'त्यसैले रक्सी खानुपर्छ'

मन्दिर जान्न भने पाप लाग्छ
भट्टी जान्न भने पाप लाग्दैन
प्रसाद खान्न भने पाप लाग्छ
रक्सी खान्न भने पाप लाग्दैन
भट्टीको रक्सी त पक्का छ लाग्छ लाग्छ
मन्दिरको आशीर्वादको के ठेगान ? लाग्छ कि लाग्दैन
रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छ
रक्सी खानेले त्यस्तो भेदभाव गर्दैन
समानताको भावना जति भट्टी र रक्सीले जगाउँछ
त्यति मन्दिर, पूजा र प्रसादले जगाउँदैन
त्यसैले भट्टी जाने हो साथी, रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन .
धर्मले यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्छ
त्यस्तो आदेश गर्नकै लागि त घरमा श्रीमती हुँदै हुनुहुन्छ
रक्सी बिचराले त्यस्तो केही आदेश गर्दैन
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन .
कानुनबमोजिम काम नगरे झ्यालखान जानुपर्छ
रक्सीबमोजिम काम नगरे झ्लखान जान त पर्दैन
रक्सीको बोतलमा बाहिरै यसमा यति प्रतिशत रक्सी छ भनेर लेखेको हुन्छ
दूधको सिसीमा त्यति सूचना पनि लेखेको हुँदैन
रक्सीले बिस्तारै मानिस मार्छ भन्छन्, मलाई पो के हतार छ र ?
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन
घरघरमा रक्सी बनाए सरकारले पुलिस पठाएर समाउँछ
सट्टामा उसैले रक्सी बनाउन लगाउँछ र सर्वसुलभ बनाउँछ
तपाईं नै भन्नुहोस्, जति सजिलै रक्सी दुर्गममा पनि पाउँछ
त्यति सजिलै जहाँ पनि जे पनि औषधि कसले किन्न पाउँछ ?
त्यसैले जे सजिलै पाइन्छ साथी, त्यही खाने हो
खाएकै रक्सी त लाग्ने हो, नखाए त पीर मात्रै लाग्ने हो
जवानीमा रक्सी टन्न खानेले बूढो हुनै पर्दैन
कसरी हुनु बूढो ? सिङ्गै जवानी त पूरा कट्दैन
रक्सी नखाईकन त आफ्नै श्रीमतीसँग पनि बोल्न डर लाग्छ
रक्सी खाएपछि चौबाटोमा नाङ्गै नाच्न पनि आँट आउँछ
अरू कुरा खाए त खानेलाई मात्रै मजा आउँछ
टन्न रक्सी खाएर चौबाटोमा नाङ्गै नाचे, देख्ने सब्बैले मजा लिन पाउँछ
आफू त मोज गर्ने होे, अरू सबैलाई पनि मज्जा दिने हो
त्यसैले भट्टी जाने हो साथी टन्न रक्सी खाने हो
जे गर्दा सप्पैलाई मजा आउँछ त्यै काम त गर्ने हो
मर्दले जिन्दगीमा के सधैँ एउटी मात्रै श्रीमती राख्ने हो ?
श्रीमती थपे मुद्दा मामिला गर्दै सम्पत्ति पनि दिनुपर्ने भो
म त टन्न रक्सी खाने हो, एउटी श्रीमतीलाई पनि चार–पाँचवटी देख्ने हो
त्यसैले भट्टी जाने हो साथी टन्न रक्सी खाने हो
जे गर्दा सप्पैलाई मजा आउँछ त्यै काम त गर्ने हो
प्रतिकृया दिनुहोस