• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

पहिचानका लागि कतिबपटक बलीदान ?

नेपालमा पहिचानको लागि पटकपटक आन्दोलन भएका छन् । पटक–पटक गरेर हजारौंको बलीदानी भएको छ ।  पछिल्लो समय भएको तत्कालीन माओवादी जनयुद्धमा मात्रै १७ हजार भन्दा बढी आमाको कोख रित्तीयो । हजारौंको सिन्दुर पुछियो र हजारौं छोराछोरी टुहुरा भए । फलतः जनयुद्धको जगमा भएको २०६२/ ०६३ को १९ दिने दोस्रो जनआन्दोलनले देशमा परिवर्तन भयो ।

देशमा दुईपटक सविधान सभाको निर्वाचन पश्चात नेपालको संविधान जारी भयो । तत्पश्चात देशमा सघियता लागु भयो अधिकार सम्पन्न स्थानीय तह र प्रदेश बनाइए । स्थानीय तहहरुमा कतिपय स्थानीय तहहरुले भुगोल तथा आफ्नो सभ्यताको पहिचान दिँदै नामाङ्कन गरे भने प्रदेशको नामाङ्कन ढिला भयो यसमा पनि प्रदेश १ को नामाङ्कन ‘कोशी’ भएको एक महिनामात्र भएको छ । प्रदेशसभाबाट प्रदेश एकको नाम कोशी राखियो । यो दिन आफु कोशी नामका विपक्षमा रहेको धारणा धेरैले सार्वजनिक गरेके थिए ।

पहिचानका आधारमा प्रदेश एकको नामाङ्कन हुनु पर्ने माग गर्दै प्रदेश १ मा विगत लामो समय देखी आन्दोलन भइ रहेको अवस्थामा प्रदेश सरकारले जनताको मनोभावना नबुझी प्रदेशको नामाङ्कन गरेपछि प्रदेश भरी यतिबेला आगोको झिल्काले ज्वालाको रुप लिन थालेको छ ।

मूख्यमन्त्री देखी दलका नेतामाथि आक्रमण प्रयास

प्रदेशको नामाङ्कन पुन गर्नुपर्ने माग राख्दै प्रदेशभरी आन्दोलन भइरहेको अवस्थामा प्रदेश एकका मूख्य मन्त्री हिक्मतकुमार कार्की माथिल्लो सगरमाथा भ्रमणमा निस्किए । उनलाई ओखलढुंगामा अवरोध गर्नुका साथै गाडीमा रहेका झण्डा फाल्दै आन्दोलनकारीले चैत ६ गते उनीमाथि आक्रमण प्रयास समेत भयो ।

यसै गरी नेकपा माओवादी केन्द्र प्रदेशएकका संसदिय दलका इन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । चैत ७ गते पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा उनी सवार गाडीमा ढुङ्गा प्रहार भएको थियाे । ढुङ्गाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेका थियो ।

निरन्तर आन्दोलन

प्रदेश एकको पुनः नामाङ्कन हुनु पर्ने माग गर्दै प्रदेश भर आन्दोलन जारी रहेको छ । हरेक स्थानीय तहमा कोशी लेखीएका साइनबोर्ड फाल्ने देखी कार्यालयमा ताला गाउने कार्य निरन्तर भइ रहेको छ । सबैको माग रहेको छ प्रदेशको नाम पहिचानका आधारमा यहाँको किरात सम्यताका आधारमा हुनु पर्छ भन्ने रहेको छ । आन्दोलनकै क्रममा घाइते पदम लिम्बुको ज्यान गएको छ । उनलाई सरकारले शहिद घोषण गरेको छ तर, अझै पनि पहिचानका लागि आम नेपालीले कति पटक लड्ने प्रश्न यो रहेको छ । पहिचान र स्वतन्त्रताका लागि यहाँ धेरै पटक हतियार समेत उठेका भए पनि अझै पहिचानका लागि लडी रहनु पर्ने अवस्था सिर्जना भएको छ ।

के हाे किरात सभ्याता ?

ऐतिहासिक ग्रन्थहरुको आधारमा किरात एउटा भूगोल हो, संस्कृति र सभ्यता हो भन्ने सत्य कुरालाई स्वीकार्न सक्नु पर्छ । यो तथ्यलाई धेरै अध्ययनले प्रमाणित गरेको छ । स्वदेशी तथा विदेशी सबै खाले इतिहासकार, अन्वेषक र अध्येताहरु यो कुरासँग सहमत रहेका छन् । महाभारतर रामायण जस्तो स्मृतिग्रन्थको आधारमा १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न सकिन्छ । महाभारतको सभापर्व ९१४।२०० मा बङ्ग, पुण्ड्र किरातेषु राजा बलसमन्वितः पौण्ड्र वासुदेवेत्ति योऽसौ लोकेऽविमिश्रुतः अर्थात् किरात राजा बलीको अधीनतामा बङ्ग, पुण्ड्र जस्ता मगध देश रहेको देखिन्छ । पूर्वी नेपालको धेरै जसो भाग बङ्ग (बङ्गाल), पुण्ड्र ९पूर्णिया० र विराटनगर (मत्स्य देश) अन्तर्गत पर्दथे । राजा विराटलाई किरात राजा मानिन्छ । त्यसैले विराट राज्यलाई पनि किरात देश भनिन्थ्यो ।

महाभारतकैं अर्को प्रसँगमा भीमले विदेह राज्य उत्तर रहेको सात किरात देशलाई जितेको पाइन्छ । तसर्थ सात किरात देश पूर्वी नेपाल हो भन्ने कुरा अर्थ गहिरिने हो भने किरात शब्दले कुनै एक खास जातीलाई नकार्दै भूगोल र सभ्यतालाई संकेत गर्दछ । किनभने यस भूगोलमा बस्ने सबैलाई किरात भनिएको छ । महाभारतकालीन ३६५ जाति वा राष्ट्रका भूगोलको रेखाकंन गर्ने हो भने प्रस्ट छ यो किरात भूमि हो । यसैमा कसैले पनि दुई मत राख्न सक्दैनन् । त्यसैगरी अर्को स्मृतिग्रन्थ रामायणमा पनि वालकाण्डले पनि अहिले चर्चामा रहेको क्षेत्रलाई स्पष्ट रुपमा किरात प्रदेश हो भनेको पाइन्छ । किनभने यो प्रदेशमा ऋषि कौशिक (विश्वामित्र) तपको लागि आएका छन् ।

उनले त्यसबेला यस भूमिलाई म्लेच्छ भूमिका रुपमा भिल्ल किरात सभ्यता र संस्कार भएको भूमिका रुपमा व्याख्या गरेका छन । जुन बेला अहिलेको कोसीलाई खुसी भन्ने चलन थियो । खुसी आजपर्यन्त कोसीको पर्यायवाची किरात शब्द हो भनेर बुझ्नु पर्छ । ऋषि कौशिकको आगमनपछि आर्यकृत हुँदै खुसी कोसीमा रुपान्तर भएको देखिन्छ । अहिले पनि व्यक्तिको नामबाट कतिपय टोल, गाउँ वा सहरको नाम राख्ने चलन छ । व्यक्तिको काम वा व्यक्तित्वको सम्झना गर्दै कुशिकबाट कौशिक हुँदै कोसी भएको दाबी गर्दा त्यसभन्दा अघिदेखि बसोबास गर्दै आएकाहरुले के सम्झने ? के अपनत्व लिने भन्ने गम्भीर प्रश्न खडा हुन सक्छ ।

तसर्थ ऐतिहासिक ग्रन्थहरुको आधार मान्दा पनि प्रदेशलाई कोसी होइन किरात भन्दा अलिक न्यायोचित हुन्छ भन्न सकिन्छ । ख्यातिप्राप्त फ्रान्सेली विद्वान सिल्भाँ लेभी ‘नेपाल हिन्दू अधिराज्यको इतिहास (जुन २००८ः८२० ’ लेख्छन, ‘गङ्गाजीको मुहानदेखि, हिमालयको समथर भागका छिमेकी मुलुकको सिमानासम्मका सबै किराँतीहरु भए । पछि किराँतीहरु पूर्वी नेपालको पहाडी भागमा मात्र सिमित हुन पुगे ।’ हो, यो भूगोलमा बस्ने आर्य हुन कि अनार्य हुन सबै किराती हुन् भन्ने कुरा आत्मसाथ गर्न आवश्यक छ ।

किनभने किरात कुनै जात विशेष होइन, भूगोल र सभ्यता हो भन्ने कुरामा इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, योगी नरहरिनथा, ज्ञानमणि नेपालदेखि कानूनविद् युवराज सङ्ग्रौला, साहित्यकार चेतनाथ धमलालगात लाखौं सहमति राख्छन् । पुरातात्विक प्रमाण, ऐतिहासिक दस्तावेजहरुले पनि यसैलाई प्रमाणित गर्छन । ग्रीक तथा रोमन ऐतिहासिक आलेखहरुमा यस क्षेत्रका वासिन्दाहरुलाई किराडोस वा किर्राडाई अर्थात् किरात भनेको पाएको छ ।

ग्रीसेलीलगायतका विदेशी अभिलेखहरुले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई किरात भनेको कुरा पुष्टि हुन्छ । तसर्थ किरात शब्दलाई जातीय पगर घुसाएर संकुचन गर्न आवश्यक छैन् । यो कुरा आफैप्रति धोका हो भनेर बुझ्न आवश्यक छ । अर्का विद्वान् सुनितिकुमार चटर्जी (किरात जनकीर्ति १९९८ स् ३६–३७) लेख्छन, ‘ईसापूर्व ५०० देखि इस्वी सन् ४०० सम्म, जब महाभारत र रामायण जस्ता ग्रन्थहरुले आकार लिदैं थिए, विशेष गरी ईसापूर्वका शताब्दीहरुमा, तिनिहरु हिमालयको दक्षिणी भूभाग र सम्पूर्ण उत्तर पूर्वी भारत, नेपालसँग जोडिएका उत्तर बिहार, गंगाको उत्तर, बंगालको ठूलो भूभाग र आसाम (जुन पद्मा वा पड्दा नदी हुँदै समुन्द्रमा मिसिन्छ ) ती खासगरी पूर्वी नेपाल र लौहित्य वा ब्रम्हपुत्र उपत्यकासँग जोडिएका थिए।

अर्थात् अहिलेको एक नम्बर प्रदेशमा बस्ने सबैलाई किरातको रुपमा पहिचान गरिन्थ्यो । यो ऐतिहासिक तथा पुरातात्विक पहिचानका आधारहरुलाई काट्न सक्ने ल्याकत कसैसँग छैन् । कोदो तर्क गर्नेहरु वहस र छलफलका महाभारत र रामायण अनि इन्डिका जस्ता ऐतिहासिक ग्रन्थ लिएर छलफलमा आउन र सावित गरुन किरात होइन अरु कुनै नाम थियो भनेर । होइन भने कोदो तर्क गर्नुको कुनै तुक छैन । र, अझैं पनि कतिपय भन्छन् किरात जात हो । महाभारतमा त एउटा निश्चित भूगोलभित्र बसोबास गर्ने संस्कार र संस्कृति अनि सभ्यता भएका जाति वा समुदायको समष्टिगत पहिचानको रुपमा ‘किरातनाम् च जातयः’ उल्लेख गरेको पाइन्छ । अब यो पनि होइन भन्ने हो भने तिनले मुलुकको हित होइन मुलुकलाई विखण्डन र अशान्तितर्फ मोड्दैछन भन्ने कुरा  हेक्का राख्दा  हुन्छ ।

एउटा अभिलेख २००२ सालको जुन बेला माझ किरातको जग्गा जमीनको आधिकारिताको लागि सिरानमा किरात लेखिन्थ्यो त्यसलाई यहाँ हेराैं । किरात होइन भन्नेहरुले धेरै दृष्टिकोणबाट यसलाई विश्लेषण गरुन, भन्ने आग्रह गर्दै किरात नाम नैं उचित रहेकाे छ ।

भारत मधुवनीबाट झिकाएका कायस्थले लेखेको यो कागजमा ‘माझ किरात माल’ उल्लेख छ, उदयपुर, सिराहा, सप्तरी, खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु जिल्लाका कागजातमा, त्यसैगरी लिम्बूवान भनिएका कागजातहरुमा सिरानमा पल्लो किरात भन्ने उल्लेख भएको छ । यतिका प्रमाणलाई पनि मान्य नहुने हो भने हाम्रा विधायकहरुले आफ्नो भविष्य सुरक्षित गर्न तयार रहेनछ्, आफ्नो बाहेक जनताको भलो सोच्दैनन् भन्ने देखिन्छ । यी कागजातका आधारमा पनि यो प्रदेशको नाम किरात हुनु उचित देखिन्छ ।

 

प्रसङ्ग नम्बर १ः
पहाडमा हाम्रो पितापुर्खा उहिले सेन राजाका पालादेखि बिर्तावाल थिए । बिर्तावाल भएका कारण हाम्रा पुर्खामध्येका केही अगुवालाई राजदरबारले विभिन्न पत्र पठाइरहन्थ्यो । यो क्रम शाह राजा र राणाशासनमा पनि भएको पुराना कागजपत्र अहिले पनि कतिपय स्थानमा सहजै देख्न सकिन्छ । दरबारबाट प्राप्त ती पत्रमध्ये केहीमा माझकिरात गोगने बिर्ता लेखिएको छ ।

स्मरणीय छ, त्यस वेला शाह र राणाशासकले काठमाडौँ पूर्वको पहाडी भूभागलाई तीन वटा ‘किरात जिल्ला’–मा विभक्त गरेका थिए । अहिलेको इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको भूभागलाई पल्लो किरात नामकरण गरिएको थियो । त्यस्तै खोटाङ र भोजपुर ओखलढुंगा क्षेत्रलाई माझ किरात भनिन्थ्यो भने सिन्धुली, रामेछाप लगायतका जिल्लाको भूभाग ओल्लो किरातका रुपमा कहलिएको थियो । त्यति बेलाका निरङ्कुश, तानाशाही राणा र शाह शासकले पनि यसरी पहिचानका आधारमा देशका जिल्लाको नामकरण गरेको इतिहास हामीले पाइरहेका छौँ ।

यहाँनिर प्रश्न के छ भने खै त्यति वेला ओल्लो किरात, पल्लो किरात र माझ किरात लेख्ता साम्प्रदायिकता, जातीयता र अन्य समस्याहरू थिएनन् त ? त्यस्ता निरङ्कुश र तानाशाह शासकले पनि जिल्लाका नामकरण गर्दा पहिचानलाई मान्यता दिएका रहेछन् त रु अहिले सङ्घीय गणतन्त्र नेपालमा चाहिँ किन पहिचानका आधारमा प्रदेशको नामकरण गर्न अप्ठ्यारो परेको हो रु जबकि सङ्घीयताको एक मर्म भनेकै पहिचान पनि हो ।

अझै पनि बुढापाकाहरुले हामी माझकिरातको पानी खाएर हुर्केका हौँ । हामीले कसैसित दब्नु हुँदैन भनेर पछिल्लो पूस्तालाई भनि रहेका छन् । यसो भन्दै गर्दा पनि जातीय हीनता प्रकट भएको कतै देखिँदैन । बरु माझकिरात भन्दा गर्वले छाती फुलेर आउँछ । त्यसैले अहिले पनि यस प्रदेशको नाम कोशीबाट किरातमा परिवर्तन गरिनुपर्छ भन्ने पक्षमा हामी रहेका छौं ।

प्रसङ्ग २ः

सन् १९४७ अगस्त १५ का दिन भारत स्वतन्त्र भएपछि लगत्तै पाकिस्तान टुक्रियो । पाकिस्तान टुक्रिएर गएपछि फेरि टुक्रियो र २ देश बने– बङ्गलादेश र पाकिस्तान । तर भारत अहिलेसम्म ज्युँका त्युँ छ, टुक्रिएको छैन । किन होला ? यस प्रश्नको सिधा जबाफ छ– किनकि भारतले आफ्ना प्रदेशको नामकरण गर्दा पहिचानलाई प्राथमिकता दिएको छ ।

यस विषयमा अलिकति चर्चा गरौँ । जस्तोकि, बङ्गालीबहुल क्षेत्रलाई पश्चिम बङ्गाल भनिएको छ । गुजरातीलाई गुजरात नाम दिइएको छ । ओड्रा जातिको बसोबास भएको प्रान्तलाई ओडिसा भनिएको छ । आन्ध्रा जातिको ठाउँलाई आन्ध्र प्रदेश र तामिल जातिको राज्यलाई तामिलनाडु नाम दिइएको छ । पछिल्लो समयमा आएर बनेको राज्यलाई पनि पहिचानकै आधारमा तेलाङ्गना बनाइएको छ । यस्तो नामकरण अङ्ग्रेज शासकले नै गरेका थिए । पछि नेहरूले यसलाई निरन्तरता दिए । भारत अहिलेसम्म एकबद्ध हुनुमा यही पहिचानका आधारमा राखिएको प्रान्तको नाम पनि हो भन्ने गरिन्छ ।

खोईत, त्यहाँ भारतमा पहिचानका आधारमा राज्य, प्रान्त र प्रदेशका नामकरण गरिँदा त्यहाँ कुनै हीनभाव देखिँदैन त ?

प्रसङ्ग ३ः

अब एक छिन पाकिस्तान र बङ्गलादेश किन टुक्रिए भन्ने विषयमा चर्चा गरौँ । भारत र पाकिस्तान टुक्रिनेबित्तिकै पाकिस्तानमा पूर्वी बङ्गालका नागरिकले आफ्नो छुट्टै राज्यको माग गर्न थाले । पूर्वी बङ्गालका नागरिकले त्यस प्रान्तलाई पाकिस्तान सरकारले औपचारिक रूपमा पूर्वी बङ्गाल राज्यको मान्यता दिनुपर्ने, पाकिस्तानको सेनामा पूर्वी बङ्गालका नागरिकको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, पूर्वी बङ्गालको राजस्व त्यही प्रदेशमा खर्च हुनुपर्ने र पूर्वी बङ्गालबाट भएको निर्यातबाट प्राप्त विदेशी मुद्रा पनि पूर्वी बङ्गालकै हुनुपर्ने जस्ता मागहरू राखेर आन्दोलन गरेका थिए । साथसाथै उनीहरूको एक प्रमुख मागमा पूर्वी बङ्गालको सरकारी भाषा बङ्गाली नै हुनुपर्ने भन्ने थियो ।

तर पाकिस्तान सरकारले यी कुनै माग सुनेन । बरु उल्टै १९५५ मा पूर्वी बङ्गालको नाम जबर्जस्ती बदलेर पूर्वी पाकिस्तान नामकरण ग¥यो । यसपछि पूर्वी बङ्गालमा ठुलो आन्दोलन चर्कियो । आन्दोलनले यति उग्र रूप धारण ग¥यो कि सन् १९७१ मा पाकिस्तान बङ्गलादेशलाई टुक्र्याउन बाध्य भयो । जानकारहरू भन्ने गर्छन्– यदि पाकिस्तानले पूर्वी बङ्गला नामकरण गरेर छुट्टै गणराज्यको मान्यता दिएको भए आजसम्म बङ्गलादेश पाकिस्तानभित्रै रहेको हुने थियो । त्यहाँको पहिचानको आन्दोलनलाई बलात् दबाउन खोज्दा परिणाम पृथक्तामा गएर बल्झियो ।

अहिले पनि किरात सभ्यतामा हुर्केका हामी के कुरामा दृढ छौं भने देश वा प्रदेश जे भन्नुस्, पहिले जनताको हो । अनि मात्रै नदी, पहाड, हिमाल, ढुङ्गा, माटो, ढिस्को, पोखरी, वनजङ्गल, मरुभूमि आदिको हो । यस प्रदेशको नाम किरात नराखी कोशी राखिनु महेन्द्रीय राष्ट्रवादको निन्दनीय अपराध हो ।

प्रदेश एक माझ किसात र पल्लो किरातमा रहेको छ । यहाँका हरेक नागरिक किरात सभ्यताका लागि लड्न तयार रहेका छन् र आफ्नो पहिचानका लागि माझ किसात र पल्लो किरातको पानी खाएको रगत नशानशामा भएका कारण पनि पहिचानका लागि यो अनितम लडाइ बनोस ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर