सडक पुष्प खेती प्रदर्शनी कार्यक्रमको सुरुआत गरेको हो । 

त्यसक्रममा प्रमुख सुवेदीले ‘पुष्प खेती गरांै आत्म निर्भर बनौं, आयात होईन निर्यात गरौं’ भन्ने नारालाई सार्थक बनाउन यस अभियानले सहयोग पुग्ने बताए । सडक किनारमात्रै नभएर घर वरपर र सार्वजनिक स्थानमा खाली ठाउँलाई सदुपयोग गरेर पुष्पखेती गर्न आग्रह गरे । 

शनिबार मात्रै उक्त स्थानमा करिब एक हजार फुलका विरुवा रोपिएको वडा बुटवल–१० का अध्यक्ष पदम थापाले जानकारी दिए । व्यवसायिक रुपमा पुष्पखेती गर्दै आएका व्यवसायीहरुको सहकार्यमा बुटवलको छ लेन सडकको दायाँबायाँ मौसमी फुलका विरुवा रोप्ने कार्यक्रम तय भएको अध्यक्ष थापाले जानकारी दिए ।
 
प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग र फ्लोरी कल्चर एशोसिएसनको सह आयोजनामा हालै सञ्चालन गरिएको पुष्पखेतीसम्बन्धी तालिममा सहभागी भएकाहरुलाई प्रयोगात्मक कक्षा गराउन पनि सडक किनारमा पुष्पखेती प्रदर्शनी अभियान सुरु गरिएको पुष्प व्यवसायी संघका प्रदेश संयोजक रमेश पाण्डेले बताए ।

सो अवसरमा मन्त्रालयका सचिव बैकुष्ठ अधिकारीले प्रदेश ५ लाई फुलमा आत्म निर्भर बनाउन सबैसंग सहकार्य गरेर अभियान सुरु गरिएको बताए । उनले बुटवलको सडक किनारबाट सुरु भएको उधान निर्माणको अभियानलाई प्रदेशभर नै सञ्चालन गरिने जनाए । फुलखेतीले वातावरण सन्तुलनमा मद्दत हुने र आयआर्जनको राम्रो श्रोत रहेको पनि उनको भनाइ थियो । 

प्रदेश ५ का १२ जिल्लामा पकेटक्षेत्र बिकास गरी फुलखेतीका बिकास गर्न आफुहरुले सरकारसंग सहकार्य गरिएको फ्लोरी कल्चर एशोसिएसन रुपन्देहीका अध्यक्ष श्रृजना बस्यालले बताइन । यो अभियानका लागि पुष्प व्यवसायीहरुले करिब एक लाख फुलका विरुवा सहयोग गरेको युवा व्यवसायी तथा प्रदेश संयोजक पाण्डेले बताए । जनप्रतिनिधि तथा महिला अगुवा कला केसीले कार्यक्रमको सहजिकरण र कृषि प्राविधिक जनक भण्डारीले फुलका विरुवा रोप्ने कामको सहजिकरण गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर