पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा लागेको ताला खुलेन 

जाँदाजाँदै नियुक्ति दिने प्रयास  

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले नियमावली विपरित प्राध्यापक नियुक्तीको प्रकृया अघि बढाउन खोजेको भन्दै झण्डै महिना दिन अघि लगाएको ताला अझै खुलेको छैन । सेवा आयोगमा प्राध्यापकको मात्र हैन विद्यार्थीहरुको पनि ताल्चा झुण्डिएको छ । 

सेवा आयोगको कार्यालयमा ताल्चा लागेपनि आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले आफ्नो काम र अडान छोडेका छैनन् । उनले अहिले पनि प्राध्यापक नियुक्तीको प्रकृया अघि बढाउने जमर्को गरिरहेका छन् । उनले आफ्नै निवासमा व्यवस्थापन तर्फका लागि करिव दुई वर्ष अघि प्रकाशित विज्ञापन अनुसार पदपुर्ती गर्ने प्रयास गरेका थिए । विद्यार्थीहरुले त्यसबारे चाल पाएपछि घेराउ गरेर त्यसलाई रोकिदिए । 

अन्तरवार्ताकालागि सेवा आयोगका सदस्य महेन्द्रनारायण यादव अध्यक्षको निवासमा प्रवेश गर्नै लाग्दा विद्यार्थीको समूहले घेराउ गरी प्रवेश गर्न दिएनन् । विद्यार्थीहरुको अवरोधपछि अन्तरवार्ता लिने र पदावधी सकिनु अघि आफ्नो सुवेच्छुकलाई नियुक्त गर्ने  प्रयास पनि असफल भएको विद्यार्थी नेता भाष्कर खनालले बताए । सेवा आयोगका अध्यक्ष र सदस्यको पदावधी भदौ ५ गते सकिँदैछ । 

पूर्वाञ्चल विश्वविद्यालयले २०७४ पुस र चैत्र महिनामा शिक्षकहरुको नियुक्तीकालागि ६३ जनाको आवश्यकता प्रकाशित गरेको थियो । विश्वविद्यालयले विषय नै नभएको र न्युन विद्यार्थी संख्या रहेका विषयमासमेत अधिक प्राध्यापक नियुक्त गर्न विज्ञापन प्रकाशित गरेपछि तत्कालै त्यसको विरोध भएको थियो । विद्यार्थी संगठनहरु र प्राध्यापक संगठनहरुले त्यसप्रति असहमति जनाएका थिए । विश्वविद्यालयमा पठनपाठन नै नहुने हेल्थ विषयकलागि पनि शिक्षक माग गरिएको थियो भने २० जना विद्यार्थी भएको सोसल विषयमा चार जना शिक्षक माग गरिएको थियो । त्यस्तै जनसंख्या विषयमा पनि चार जना शिक्षक मागिएको थियो सो विषय पढ्ने विद्यार्थीको संख्या भने सात जना मात्र थियो । विश्वविद्यालयले हचुवाको भरमा विज्ञापन गरेर नियुक्ती प्रकृया अघि बढाएपछि तालाबन्दी गरेरै विरोध भएको थियो । 

विश्वविद्यालयले हचुवाको भरमा विज्ञापन प्रकाशित गरेपछि प्रधानमन्त्री एवम् कुलपतिको निर्देशनमा तर्फबाट शिक्षामन्त्रीले पूर्वाञ्चल विश्वविद्यालयमा भएको अनियमितता र सेवा आयोगको पदपुर्ती विज्ञापन सम्वन्धमा छानविन गर्न डा. उषा झाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । 
झा संयोजकत्वको समितिले विश्वविद्यालयमा भएको अनियमितता औल्याएको छ भने विभिन्न सुझावपनि दिएको छ । प्रतिवेदनको निष्कर्श र सुझाव नं ३ मा सेवा आयोगले पदपुर्ती गर्न लागेको पदहरुमा पदपुर्तीको प्रकृया हाललाई स्थगित गरी जनशक्ति तथा संगठन व्यवस्थापन सर्वेक्षण गराई आवश्यकतता अनुसार पदपुर्ती प्रकृया अघि बढाउन भनि स्पष्ट सुझाव दिएको छ । त्यसै सुझावका आधारमा विश्वविद्यालयले पाँच वर्षे गुरुयोजना तयार गर्न प्राध्यापक संजेशप्रसाद कोइरालाको संयोजकत्वमा समितिसमेत निर्माण गरेको थियो । तर गुरुयोजना तयार नगरी विश्वविद्यालयले पदपुर्ती प्रकृया अघि बढाउने तयारी गरेपछि सेवा आयोगमा विद्यार्थी र प्राध्यापक दुवैले तालाबन्दी गरेका छन् । नेपाल प्रगतिशिल प्राध्यापक संगठन पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समितिलेसमेत त्यस विषयमा विश्वविद्यालयको ध्यानाकर्षण गराउदै पदपुर्तीको प्रकृया तत्काल रोक्न भनेको सभापति नविन भट्टराईले बताए । 

विरोध र अवरोधकाबीच पनि सेवा आयोगले भने पदपुर्तीको प्रकृया अघि बढाउन खोजेको र क्वार्टरबाटै कार्यालय सञ्चालन गर्न खोजेको आरोप विद्यार्थी र प्राध्यापक संगठनहरुले लगाउदै आएका छन् । सेवा आयोगले ६३ जनाको पदपुर्तीकालागि आवेदन माग गरेको भएपनि व्यवस्थापन संकाय तर्फ प्राध्यापक र सहप्राध्यापक पदकालागि मात्र अन्तरवार्ता लिने प्रयत्न गरिरहेको छ । दुवै पदकालागि विराटनगरका शैलेन्द्र शिवाकोटीको आवेदन परेको छ । 

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले पदपुर्ती अघि बढाउन खोजेको भन्नुभन्दा पनि विश्वविद्यालयको गतिरोध हटाउनु पर्छ भन्ने अर्थमा लिनुपर्ने बताउनुभएको छ । उहाँले अनावश्यक आरोप लगाएर विश्वविद्यालयलाई गतिहीन बनाएको आरोप लगाए । उनले वातावरण बनेको खण्डमा अझैपनि पदपुर्ती प्रकृया अघि बढ्नसक्ने तर अहिलेसम्म अन्तरवार्ता भने नलिएको बताए । सेवा आयोगका अध्यक्षले जबरजस्ती गरेको आरोपको खण्डन गर्दै उहाँले तालाबन्दी गरेर कसले जबरजस्ती गरिरहेको छ स्पष्ट रहेको जिकिर गरे । 

पूर्वाञ्चल विश्वविद्यालयको नियमावली अनुसार अन्तरवार्ता वा लिखित परीक्षाकालागि कम्तीमा १५ दिन अगावै सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ  । तर त्यस विपरित आयोगले शुक्रवार सूचना नै प्रकाशित नगरी अन्तरवार्ताको प्रयास गरेको थियो । यद्यपी अध्यक्ष श्रेष्ठले भने गलत आरोप लगाएको प्रतिकृया दिएका छन् । अन्य पदकालागि लिखित परीक्षा लिनुपर्ने भएपनि प्राध्यापक नियुक्तीकालागि भने अन्तरवार्ता मात्र लिने भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर