• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ट्रम्प प्रशासन र भेनेजुएलाका अधिकारी एक महिनादेखि गोप्य वार्तामा

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफ्ना शीर्ष अधिकारी र अमेरिकी प्रशासनबीच एक महिनादेखि गोप्य वार्तामा रहेको खुलासा गरेका छन् ।  

‘ट्रम्प प्रशासनका वरिष्ठ सदस्य र मेरो अध्यक्षतामा रहेको बोलिभारियन सरकारबीच महिनौदेखि सम्पर्कमा रहेको म पुष्टि गर्छु । यसमा मेरो प्रत्यक्ष स्वीकृति छ ,’ मंगलबार राति एक टेलिभिजन सम्बोधनमा मदुरोले भने । ‘विभिन्न माध्यमबाट धेरै थरी सम्वाद भइरहेका छन्’, मदुरोले बताए । 

दुई अमेरिकी संचारमाध्यमले भेनेजुयलाका प्रशासनभित्रका एक शिर्ष नेता डियासडोडो क्याबेल्लो ट्रम्पका शिर्ष अधिकारीसँग ‘गोप्य भेटवार्ता’ रहेको रिपोर्ट दिएको समयमा मदुरोको टिप्पणी आएको छ ।  

आइतबार मात्रै अमेरिकी संचार माध्यम ‘एक्सिओस’ले मदुरो पक्षधर संविधान–सभाका अध्यक्ष क्याबेलो ट्रम्पको शिर्ष ल्याटिन अमेरिका सल्लाहकार मोरिसियो क्लाभर–क्यारोनसँग सम्बादमा रहेको लेखेको थियो । समाचारमा दूईबीच एक महिनादेखि सम्वाद भइरहेको उल्लेख थियो ।

त्यस्तै समाचार एजेन्सी एपीले क्याबेल्लो अघिल्लो महिना काराकासमा ‘ट्रम्प प्रशासनको नजिकको सम्पर्क व्यक्तिसँग’ भेटेको दावी गरेको थियो । त्यस भेटमा दोस्रो भेटबारे पनि छलफल भएको समाचारमा उल्लेख छ । 

समाचारमा अमेरिकाले क्याबेलोसँग सम्बादमा रहेर मदुरो सरकारभित्रको आन्तरिक विवादलाई बढाउने आसा गरेको उल्लेख छ । 

यी समाचारबीच मदुरो आफैले अमेरिकासँग वार्तामा रहेको पुष्टि गरेका छन् । मदुराले यी भेटघाटलाई ‘ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुयलाको वास्तविकता सुनाउने’ प्रयासको रुपमा अर्थाए । 

मंगलबार संचारकर्मीसँगको कुराकानीका क्रममा ट्रम्पले भनेका थिए, ‘हामी भेनेजुयलाका विभिन्न प्रतिनिधिसँग सम्वाद गरिरहेका छौं । को भनेर म भन्न चाहन्न तर हामी उच्च पदस्थसँग सम्पर्कमा छौं ।’

भेनेजुलयाले गत जनवरीदेखि राजनीति गतिरोध सामना गरिरहेको छ । त्यही महिना विपक्षीको बहुमत रहेको संसदका प्रमुखले आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । उनको दावीलाई अमेरिका र संयुक्त अधिराज्यसमेत ५० वटा सरकारले समर्थन जनाएका थिए । 

भेनेजुयलामा राजनीति संकट गहिरिएपछि देशमा चरम आर्थिक मन्दीको अवस्था उत्पन्न भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, यही संकटको कारण भेनेजुयलाका चालिस लाख मानिसले देश छाडेर हिडिसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर