अपराधी प्रहरीभन्दा एक कदम अगाडी : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले अपराधीहरु  यहाँ प्रहरी भन्दा एक कदम अगाडी रहेकाले शान्ति सुरक्षा कायम गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित ६४औँ प्रहरी दिवसको अवसरमा प्रदेश दुई प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले अपराधीहरु प्रहरीलाई छल्दै एक कदम अगाडी अहिले रहेकोले शान्ति सुरक्षा कायम राखी राख्न चुनौतीपूर्ण रहेको बताए ।

उनले पुरानै प्रविधि, पुरानै शैली र पुरानै विधिको प्रयोग गरी शान्ति सुरक्षा कायम गर्न नसकिने बताए । उनले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नका लागि आधुनिक विधिको प्रयोग गरी मानवअधिकारको ख्याल गर्दै कानूनले दिएको अधिकार बमोजिम कार्य गर्न प्रहरीलाई निर्देशन दिए ।

अन्य प्रदेश भन्दा प्रदेश दुईमा शान्ति सुरक्षा अवस्था चुनौती निकै बढेकाले यस तर्फ संघीय, प्रदेश र स्थानीय तह गरी तीन वटै निकायको समन्वय आवश्यकता रहेको औल्याए ।

उनले प्रादेशिक संरचनामा मुलुक गईसकेकोले नयाँ संरचना अनुसार नयाँ विधि, नवीनतम शैली र आधुनिक प्रविधिको प्रयोगले मात्रै अपराध न्यून हुनसक्ने बताए ।

उनले प्रदेश दुईले छिट्टै नै प्रहरी विधेयक लागु गरी यस प्र्रदेशको शान्ति सुरक्षा देखि शासन प्रशासन चलाउन सहज हुने स्पष्ट गरे । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारले ल्याएको संघीय प्रहरी ऐन प्रमाणिकरण नभएकाले प्रदेश प्रहरी विधेयक लागु गर्न समस्या भईरहेको बताए । उनले संघीय सरकारले प्रहरी सम्बन्धी ऐन प्रमाणिकरण नगर्दा प्रदेशको शान्ति सुरक्षाको अवस्थामा खलल पुगिरहेको भन्दै तत्काल संघीय सरकारलाई यसमा ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा सगरमाथा बेस क्याम्प सम्म साईकलले यात्रा गरेका रञ्जित साह, धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की, प्रदेश दुई प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतो, सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, महोत्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद बुढाथोकी, दर्जनौँ समाजसेवी लगायतलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर