• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विदेशबाट फर्किएर स्थानीय जातको कुखुरापालन

पाल्पा । मानिसहरू वदेशिक रोजगारीका लागि विदेशिने क्रम चलिरहँदा पाल्पाका एक युवा भने विदेशबाट फर्केर स्थानीय जातका (लोकल) कुखुराको व्यावसाय सुरु गरेका छन् ।

पाल्पामा स्थानीय जातको कुखुरा हराउन लागेका बेला फेक घर भएका रामबहादुर रायमाझीले भने त्यसको संरक्षणसँगै व्यावासायिक रूपमा कुखुरापलन सुरु गरेका हुन् । लोकल कुखुराको माग दैनिक बढ्दै गएका बेला व्यावसायिक कुखुरापालनबाट राम्रो आम्दानीसमेत हुने गरेको उनले बताए । मन्दिरमा बलि चडाउनका लागि समेत स्थानीय जातको कुखुराको अभाव भएको बेला व्यवसाय सुरु भएपछि भने सहज भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको फेकका रामबहादुर रायमाझीले वडा नम्बर ७ मा पाँच रोपनी जग्गा भाडामा लिएर लोकल कुखुराको संरक्षणसँगै व्यवसायमार्फत राम्रो आम्दानी गर्न सफल भएका हुन् । एक दशकभन्दा बढी विदेशमा काम गरेर नेपाल फर्केका रायमाझीले अहिले फार्म बनाएर लोकल कुखुरा पालेका छन् । 

सुरुमा बजारको केही कमी भए पनि अहिले भने फर्मबाटै कुखुरा बिक्री हुने गरेको उनी बताउँछन् । एक हजार लोकल कुखुराबाट सुरु गरेको व्यवसायबाट उनले एक वर्ष नहुँदै करिब पाँच लाख बढी मूल्यको कुखुरा बिक्री गरिसकेका छन् ।

उन्नत जातको कुखुराको बजारका लागि परनिर्भर हुनुपर्ने, रोगको संक्रमण बढी हुने भएकाले स्थानीय जातको कुखुराको बजारमा माग बढी हुने गरेको छ । उन्नत जातको तुलनामा दोब्बर मूल्यमा स्थानीय जातको कुखुरा बिक्री गर्न सकिने भएकाले यो व्यवसायले फाइदा हुने स्थानीय बताउँछन् । गाउँमै लोकल कुखुरा पाइने भएपछि मन्दिरमा कुखुराको बलि दिन सहज भएको स्थानीयको बुझाइ छ  ।

उन्नत जातको तुलनामा स्थानीय जातको कुखुराको मासु र अण्डाको मूल्यसमेत दोब्बर मूल्यमा बिक्री हुन्छ । काम र दामको खोजीमा बिदेसिने युवाका लागि रामबहादुरले गरेको यो कार्य उदाहरणीय हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर