चिम्पान्जी तस्करी गर्ने पाँचजनालाई जेल सजाय

काठमाडाै । काठमाडौं जिल्ला अदालतले नाइजेरियाको जंगलबाट बलजफ्ती समातेर तस्करले ल्याएका दुई चिम्पान्जी चिम्पु र चम्पाकाे तस्करी गर्ने पाँचजनालाई जेल सजाय सुनाएकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको इजलासले तस्करीमा संलग्न मुख्य अभियुक्तहरु पाकिस्तानी र भारतीय नागरिक तथा नेपालस्थित घरधनीलाई कसुरदार ठहर गर्दै जेल सजाय सुनाएको हो। १५ जनाले उन्मुक्ति पाएका छन् ।
अदालत श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार विदेशी नागरिक चार जनाका हकमा पाँच वर्ष कैदको फैसला भएको छ। न्यायाधीश थपलियाले तस्करी गरेर नेपाल ल्याइएका चिम्पान्जीसहित अन्य वन्यजन्तुलाई लुकाउन स्थान उपलब्ध गराउने तस्करीमा प्रत्यक्ष संलग्न घरधनी सञ्जिव भारीलाई दुई वर्ष ६ महिना कैद सजाय तोेकिएको छ।
भारतीय नागरिकहरु मोहम्मद फइम, मोहम्मद उस्मान, चाँदबाबु मोहम्मद शरिफ सहिद पाकिस्तानी नागरिक जाबेद अस्लाम खान र नेपाली सञ्जिव भारीका हकमा सजाय निर्धारण भएको हो। चिम्पु—चम्पालाई नाइजेरिया फर्काउने वा नेपालमै राख्ने विषय फैसलाको पूर्ण पाठमा आउनेछ।
श्रेष्तेदार श्रेष्ठका अनुसार सोमबार सजाय निर्धारण गर्नुअघि भदौ १७ मा बादी र प्रतिवादीका कानून व्यवसायीसँग सजाय कति गर्ने भनेर प्रतिवेदन माग गरिएको थियो। प्रतिवादी बनाइएका नवराज चौलागाई, गणेश बहादुर खतिवडा, राजेश कुमार बैद्य, लिलादेवी पनेरु, बसन्तराज ढकाल, प्रकाश गौतमलाई अदालतले सफाई दिइएको छ। यसैगरी प्रल्हादबहादुर खड्का, पार्वता पोखरेल सिटौला, चुडामणि दाहाल, तुल्सीराम बस्याल, आशुतोष राई, उदयसिंह विष्ट, विष्णुप्रसाद अर्याल, राजकुमार तिवारी र धिरेन्द्र बहादुर शाहलाई अदालतले सफाई दिएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कक्ष र पशु क्वारेन्टाइनका अधिकारीहरुको सहयोगमा तस्करी भएर काठमाडौं भित्रिएका दुई चिम्पान्जी चिम्पु र चम्पासहित अन्य वन्यजन्तुलाई २०७४ असोज ३१ मा बाँसबारीस्थित सञ्जिव भारीको घरमा छापा मारी नियन्त्रणमा लिएको थियो। ब्युरोले विमानस्थलबाट बाहिरिएका बाकसहरुमा एक जोडी दुर्लभ चिम्पान्जीसहित, बाँदर, गोल्डेन फेजन चरा, रिङनेट फेजन चरा, परेवा र सुगा फेला पारेको थियो।
ब्युरोले थालेको अनुसन्धानमा तत्काल सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चांदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खान पक्राउ परेका थिए। यी ६ जनाको बयानले २०७४ कार्तिक २९ चुडामणि दाहाल र सोही वर्ष मंसिर ६ मा धिरेन्द्रबहादुर शाह पक्राउ परेका थिए। दुवैजना भन्सार कर्मचारी हुन्।
२०७४ पुसको पहिलो साता थुनछेक भएको मुद्दा २०७५ असार २१ देखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन थियो। वनले बुझाएको मुद्दामा असार २१ बाट अदालती प्रक्रिया सुरु भएको थियो।
काठमाडौं जिल्ला अदालतमा २०७४ पुस ६ गते भएको थुनछेक बहसले प्रतिवादीहरु सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चांदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खानलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो। उनीहरु जगन्नाथ देवल सुन्धारा कारागारमा छन्।
अन्य प्रतिवादीहरु चुडामणि दाहाल र धिरेन्द्रबहादुर शाहलाई जनही दुई लाख पचास हजार र आशुतोष राईलाई पाँच लाख धरौटी माग भएको थियो। यस्तै राज कुमार तिवारी उच्च अदालत पाटनको आदेशले ५ लाख धरौटी बुझाएर छुटेका थिए।
प्रतिकृया दिनुहोस