• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बेलायत पढेका, मलेसियामा पढाएका रोहित : जब झापा झरेर एग्राे फार्मिङ गर्नथाले

गौरादह । ‘अब अरु मलाई केही चाहिन्नँ । मेरो गाउँको आर्थिक रुपान्तरण, परम्परागत शैक्षिक प्रणालीमा रुपान्तरण, अनि मानसिकतामा रुपान्तरण गर्नु नै जिन्दगीको उद्देश्य रहेनछ... ।’

यी वाणी हुन् झापा गौरादहमा जन्मी–हुर्की विदेशका विभिन्न प्रतिष्ठित कलेजमा अध्ययन र अध्यापनसमेत गरिसकेका युवा रोहित भण्डारीको ।

रोहितले झापाको गौरादह हुँदै देशका विभिन्न ठाउँमा अध्ययन गरे । उनले भारतको चेन्नईबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) गरे । त्यसपछि उनी एमबीए गर्न बेलायततर्फ हानिए । बेलायतमा एमबीए पूरा गरेर उनले मलेसियामा शिक्षण गरे ।

त्यही क्रममा उनलाई अब यसरी विदेश बसेर हुँदैन भन्ने लाग्न थालिसकेको थियो । आफ्नो गाउँको विकास गर्नुपर्छ भन्ने उनको दिमागले क्लिक गर्यो । पछि संयुक्त अरब इमिरेट्मा रहेका बेला साथीहरुसँग गाउँको विकासको योजना तय भयो । 

हो, उनै रोहित भण्डारी अहिले केही ऊर्जावान् साथीहरुको साथमा गौरादह नगरपालिका–४, डोरामारीमा ‘प्रवासी झापाली एग्रो फार्म’ अर्थात् ‘पिजाफ ग्रुप अफ कम्पनिज’ नामको कृषि फार्म खोलेर गाउँको आर्थिक, शैक्षिक तथा मानसिक रुपान्तरणका लागि कस्सिएर लागेका छन् । उनलाई साथ दिएका छन् दुबईबाट फर्किएका झापाका ३३ जना युवाले । कम्पनीका प्रबन्ध निर्देशकचाहिँ रोहित हुन् । 

दुबईमा साथीहरुसँग ग्रुप वर्कको काम गर्दा लगानीमा केमा गर्ने भन्ने बारेमा उनीहरुले धेरै अध्ययन–अनुसन्धान गरे । सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा २ खर्बको कृषि उत्पादनको बजार छ भन्ने उनीहरुले थाहा पाए । र उनीहरु कृषिमै लगानी गर्ने तयारीका साथ योजना बनाउन थाले । 

उनीहरुले ख्यालख्यालमै यो योजना बनाएका होइनन् । यसका लागि धेरै अध्ययन तथा अनुसन्धान गरे । उनीहरुले कच्चा पदार्थ मात्र बेच्ने गरी लगानी नगर्ने, अन्तिम उपभोक्तासम्म पनि आफैँ जाने गरी साङ्गोपाङ्ग योजना बनाए । उत्पादन पनि आफ्नै, बजार पनि आफ्नै ट्रेनिङ पनि आफ्नै, ब्रान्डिङ पनि आफ्नो, शिक्षा पनि आफ्नै डिजाइनमा गर्ने गरी बृहत् योजना बन्यो । र दीर्घकालीन सोचका साथै काम सुरm भयो । 

विदेशको राम्रो कमाइ छोडेर गाउँ फर्किने कुरा गर्दा परिवारबाट गाली खानु परेको तीतो यथार्थ छ रोहितसँग । जागिर नखाएर के गर्न थालेको भन्ने उनको परिवार अहिले उनको काम देखेर निकै खुसी छ । परिवारको राम्रो साथ सहयोग छ । अझ गाउँलेहरु त विदेशमा केही कमाएको रहेछ, त्यो सक्ने भयो भन्थे । तर, उनको योजना थाहा पाएपछि अहिले गाउँलेहरुले पनि साथ दिन थालेका छन् । कम्पनी स्थापनामा उनको धेरै पसिना बगेको छ । 

पिजाफ ग्रुपले कृषि क्षेत्र बृहत् योजना बनाएर काम गरिरहेको छ । कृषि प्राविधिकलाई अनुसन्धान केन्द्र बनाउने गरी ग्रुपले काम गरिरहेको छ । कम्पनीले आफ्नै स्कुल सञ्चालन गर्ने र विद्यार्थीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई फिल्डमा जोड्ने योजना बनाएको छ । 

रोहित भन्छन्, ‘विद्यार्थीले जे कुरा सिक्छन्, त्यसलाई व्यवहारमा उतार्न सके मात्र यसले सार्थकता पाउँछ । सैद्धान्तिक ज्ञानले मात्र अबका विद्यार्थीलाई व्यावहारिक बनाउन कठिन छ । त्यसैले उनीहरुलाई व्यावहारिक ज्ञान दिनु अनिवार्य छ ।’

हाम्रो शिक्षा प्रणाली परम्परागत भएकाले पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न स्कुलको योजना बनाएको रोहित बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीले जे सिक्छन्, त्यो गर्छन् । त्यसैले उनीहरुलाई व्यावहारिक ज्ञान दिन अपरिहार्य छ । सैद्धान्तिक ज्ञान लिएपछि उनीहरु आफू कुन फिल्डमा जान सक्छु भन्ने कुरा आफैँ निक्र्यौल गर्न सक्छन् ।’

रोहितले कम्पनीलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना पनि बनाएका छन् । कम्पनीले हाल ६ बिघा १३ कट्ठा क्षेत्रफल जमिनमा खेती तथा पशुपालन गरिरहेको छ । कम्पनीले सो जमिनमा मकै लगाएको छ । यसअघि हिउँदे धान फलाइसकेको छ । 

फार्ममा अहिले बाख्रा, हाँस, कुखुरा छन् । अब छिट्टै टर्की र बट्टाई पनि पाल्न थाल्ने कम्पनीको योजना छ । त्यहाँका पशुपक्षीका लागि घाँस र दानासमेत त्यहीँ उत्पादन गर्ने कम्पनीको योजना छ । कम्पनीको बारीमा रासायनिक मल वर्जित नै छ ।

फार्ममा हालसम्म १ करोड २५ लाख लगानी भइसकेको छ । यो बजेटबाट कम्पनीले फार्मसम्म पुग्ने बाटो, फार्मका लागि आवश्यक संरचना तथा पशुपन्छी खरिद गरेको छ । चार वर्षको अन्तरालमा ७ करोड ५० लाख बजेट लगानी गर्ने उनीहरुको योजना छ । 

फार्ममा अहिले बोयर, खपारी र जमुनापारि जातका बाख्रा छन् । बोयर जातका दुईवटा बोका बिउका लागि खरिद गरिएको रोहित बताउँछन् । एउटा बोका अस्ट्रेलिया अर्को चितवनबाट खरिद गरेर ल्याइएको हो । नेपालमा बोयरले बिउ उत्पादन गर्न नसकिरहेको अवस्थामा अस्ट्रेलियाबाट बिउका लागि बोयर जातको बोका ल्याएको रोहित बताउँछन् । यसका लागि करिब अढाई लाख खर्च भएको छ । 

बोयर बोका अहिले बिउका लागि प्रयोग भइरहेको छ । खासमा यो मासुका लागि पनि हो । एउटा बोयर खसी एक सय केजीसम्मको हुने रोहित बताउँछन् । यसको मासु स्वस्थकर हुने उनको दाबी छ । यसको मासु स्वथ्यकर हुन्छ भन्ने कुरा प्रयोगशालामा जाँच गरेर पुष्टिसमेत गरेको उनी बताउँछन् । 

फार्ममा अहिले जम्मा ८४ वटा बाख्रा छन् । तीमध्ये १९ वटा माउ बाख्रा छन्, ती सबै केही महिनाभित्र ब्याउने अवस्थाका छन् । अबको एक महिनामा एक सय कट्ने रोहितले बताए । बोयर बोका जन्मिएको ९ महिनामा बिउका लागि ती उपयुक्त हुन्छन् । स्थानीयले बिउका लागि बोको प्रयोग गरेबापत तीन हजार रmपैयाँ तिर्नुपर्छ । कुनै कुनै ठाउँमा १० हजार रmपैयाँसम्म लिने गरेको रोहित बताउँछन् । 

फार्ममा आठ सय बाख्रा अटाउने क्षमता रहेको रोहितले बताए । अबको केही वर्षमा नै सो सङ्ख्याको आसपासमा बाख्रा पु¥याउने कम्पनीको योजना छ । फार्ममा रहेका बोयर जातका बाख्रा चितवनबाट ल्याइएको हो ।

अबको केही वर्षमा गाउँको आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक रुपान्तरण हुनेमा रोहित ढुक्क छन् । विदेशको राम्रो आम्दानी छोडेर फर्किएका उनी गाउँलाई ‘स्मार्ट’ बनाउन दिनरात लागिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर