• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपाली आकाशमा भए ४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना

काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा दुर्घटना बढ्दो रहेको छ । एक वर्षका अन्तरालमा नेपाली आकाशमा एकसय भन्दा बढीले ज्यान गुमाएका छन् भने तीनवटा दुर्घटना भएका छन्  । 

२०७९ जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा  १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो भने गत माघ १ गते आइतवार काठमाडौबाट पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जनाको निधन भएको थियो  । मानवीय क्षतिका हिसाबले नेपाली आकाशमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो । 

। नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् । योसँगै नेपालमा हवाई दुर्घटनाको संख्या १ सय ५ पुगेको छ । नेपाली आकाशमा भएका हेलीकप्टर दुर्घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई, पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत अति विशिष्ट व्यक्तिहरुले पनि ज्यान गुमाएका छन् ।

१९ हेलीकप्टर दुर्घटनामा हाल सम्म ९४ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् । त्यसबाहेकका २१ दुर्घटनामा भने पाइलट तथा यात्रु सामान्य घाइते भएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांकअनुसार मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा लामटाङमा भएको थियो । अति विशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

मानवीय क्षति हुने गरी दोस्रो दुर्घटना ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा भयो । कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।

यस्तै, तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर १९९८ अक्टोबर २४ मा मूलखर्कमा दुर्घटना भएको थियो । बाँकी ३० हेलिकोप्टर दुर्घटना सन् २००० यता भएको क्यानले एभिएसन सेफ्टी रिपोर्ट– २०२२ मा उल्लेख गरेको छ ।

२००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकोप्टर रारातालमा खस्दा चारजनाको मृत्यु भएको थियो । रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । अत्यन्तै रहस्यमय मानिएको सो दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन भएको थियो । 

त्यस्तै,  २००२ सेप्टेम्बर ३०  मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।  क्यानको तथ्यांकअनुसार २००३ मे २८ मा सिम्रिक एयरको हेलिकोप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । 

यसैगरी २००५ जनवरी ५ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको थियो । यी दुई दुर्घटनाको बीचमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा पनि दुईजनाको ज्यान गएको छ । तर, क्यानसँग कुन मितिमा र कुन ठाउँमा दुर्घटना भएको हो भन्ने एकिन विवरण नै रहेको छैन । 

त्यस्तै, २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा अहिलेसम्मकै धेरै २४ जनाको मृत्यु भएको थियो  । यो दुर्घटनामा तत्कालीन राज्य मन्त्री गोपाल राई लगायत २४ सम्रक्षणविद्हरुको ज्यान गएको थियो ।

 २०१० नोभेम्बर ७ मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटना हुँदा दुईजनाको ज्यन गएको थियो । २०१३ जुन १९ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो ।  २०१५ मे  मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । 

यसैगरी २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा चारजना,  २०१६ अगस्ट ८ मा फिस्टेलको हेलिकोप्टर नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो ।

यसैगरी २०१८ अगस्ट १४ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र २०१८ सेप्टेम्बर ८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानको तथ्यांक छ ।

त्यस्तै, २०१९ फेबु्रअरी २७ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नियामक निकाय क्यानका तत्कालीन उपमहानिर्देशक एवं प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, एयरलाइन्स कम्पनीकै (यती र तारा) मालिक आङछिरिङ शेर्पासहितको निधन भएको थियो ।

पछिल्लोपटक शुक्रबार २०२३ मे ५ मा सिम्रिक एयरको कलसाइन नाइनएन–एजेजेड हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिका– ४ सिप्रुङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । याे दुर्घटनामा तीनजना घाइते भएका छन् ।

विसं २००६ सालदेखि हवाई उडान सुरु भएको नेपालमा अहिलेसम्म १ सय ४ वटा विमान दुर्घटना भएका छन् । नेपाली आकाशमा भएका यी दुर्घटनाका कारण कतिपयले नेपाली आकाश असुरक्षित महसुस गर्न थालेका छन् । नेपाली आकाशमा हाल सम्म भएका दुर्घटनामा आठ सय बढीले ज्यान गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर