हजकै छेउबाट निकालेको पानी बेच्ने उद्योगको उत्पादन रोक्न निर्देशन

विराटनगर । विराटनगरमा प्रशोधित पानी उत्पादन गर्ने एउटा उद्योगको उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रोकिदिएको छ । पानीको गुणस्तरप्रति आशंका गर्दै प्राविधिक परीक्षणको नतिजा पछि मात्र उत्पादन सुचारु गर्ने गरी कार्यालयले मंगलबार उत्पादन रोक्न निर्देशन दिएको हो । 

विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ओम् जे.के. पानी उद्योग’को उत्पादन रोक्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । सेफ्टी ट्यांकी नजिकै बोरिङ्ग गरेर तानेको पानी पिउन योग्य नभएको आशंका गर्दै कार्यालयले नमुना परीक्षणकालागि लगेको छ । यस अघि सो कम्पनीको पानी परीक्षण गर्दा कोलिफर्म नामक जीवाणु फेला परेकोले पनि कार्यालयले उक्त कम्पनीमाथि निगरानी बढाएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो विराटनगरका विभिन्न प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरुको अनुगमन गरेको थियो । त्यस क्रममा जे.के. पानी उद्योग पुगेको टोलीले हजकै छेउमा पानीको बोरिङ्ग गरेको भेटाएको थियो । सो कम्पनीले उत्पादन गर्ने ‘एच टू’ ब्राण्डको पानीको उत्पादन र बिक्री वितरण केही समयकालागि रोकिएको हो । 

खाद्य निरीक्षक शंङ्कर न्यौपानेको नेतृत्वमा गरेको अनुगमनको क्रममा हज नजिक बोरिङ्ग मेसिन राखिएको फेला परेपछि कार्यालयले दुई थान प्रशोधित पानीसहितको जार ल्याव परीक्षणको लगेको थियो । 

‘नमुना संकलन गरि दुई थान जार परीक्षणको लागि खाद्य प्रविधि कार्यालय लगिएको हो,’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘पानीमा दिशाको अंश हुँदा पानीमा कोलिफर्म देखिने गर्छ अनुगमनका क्रममा हज नजिकबाट पानी तानेको भेटिएपनि कोलिफर्मको आशंकामा उत्पादन रोक्न भनेका हौं ।’

पानी परीक्षणकालागि करिव ४८ घण्टा समय लाग्छ । रिपोर्ट आएपछि कोलिफर्म भए नभएको पुष्टि हुने र सोही अनुसार कार्यालयको कारवाही अघि बढ्ने उहाँले जानकारी दिनुभयो । सो उद्योग जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशलेन्द्र कुमार कर्णले संचालन गर्दै आउनुभएको छ । 
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडी हात धुने बेसन, जार सफा गर्ने प्रयाप्त ठाउँ र खुला ठाउँको अभाव भएको भन्दै संरचनागत सुधार गर्न पनि कार्यालयले निर्देशन दिएको छ । 

उद्योगका संचालक ओमप्रकाश राउतले दैनिक २ हजार देखि ३ हजार लिटर प्रशोधित पानी उत्पादन गरि बजारमा बिक्री गरिरहेको जानकारी दिएका छन् । 

यस अघि प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गत साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमनको क्रममा १३ वटा पानी उद्योगमा मानव स्वास्थ्यलाई गम्भिर असर गर्नेे ‘कोलीफर्म’ जीवाणु र पी.एच. कम भेटिएको थियो । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले महानगरपालिका भित्रको १३ वटा पानी उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको मुद्दा अहिले पनि बिचाराधीन अवस्थामा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर