म निदाएको छैन
मोबाइलबाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुमबासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँबाट प्राप्त भइसकेको थियो ।
‘यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ,’ मैले सूचना पाउने वित्तिक्कै प्रतिक्रिया दिएको थिएँ ।
‘अब यो पार्टी हाम्रो रहेन । जनताको पार्टी रहेन,’ पार्टीका नेताहरूलाई चुनौती दिँदै भनेको थिएँ मैले ।
जिम्मेवार कमरेडहरू पनि मेरा कुरा प्रतिक्रियाविहीन भएर सुनिरहन्थे ।
दुई दिन अघिसम्म मैले कार्की बालाई हुनै सक्तैन भनेर फेरि विश्वास दिलाउने प्रयत्न गरेको थिएँ । तर आफ्नो कुरासँग म आफैं पनि विश्वस्त थिइनँ ।
लगातार मोबाइलको घन्टी बज्न थाल्यो । रजमान गुर्मछान, सरला कार्की, हरिदेव चौधरी, सुवास आले, आदि धेरै साथीहरूको फोनमा घन्टी बजेको बजेकै ग¥यो । लगातर घन्टी बज्न थालेपछि मोबाइलाई साइलेन्टमा राखें ।
रेडियो खोलें । एफएमहरूले बागमतीको सुकुमबासी बस्तीलाई सरकारले डोजर लगाएर भत्काइरहेको छ भनेर समाचार प्रसारण गरिरहेका थिए ।
फेरि ओछ्यानमा गएर पल्टिएँ । पल्टिनु मात्रै न हो । हिजोको नरम लाग्ने ओछ्यान पनि काँडैकाँडाले बिझाएजस्तै भयो । शरीरमा चिटचिट पसिना आएजस्तो लाग्यो । फेरि उठें । मोबाइलको स्क्रिन हेरेँ । सुकुमबासी टोलका कमरेडहरूले गर्नुभएका मोबाइल कलहरूको लिस्ट धेरै लामो भइसकेको रहेछ ।
पार्टी शान्ति प्रक्रियामा आएपछि सुकुमबासीहरूको व्यवस्थापन ठूलो चुनौतीको रूपमा हाम्रा अघिल्तिर आयो । देशैभरि थियो यो समस्या । काठमाडांैभित्रका सुकुमबासीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारीसहित पार्टीले मेरो नेतृत्वमा एउटा टिम बनाइदियो ।
हाम्रा लागि यो काम कम चुनौतीपूर्ण थिएन । पार्टीमा संगठित भएका केही सुकुमबासी कमरेडहरूको सहयोगमा हामीले वास्तविक सुकुमबासीहरूको लगत लिन थाल्यौं । सुकुमबासीहरूको अवस्था धेरै विकराल थियो ।
काठमाडौंका धेरै सरकारी जग्गाहरूमा सुकुमबासीकै नाममा धनाढ्यहरूले कब्जा गरेर वसेका थिए । सरकारी उच्च ओहोदाका कर्मचारीहरू मात्र नभएर उच्च राजनीतिक प्रभावका आधारमा सरकारी जग्गा ओगटेर बसेका गैरसुकुमबासीहरूको संख्या पनि प्रशस्तै थियो ।
पार्टीले हामीलाई दिएको जिम्मेवारीलाई सहयोग गर्ने साथीहरू पनि प्रशस्तै थिए । वास्तविक सुकुमबासीहरूको समूहभित्र प्रवेश गरेपछि हामीले एउटा बेग्लै संसारमा प्रवेश गरेको वोध ग¥यौं ।
सुकुमबासी टोलभित्रै सुकुमबासी र गैरसुकुमबासीहरूको बीचमा ध्रुवीकरण भएको थियो । वास्तविक सुकुमबासीहरूलाई हामीले राम्ररी साथ दिएका थियौं । उनीहरूको पनि हामीप्रति राम्रो भरोसा र विश्वास थियो । सुकुमबासी टोलभित्रका गैरसुकुमबासीहरूले हाम्रो विरुद्धमा विभिन्न षडयन्त्रहरू गर्न थालेका सूचना हामीलाई प्राप्त हुन थालेको थियो । वास्तविक सुकुमबासीहरूको एकताले गैरसुकुमबासीहरू कमजोर भैरहेका थिए ।
मानिसहरू सुकुमबासी जीवनमा रूपान्तरित हुनुका पछाडि थुप्रै कारण हुन्थे । राम्रैसँग एक मानु खान पु¥याउनेहरू पनि पारिवारिक दुर्घटनाका कारणले यहाँ आइपुग्थे ।
बागमती किनारका सुकुमबासीसँगको सहकार्यका कारण देशैभरि छरिएर रहेका सुकुमबासीहरूसँगको सम्पर्क बढ्दै गयोे । एक प्रकारले भन्ने हो भने वास्तविक सुकुमबासीहरूको नेतृत्व हाम्रो पार्टी लिन सफल भएको थियो । यसैमा हामी गौरव गथ्र्यौं ।
०००
म बागमतीको पुलमाथि पुग्दा प्रहरी र सुकुमबासीहरूको बीचमा भिडन्त भइरहेको थियो । प्रहरी ज्यादतीले सीमा नाघिरहेको थियो । परैबाट देखें– कमरेड सरलाको सानो छोरो बच्चाहरूको एउटा समूह बनाएर डोजरमा ढुंगा हान्दै थियो । पुलिसहरू के बच्चा के बुढापाका, केही नभनी लाठी बर्साइरहेका थिए र तिनीहरूले क्रूरतापूर्वक घरटहराका सामान बागमती नदीमा फ्याँकिरहेका थिए ।
एक निमेषमा देख्दादेख्दै मानिसहरूको ठूलो संख्या बेघरबार भयो । मसँग अन्तरसम्बन्ध भएका सबै कामरेडहरू बेघरबार भएका थिए । भित्रैदेखि मन जोडिएका मान्छेहरूलाई परेको चोटले कति पोल्दो रहेछ भन्ने कुराको अनुभूति पनि मैले पहिलोपटक आजै गरें । आफ्नै पार्टी सरकारमा छ । उनीहरूले यो बारेमा मसँग छलफल गर्दा झनै पींडा थपिएको महसुस हुन्छ ।
‘म तपाईहरूसँगै छु र हुनेछु,’ यति मात्र उत्तर दिएर उनीहरूको गहिरो पीडामा मलम लगाउने प्रयत्न गरिरहेको छु ।
सक्नेले अलिअलि आफ्ना मालसामान उठाए । नसक्नेले त्यो पनि गर्न भ्याएनन् । पार्टी र सरकारले भयंकर गलत निर्णय लियो । यो घटनाले जनता र हाम्रो पार्टीको दूरी निकै लामो भएको छ ।
‘वास्तविक सुकुमबासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र वागमती किनारका सुकुमबासीहरू उठाउनुपर्छ,’ पार्टी कमिटीका तर्फबाट हामीले बारम्बार पार्टी नेतृत्व र सरकारलाई आग्रह गरेका थियौं ।
भत्किएको टहरोमा केही भेटिन्छ कि भनेर आफ्नो छोरालाई लिएर गएकी सरला मजेत्रोले आँसु पुछ्दै बागमती पुलतिर आउँदै थिइन् । त्यसैगरी आआफ्ना बच्चाहरूसहित पोकोपन्तुरो बोकेर आउँदै थिए कार्की बा, रजमान गुर्मछान, हरिदेव चौधरी, सुवास आलेलगायतका कमरेडहरू । यी सबै साथीहरूका अगाडि कसरी कुरा गर्ने ? मलाई फेरि अर्को पहाडले थिचेजस्तो महसुस भयो ।
पुलमास्तिरका मानिसहरूलाई प्रहरीले तितरवितर पार्दै थियो । म कमरेडहरूलाई भेटेर पुलको उत्तरी छेउतिर लागें । म उनहरूको पीडा छाम्ने उपयुक्त शब्द खोजिरहेको थिएँ । त्यति मात्र होइन, म आफैं पनि निराश थिएँ । आफंै हिँडिरहेको अघिल्तिरको बाटोमा एउटा अजङको पहरो तेर्सिएको बोध भइरहेको थियो ।
कस्तो सपना साँचेर हिँडियो । आफ्नो यात्राप्रति कत्रो विश्वास थियो । तर आफ्नै अगाडि चकनाचूर भएर फुटेको सिसाझैं सपना फुटिरहेको थियो ।
मलाई थाहा छ, सरलाको बस्ने ठाउँ कतै छैन । रामेछापमै हुर्केबढेकी मान्छे । बाबुआमाको अनुहारसम्म नदेखेकी टुहुरी । सानै हुँदा काकाकाकीहरूले सौता भएको घरमा एउटा अधबैंसे लोग्नेमान्छे खोजेर दिए । विवाह गरेर गएको घर उनका लागि एउटा यातनागृहभन्दा फरक भएन । गलैंचा काराखानामा काम गरौंला भन्दै केही वर्षअघि लोग्नेले काठमाडौं लिएर आए । साथमा दुई ससाना बच्चा थिए ।
एक दिन एकाबिहानै उनको लोग्ने उनीहरूलाई छोडेर बेपत्ता भए । उनले केही दिनसम्म आफ्नो गच्छेले भ्याएसम्म लोग्ने खोजिन् । उनले पछि कुरा बुझिन्—आफूलाई टाढा बनाउनके लागि उनको लोग्नेले काठमाडांै ल्याएर यो सब नाटक गरेका रहेछन् ।
केही दिन त काठमाडांैका सडक र गल्लीहरूमा माग्दै हिँडिन् उनी । एक दिन माग्दै हिँड्दा म चाबहिलको गणेशथाननेर एक जना गाउँले दिदीसँग भेट भयो । दिदीले आफूजस्तै गिट्टी कुटेर खाने सल्लाह दिइन् । मागेर खान उनलाई पनि पटक्कै मन थिएन । उनी पनि दिदीलाई पछ्याउँदै बल्खु किनारमा कर्म खोज्न गइन् ।
गएकै वर्ष खोलामा जेठो छोरो डुबेर म¥यो । त्यसपछि त उनलाई त्यस ठाउँमा बस्न मनै लागेन । तर के गर्ने ? बाध्यतै बाध्यताले डोरिएको जीवन उनको इच्छाअनुसार चल्ने कुरै थिएन । दुई वर्षजति बल्खु खोलामै गिटी कुटेपछि एक दिन उनले बागमती किनारमा टहरो हालेर बस्न पाइन्छ भन्ने गाइँगुइँ हल्ला सुनिन् ।
गिट्टी कुट्ने साथीहरूसँगै पछि लागेर सरला बागमती किनारको सुकुमबासी बस्तीमा आइपुगेकी थिइन् ।
कमरेड सरला छोराको हात समातेर मनजिकै आइन् र एकतमासले मलाई हेरिन् । सरला र मैले थापाथली पुलमा उभिएर फेरि एकपटक सुकुमबासी बस्तीतिर हेरेर सायद उनले आफ्नो जीवनको घाउ कोट्याइन् होली । पाप्रा बसिसकेको घाउ फेरि उप्किएर त्यहाँबाट ह्वाल्ह्वाल्ती रगत बगिरहेको होला । उनको अनुहार पढेर यस्तैयस्तै अनुमान गरें ।
बासविहीन कमरेडहरू केही नजिकका र केही टाढाका आफन्तहरूकहाँ जाने कुरा गरिरहेका थिए । कार्की बाले कुम्लो बोकेर रुँलाझैं गर्दै मलाई हेरे ।
‘सरला कमरेड हिँडनुस्, तपाई हाम्रै कोठामा जाउँ ।’ सरलाको आश्रय लिने ठाउँ कतै छैन भन्ने मलाई थाहा थियो ।
मैले सरलातिर फर्केर हेरें । बाग्मतीको पानीमा उनको आँसुका थोपाहरू खसेर कतै हराईरहेका थिए ।
‘म कहिले पनि नरुने मान्छे हुँ कमरेड, तर आज... ।’ हत्केलाले आँसु पुछ्दै भनिन् उनले ।
सरलाका खुसी र दुःखका दुवै अवस्थालाई मैले नजिकैवाट हेरिरहेको थिएँ । उनी पहिलोपटक पार्टीको सम्पर्कमा आएपछि बिछट्टै खुसी भएकी थिइन् ।
‘आजदेखि मलाई नयाँ जीवन प्राप्त भयो जस्तो लागेको छ ।’ पार्टी सदस्यता पाएको दिन उनले कार्यक्रममा उत्साहित हुँदै भनेकी थिइन् ।
त्यही मान्छे यता छोटो अवधिमा आज फेरि भन्दै छिन्—‘कमरेड ! अबचाहिँ मैले आफू साँच्चै हारेको महसुस गरें ।’
म निरुत्तर उनको कुरा सुन्दै बाटोमा हिँडिरहेको थिएँ र आफंै हिँडेको बाटोसँग आफैंलाई अविश्वास पैदा भइरहेको थियो ।
०००
सरला र उनको सात वर्षको छोरो शिवहरि पल्लो भान्साकोठामा सुतेका छन् । बीचमा प्लाइउडले बारेको छ । यतापट्टिको कोठामा हामी परिवार सुतेका छौं ।
‘आमा ! तपाईं त अब हामीले पहिलेको जस्तो अन्याय सहनु पर्दैन भन्नुहुन्थ्यो त,’ शिवहरिले सरलालाई सोधेको आवाज रातको सन्नाटालाई चिर्दै हामीसम्म आइपुग्यो । मेरी पत्नी सरिता पनि त्यो आवाज सुन्न झकझक्याउँदै थिइन् ।
‘म निदाएको छैन ।’ मैलै सरिताको कानमा खुसुक्क भनें ।
यो घटनाले मभित्र विभिन्न प्रश्नहरू खेलिरहेका थिए । मलाई पनि आज रातभरि निद्रा आएन ।
प्रतिकृया दिनुहोस