• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महराविरुद्ध उजुरी दर्ता, अनुसन्धान अघि बढाउने प्रहरीको तयारी

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध उजुरी दर्ता भएको छ । बानेश्वर प्रहरी वृत्तमा पीडित भनिएकी संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले शनिबार बिहान प्रहरी वृत्तमा पुगेर निवेदन दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दियो । 

उजुरु परेसंगै प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । यसअघि बलात्कार प्रयासको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीले सो सम्बन्धमा छानबिन अगाडी बढाएको थियो । पीडित भनिएकी शाहीले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए। रोशनी र उनका श्रीमान् दुवै आएर शनिबार महरा विरुद्ध किटानी जाहेरी दिएका हुन्। रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको  छ। बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए।  

महरामाथी अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशन – गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । शुक्रवार नगर प्रहरी कार्यालयमा बसेको गृहमन्त्री थापासहितको बैठकमा निष्पक्ष भएर अनुसन्धान गर्न उनले प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएका थिए । 

बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयां बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए । 

गृहमन्त्री थापको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘घटनाको निष्पक्ष अनुसन्धान गर्नुहोस्, अनुसन्धान गर्दा कसैसंग डराउनु पर्दैन् । ’ उनले वैठकमा आफ्नालाई भाईले प्रहरीले पक्राउ गरेको प्रसंग उठाउंदै त्यसैगरी घटनाको छानविन गर्न निर्देशन दिएका थिए  । 

महराको घटनाको अनुसन्धान आईजिपी खनालकै नेतृत्वमा जारी छ । मन्त्री थापालाई उनले घटनाको बिफ्रिङ समेत गरेका थिए । 

प्रहरीकोमा मुद्दा दर्ता भइसकेपछि प्रहरीले अदालतको आदेश लिएर पक्राउ गर्ने तयारी गरेको छ । महरालाई हिरासतमै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने निर्णयमा प्रहरी पुगिनसके स्राेतकाे भनाइ छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर