सुदूरपश्चिममा उप  निर्वाचनको तयारी पूरा, २१ उम्मेदवार मैदानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा भोलि हुने उप–निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेशका ५ जिल्लामा सात वडा अध्यक्ष पदका लागी चुनाव हुँदै छ । उप निर्वाचनका लागी सुदूरपश्चिममा १२ स्थल र १५ केन्द्र तोकिएका छन् ।

निर्वाचन हुने सम्पूर्ण स्थानमा मतपत्र पुगिसकेको र आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । ७ वटा रिक्त वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १० हजार ९ सय ३७ मतदाताले भाग लिन पाउने छन् । भोलि बिहान सात बजे देखी साँझ ५ बजे सम्म मतदान हुनेछ ।


सुदूरपश्चिम प्रदेशको बैतडीमा सबै भन्दा बढी तिन स्थानीय तहका तिन वडा अध्यक्षको लागी निर्वाचन हुँदैछ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर –४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेकाले उप निर्वाचन हुन लागेको बैतडीका जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिए ।

उप निर्वाचनको लागी आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए । उनले भने ११ गते नै ६ वटा मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली खटिसकेको थियो । उनले थपे, हाल सम्म मतदान केन्द्र निर्माण गर्ने,मतदाता परिचय पत्र वितरण लगायतको सबै काम सकिसकेको छ ।

उपनिर्वाचनका लागि बैतडीमा सुरक्षाकर्मीसहित करिब ४५० जनशक्ति परिचालन गरिएको छ। उप निर्वाचन हुने दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ । सुर्नया गाउँपालिका–१ को साबिकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ । यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको उनले बताए ।

उप निर्वाचनमा तीनवटै वडामा गरी महिलाभन्दा ११० पुरुष मतदाता बढी रहेका छन् ्। कूल चार हजार ३३६ मतदाता रहेकामा दुई हजार २२३ पुरुष र दुई हजार ११३ महिला मतदाता रहेको निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षको लागी चुनाव हुँदै छ । डोटीमा एकै स्थानमा चुनाव भए पनि सबै भन्दा बढी २४ सय ६९ मतदाता यही छन् ।

डोटीमा पनि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख दलबहादुर मलासीले बताए । शनिवार बिहान सात बजेबाट मतदान सुरु हुने उनले जानकारी दिए ।

आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्ने कार्य सकिएको उनले बताए ।

निर्वाचनका लागि शारदा मावि मौवानगरदह, कोटान्जर मावि, कोटान्जर तथा साउदकडा माविलाई मतदानस्थल तोकिएको छ । जिप दुर्घटनामा परी तत्कालीन वडाध्यक्ष प्रेम बोहराको निधन भएपछि अहिले उप निर्वाचन हुन लागेको हो ।
कञ्चपुरको एक स्थानमा उप निर्वाचन हुँदै छ ।

पुर्नवास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन स्थलमा सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीसहितको टोली निर्वाचन सामग्री लिएर पुगेको छ । उपनिर्वाचनका लागि गोरखा माध्यमिक विद्यालयमा राखिएको मतदान स्थलमा दुई मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपलाप्रसाद बाँस्तोलाले जानकारी दिए ।

एक हजार एक ९९ मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन्। ‘क’ मतदान केन्द्रमा ६१६ र ‘ख’ मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको छ। कञ्चनपुर,डोटी,बैतडी,अछाम र बाजुरा गरी पाँच जिल्लाबाट सात स्थानमा वडा अध्यक्षको लागी शनिवार मङ्सिर १४ गते उप निर्वाचन हुँदै छ ।

उप निर्वाचन हुने सातवटै स्थानमा आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको साबिकको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाइको छ । हाल संरचना परिवर्तन भए सँगै प्रत्येक जिल्लामा जिल्ला निर्वाचन कार्यालय छन् तर प्रदेशस्तरिय निर्वाचन कार्यालय खोलिएको छैन ।

प्रदेश स्तरयि संरचना नभए पनि प्रदेशका सबै जिल्ला हेरीरहेको जिल्ला निर्वाचन कार्यालय कैलाली प्रमुख प्रेमराज भट्टले उप निर्वाचनमा १० हजार ९ सय ३७ मतदाताले भाग लिन पाउने जानकारी दिए । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर– १ मा वडा अध्यक्ष पदका लागी हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भट्टले बताए ।

उप निर्वाचन सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात स्थानमा हुँदैछ । ् बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर –४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ ।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिंह बोहरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भइसकेकाले उप निर्वाचन हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशका अन्य स्थानमा वडा अध्यक्षको मृत्यु पछि पद रिक्त भए पनि कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्चित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुन लागेको हो ।

शनिवार बिहान सात बजेबाट साँझ ५ बजे सम्म मतदान जारी रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर