कपडा तथा सिलाई ब्यवसायीको केन्द्रीय अधिवेशन बुटवलमा शुरु 

बुटवल । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको १८ औं केन्द्रीय साधरणसभा तथा १० औं अधिवेशन शनिबारदेखि बुटवलमा शुरु भएको छ । ५७ जिल्लाका कपडा तथा सिलाई व्यवसायीहरु बुटवलमा भेला भएका छन । शनिबार नेकपाका स्थायी कमिटि सदस्य, पूर्वमन्त्री एंव प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले साधरणसभाको उद्घाटन गरे । 

उद्घाटन समारोहमा बोल्दै नेता विश्वकर्माले गणतन्त्रले श्रमजिवि र सिपयुक्त जनताको जीवनस्तर परिवर्तन गर्नुपर्ने बताए । उनले प्राप्त भएको परिवर्तन र गणतन्त्रले त्यो सिपयुक्त जनताको भावनालाई सम्बोधन गर्न नसकेको बताए । ‘राज्यव्यवस्थाको बदलाव मात्रै खोजेको होईन, श्रमिक र सिपयुक्त जनताको जीवनमा परिवर्तन ल्याउने गणतन्त्र खोजेका हौं’उनले भने । 

परम्परागत रुपमा नाङ्गो शरीर ढाक्ने काम गरेका समुदायको पेशालाई आधुनिकिरण र व्यवसायिक बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने उनको भनाई छ । उनले आफू जनताको प्रतिनिधिनको नाताले कपडा तथा सिलाई व्यवसायलाई सुदृढ र संगठित बनाउनका लागि नितिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विश्वकर्माले संघीय सरकारले परम्परागत सिपलाई मध्यनजर गरेर भगत सर्वजित शिल्पकलाका नाममा बजेट छुट्याएको स्मरण गर्दै प्रदेश नम्बर ५ सरकारले समेत बजेट छुट्याएकोमा धन्यवाद दिए । 

कपडा तथा सिलाई व्यवसायीका विचमा एकता जरुरी रहेकाले त्यसलाई कायम राख्न समेत आग्रश गरे । प्रदेश नम्बर ५ का सांसद भोज प्रासद श्रेष्ठले कपडा तथा सिलाई व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिने भएकाले यसलाई पूर्ण व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष लाल बहादुर परियार, महासंघका पूर्व प्रथम उपाध्यक्ष कृष्ण रणपाल,  केन्द्रीय सचिव मेघ बहादुर कार्की, जिल्लाका तर्फबाट रुपन्देही शाखाका अध्यक्ष सुभाष परियारले बोल्दै व्यवसायिक एकतामा जोड दिएका थिए । आईतबारसम्म चल्ने अधिवेशनले आगामि २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

५७ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक बुटवल आएका छन । ४ सय ४९ मतदाता रहेको महासंघको ३४ सदस्यीय नेतृत्व चयन गर्नका लागि निर्वाचन प्रक्रिया शुरु भएको निर्वाचन अधिकृत लोक बहादुर नेपालीले बताए । आईतबार विहान उम्मेद्वारी दर्ता गरिने र साँझसम्म नेतृत्वको टुंगो लगाउने निर्वाचत समितिको तयारी छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर