• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

'पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन्छ', विभाग टुंगिए लगत्तै प्रचण्डले किन यसाे भने ?

काठमाडौं । शुक्रबार मात्रै पार्टी एकता सम्बन्धी महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिववार पार्टी एकता नगरेको भएपनि ठिक हुने रहेछ कि भन्ने अनुभूति हुन थालेको बताएका छन् । सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि सही गर्नुपर्दा यस्तो सोच आउने गरेको बताएका हुन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा दाहालले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए । 

नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्त्वपूर्ण कुराहरूमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे । कम्युनिस्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले केही गर्न नसके इतिहासले धिकार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधैं नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमाजोड दिएका थिए । 

यस्तै, अध्यक्ष दाहालले चिकित्सकहरूले आफ्नो पेसालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । पेसा सुरक्षित, लोकप्रिय र मर्यादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई वस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए । 

अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पुँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवादउन्मुख गराउने चुनौती रहेको पनि बताए । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी चिकित्सकहरूले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेसा आवश्यक रहेको भन्दै सरकारी नीति प्रस्ट हुनुपर्ने माग गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर