• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 01:02 pm

दलित पत्रकार संघको भविष्य सुन्दर देखेको छु : पहाडी

काठमाडौं । यतीबेला राष्ट्रिय दलित पत्रकार संघ नेपालमा देशै भरिका दलित पत्रकारहरु संगठित भइरहेका छन् । अधिकार कर्मी तथा संबिधान सभाका सदस्य बिनोद पहाडी संगठनको संस्थापक अध्यक्ष हुन् ।

दलित पत्रकारको संगठन खोल्नुको तात्पर्य के हो ? संगठनको अवस्था कस्तो छ? अहिले के भइरहेको छ ? यी र यस्तै प्रश्नको जवाफ खोज्नका लागि हामीले अध्यक्ष बिनोद पहाडीसंग कुराकानी गरेका छौँ । 

तपाई राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष हुनु हुन्छ । पत्रकारहरुको छाता संगठन सिंगो पत्रकार महासंघ छदैँछ । तर, तपाईहरुले दलित समुदायका पत्रकारहरुको छुट्टै संगठन खोल्नुको कारण चाँही के हो? 
नेपाली पत्रकारिता क्षेत्रमा दसलत समुदायका पत्रकारहरुको सहभागिता बिगतमा ज्यादै न्यून थियो । मिडियामा दलित समुदायको भौतिक सहभागिता पनि थिएन र एजेण्डागत हिसाबले हेर्ने हो भने दलितको उपस्थिति न्यून थियो । आम संचारमा दया–मायाका हिसाबले दलितका कार्यक्रमलाई समाचारमा समेट्ने बाहेक प्राथमिकताका रुपमा दलितका मुद्धालाई स्थान दिइएको थिएन । पछिल्लो समयमा १० वर्षे जनयुद्ध र २०६२÷६३ को १९ दिने जन–आन्दोलनसंगै अभिब्यक्ति स्वतन्त्रता, मिडिया स्वतन्त्रता र प्रबिधिको बिकास पनि तीब्र गतीले भयो । अहिले रेयियो, टेलिभिजन, अनलाईन, पत्रिका, सामाजिक संजालका कारण हरेक मान्छेको हात–हातमा संचार छ । यो बेला पनि आम संचार तथा मुल प्रवाहका मिडियामा दलित समुदायको सहभागिता र उपस्थिति न्यून छ । मुल प्रवाहका मिडियाहरुले दलितका मुद्धा खास–खास समयमा उठाउँदैनन् । उनीहरुलाई अनुकुल भए मात्र उठाउने खालको परिपाटी छ । 

अहिले दलित समुदायका ब्यक्तिहरु आफ्नो परम्परागत पेशालाई छाडेर मिडियामा जर्वजस्ती आएका छन् । पत्रकारिता पनि नयाँ पेशा र ब्यवशाय हो भनेर उनीहरु मिडियामा आफ्नो भविष्य खोजिरहेका छन् । ति दलित समुदायका संचारकर्मीहरुलाई पत्रकारितामै टिकाई राख्न पनि चुनौती छ । नेपाल पत्रकार महासंघ त छ तर, त्यसको केन्द्रिय समिति तथा बिभिन्न शाखा समितिमा दलित समुदायका पत्रकारहरुको सहभागिताको ग्यारेन्टी गरिएका भए पनि निश्चित कोटा भन्दा बाहेकका दलितहरु जान सक्ने अवस्था भएन । बिभिन्न पार्टीमा आस्था राख्ने पत्रकारका संगठनमा पनि दलितहरुको प्रभावकारी र नेतृत्वदायी भुमिका हुन सकेन । देश भरि रहेका दलित संतारकर्मीहरुको हक–हितका लागि बोल्ने, संगठित गर्ने र उनीहरुका दुख र पीडा बिसाउने चौतारी नभएका कारण दलित समुदायका बीचमा दलित संचारकर्मीहरुको संगठनको आवश्यकता हामीे महसुस गर्यौँ । त्यसपछि राष्ट्रिय दलित पत्रकार संगठन नेपालका जन्म भएको हो । यो मैले मात्र नभएर प्रत्येक दलित समुदायका संचारकर्मीहरुले आवश्यकता ठानेको, महसुस गरेको संस्था हो । 

यस अगाडी पनि त दलित पत्रकारका लागि भन्दै केही संगठनहरु निर्माण भएकै हुन् । ति संगठनले खासै गति लिए जस्तो पनि देखिएन । अब पनि त्यस्तै हुने त होइन ?
उत्तर. हो, यस अगाडी पनि संगठन निर्माण नभएका होइनन् । केही प्रयास भएका थिए । दलित समुदायका तर्फबाट संचारसंस्था तथा दलित पत्रकार संघ बनाउने काम भएको हो । तर, त्यसले निरन्तरता पाउन सकेन । बिबिध कारणले निरन्तरता पाउन नसकेको साँचो हो । यसका पछाडी पनि केही चुनौतीहरु अवश्य थिए । त्यसको पनि हामीले महसुस गर्यौ र नयाँ तथा अग्रगामी खालको दलित समुदायका पत्रकारहरुको संगठनको आवश्यकताका बिषयमा छलफल अगाडी बढायौँ । त्यो छलफल पश्चात हामीले बिगतका नाम भन्दा अलि फरक नाम दिएर फरक ढंगले अगाडी बढ्नु पर्छ भनेर हामीले राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन गरेका हौँँ । यो जिल्ला प्रशासन कार्यलय काठमाडौँमा दर्ता छ । हामीले यसलाई देशै भरि बिस्तार गर्दैछौँ । हामीले आधा नेपालमा संगठन बिस्तार गरिसक्यौँ । तीन वटा प्रदेशमा प्रदेश समिति गठन भइसकेको छ । बाँकी दुई वटा प्रदेशमा केही दिन भित्रै हामीले संगठन बिस्तार गर्दैछौँ । यो माघ महिना भित्रै हामी देशका सबै प्रदेश र जिल्लाहरुमा संगठन बिस्तार गर्दैछौँ । यो संगठन बिस्तार संगसंगै हामीले बृहद राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेका छौँ । 

त्यो राष्ट्रिय सम्मेलनबाट नेपालको दलित आन्दोलनको दिशा पनि तय गर्छौँ । हामी हाम्रो बिचार मात्रै होइन बिभिन्न पार्टीमा आवद्ध हुनु भएका दलित समुदायका नेतृत्वहरुलाई एकै ठाउँमा राखेर छलफल गर्छौँ । अबको दलित मुक्ति आन्दोलनको कार्यदिशा के हुन सक्छ? भन्ने कुरामा पनि छलफल गर्छौँ । साथसाथै नेपालको दलित आन्दोलनलाई पनि मार्ग दर्शन दिन्छौँ । 

अर्को कुरा के पनि हो भने, हामी राजनीतिक हिसावले धेरै बिभाजित छौँ । दलित आन्दोलन पञ्चायतमा पञ्चहरुले बिभाजन गरे । “फुटाउ र शासन गर”को नीति अवलम्वन गरे । केही दलितहरुलाई सत्तमा लैजाने र लोकतान्त्रिक आश्था राख्ने दलितहरुलाई दमन गर्ने काम भयो । बहुदलीय ब्यवस्थामा पनि हामीहरु त्यसैगरि हतियार भएका छौँ । बैचारिक रुपले आस्था जहाँ भए पनि एजेण्डाका हिसाबले एकै ठाउँ बस्न सक्नु पथ्र्यो । तर, एउटै एजेण्डामा पनि एकै ठाउँ बसेर हामीले सशक्त आन्दोलन गर्न सकेनौँ । 

एकले अर्कालाई गाली गर्ने, आलोचना गर्ने र आग्रह पूर्वाग्रहमै हाम्रो दलित आन्दोलनले समय खर्चेको छ । त्यसैले राष्ट्रिय दलित पत्रकार संघ दलित समुदायका संचारकर्मीहरुको छाता संगठन पनि बन्नु पर्छ । साथै सबै आस्था राख्ने राजनीतिक दल र तीनमा रहेका दलित समुदायका नेताहरु, गैर–सरकारी संस्थाका माध्यमबाट समाज रुपान्तरणमा लागेका दलित समुदायका अगुवाहरु, बिभिन्न पेशा र ब्यवशायमा आवद्ध दलित समुदायका साथीहरुको यो साझा चौतारी बन्नु पर्छ । सबैको मन बिसाउने संगठन बन्नु पर्छ । नेपाल पत्रकार महासंघ आम राजनीतिक पार्टीहरुको साझा संगठन हो । हामी दलित समुदायको पत्रकारहरुको साझा चौतारी बन्नु पर्छ भन्ने हाम्रो उद्धेश्य छ । हाम्रा केन्द्रिय कमिटीका साथीहरु पनि यही उद्धेश्यका साथ दिलो ज्यानले संगठन बिस्तारमा जिल्ला जिल्लामा खटिरहनु भएको छ । 

तपाई त दलित अधिकारकर्मीका नामले चिनिनु हुन्थ्यो । २०६४ सालमा संबिधानसभा सदस्य पनि हुनु भयो । अहिले आएर दलित पत्रकारको नेतृत्वमा पनि हुनु हुन्छ । एका थरि भन्छन्, संसद भइसकेको मान्छे, पत्रकारहरुको सल्लाहकार मात्रै भइदिएको भए हुन्थ्यो । अरुलाई पालो नदिएर आफै नेतृत्वमा किन बस्नु भयो ?
उत्तर. कृयाले प्रतिकृया जन्माउने हो । जति बेला सम्म हामीले काम आरम्भ गरेका थिएनौ त्यतीबेलासम्म कुनै प्रतिकृया थिएन । यसको आवश्यकता महसुस पनि गरिएको थिएन । दलित आन्दोलनको नेतृत्व तहले यो सोँचेको पनि थिएन । यो ढंगले संगठनलाई बिस्तार गर्नु पर्छ भन्ने कुनै सोँच र बिचार पनि थिएन । हामीले राष्ट्रिय दलित पत्रकार संघको आवश्यकता महसुस गर्यौँ र यसलाई अभियनको रुपमा हामीले देशब्यापी रुपमा जिल्ला जिल्लामा  संगठन बिस्तार गर्न थाल्यौँ । अनि सबैको ध्यानाकर्षण हुन थाल्यो । 

ब्यक्तिगत रुपमा बिनोद पहाडी अध्यक्ष हुनु हुन्छ कि हुँदैन भनेर प्रश्नहरु उठ्न थाले । अरु साथीहरु त्यहाँ रहनु हुन्छ कि हुन्न भन्ने प्रश्नहरु उठ्न थाले । र, यसका बिरुद्ध पनि अर्को संगठन बनाउनु पर्छ भन्ने खालका गतिबिधिहरु पनि हुन थाले । तर, संबिधानले संघ–संगठन खोल्ने स्वतन्त्रता सबैलाई दिएको छ । यसमा हाम्रो पनि केही आपत्ती छैन । अभिब्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताका लागि हामी जिन्दगी भरि लड्यौँ । अरु साथीहरुले संगठन खोल्नु हुन्न भन्ने पनि होइन । साथीहरुले आफ्नो गक्ष अनुसार संगठन निर्माण गर्न सक्नुहुन्छ र उहाँहरु स्वतन्त्र पनि हुनुहुन्छ । 

तर, दलितहरुका मुद्धामा एउटै बिषयमा एकिकृत ढंगले संगठित आवाज उठाउनका लागि राष्ट्रिय दलित पत्रकार संघ सक्षम छ, यसले गर्न सक्छ भन्ने कुरा यो दुई तीन महिनाको अवधीमा हामीले प्रमाणित ष्रि सक्यौँ । संगठन स्थापित हुँदै गर्दा केही साथीहरुलाई ‘हामीले गरेको भए नि हन्थ्यो’ भन्ने लागेको होला । 

कसैलाई ब्यक्तिगत कुण्ठा पनि होला । कसैलाई पूर्वाग्रह पनि हुन सक्छ । तर, हामी पबित्र ढंगले लागेका छौँ । म रहरले भन्दा पनि समयको माग र आवश्यकताले गर्दा अध्यक्ष भएको हो । म सल्लाहकार नै भएर बस्न चाहान्थे । तर, हाम्रै साथीहरुले “तपाई यो संस्थामा आएर काम गर्दा संस्था स्थापित हुन्छ र संस्थालाई जिल्लामा लैजान सजिलो हुन्छ । तपाई संग भएको अनुभव, अध्ययन, क्षमता संगठनमा प्रयोग गरौँ” भनेर आग्रह भयो । त्यो आग्रह मात्र थिएन, आफ्नो समुदायलाई केही न केही गर्न पर्छ भन्ने मेरो आफ्नो बिचार पनि थियो । मैले मेरो जीवनको सबै भन्दा उर्जाशिल समय पत्रकारितामै बिताएको छु । म अधिकारमुखी आन्दोलनमा पत्रकार भएरै लागेको छु । तत्कालिन नेकपा माओवादीले मलाई पत्रकार तथा अधिकार कर्मी भनेरै संबिधानसभामा लगेको हो । पत्रकारिताका माध्यमले नै म संबिधान सभा सदस्य भएको हुँ । 

जुन दिन म संबिधान सभा सदस्यमा नियुक्त भएको थिए, त्यो दिनसम्म म नेपाल  पत्रकार महासंघको केन्द्रिय सदस्य थिए । साउथ एसियन फ्रि मिडिया सोसाइटीको म सदस्य थिए । साउथ एसियन क्रान्तिकारी पत्रकार संघको कमिटीमा पनि म सदस्य थिए । त्यसैले म पत्रकारिताबाट कहिल्यै पनि भागेको छैन । म निरन्तर पत्रकार भएका कारणले म जुन समुदायबाट प्रतिनिधित्व गर्छु त्यो समुदायका पत्रकार साथीहरु म राम्रोसंग चिन्दछु । मेरो भोगाई र उहाँहरुको भोगाई एउटै हो । यो समुदायका पत्रकारहरुलाई के गर्दा संरक्षण दिन सकिन्छ र थप साथीहरुलाई पत्रकारितामा ल्याउन सकिन्छ भन्ने केही अनुभवहरु मसंग छन् । त्यसैले पनि साथीहरुले मलाई महाधिवेशन नहुन्जेलका लागि मलाई नै अध्यक्ष हुनु पर्छ भन्नु भयो । त्यसैले म केन्द्रिय अध्यक्ष बनेको हुँ । मेरो कुनै ब्यक्तिगत चाहानाले म अध्यक्ष भएको होइन । 

तपाईहरुले दलित पत्रकारहरुको संगठन निर्माण गर्दै गर्र्दा अर्का थरि दलित पत्रकारहरुले त छुट्टै संगठन खोलेर अगाडी बढ्नु भएको छ नि । उहाँहरुलाई चाँही किन समेट्न सक्नु भएन ?
हामीले राष्ट्रिय दलित पत्रकार संघ दर्ता गरिसकेपछि केही साथीहरुले यस्तै अर्को संगठन पनि खोल्नु भएको छ । त्यस प्रति हाम्रो कुनै पूर्वाग्रह छैन । जो साथी उता जानु भएको छ उहाँहरु सुरुमा हाम्रै टिममा हुनु हुन्थ्यो । उहाँहरुलाई आफु हावी हुन पाइदैन भन्ने लाग्यो होला । यदी यो संस्था जजुरी छ, हामी सबैको साझा संगठन चाहिन्छ, एउटै संगठन बनाएर अगाडी बढ्नु पर्छ भन्ने खालको साथीहरुलाई महसुस भएको भए, त्यागको भावना भएको भए यही भित्र छलफल अगाडी बढाउनु हुन्थ्यो । 

म अध्यक्ष पदमा नरहेर साधारण सदस्यको रुपमा काम गर्न पनि तयार थिए । साथीहरुलाई हामीले सोध्यौँ, तपाईहरुको बिमती के कुरामा हो? बसेर छलफल गरौँ तर, दुईवटा संगठन नबनाऔँ । एक अर्कामा आरोप प्रत्यारोप नगरौँ । यही कुराले पञ्चायत कालदेखि अहिलेसम्म दलित आन्दोलन छिया–छिया भएको छ । यसका आन्तरिक पीडाहरु पनि छन् । यो पीडालाई दलित समुदायका पत्रकारहरुका बीचमा नलैजाऔँ । हामी दलित समुदायका पत्रकार भए पनि पत्रकारिता पेशा दलित होइन । हामी सममुदायको प्रतिनिधित्व गर्छौ तर, हामी आफै दलित होइनौ । 

दलित समुदायका पत्रकारहरुले बिगतमा भएका कमी कमजोरीलाई पनि सुधारेर जानु पर्छ । त्यसैले हामी यसभित्र छलफल गरौँ भनेकै हो । अरु साथीहरुलाई नेतृत्वमा ल्याउँदा पनि हुन्छ । म सहयोग गर्न तयार छु । मलाई सल्लाहकार या साधारण सदस्य या सुभेच्छुक मात्रै राख्नुस तर म काम गर्न तयार छु भनेर साथीहरुलाई आग्रह गरेको पनि हो । तर, अन्तिममा दर्ता प्रकृयामा पुग्दा साथीहरुले धोका दिनु भयो । 

साथीहरुले धोका दिनु भयो त भन्नु भयो, त्यो कस्तो खालको धोका थियो ?
हामीले दलित पत्रकार संगठनलाई दर्ता गर्ने भनेर तयारी गर्दै थियौँ । अन्तिममा साथीहरु दर्ता प्रकृयाबाट बाहिरिनु भयो । उहाँहरुको केही कुरामा बिमती थियो । काठमाडौँमा बस्ने सिमित मान्छेहरु मात्र पत्रकार हुन भन्ने ढंगले उहाँहरु आउन चाहानु भयो । हामीले भन्यौ, ‘दुर दराजमा बसेर जसले सुचनाको हक सम्बन्धि काम गरेको छ, जनतालाई सुचना दिने काम गरेको छ, उत्पीडित जनताको घरदैलोमा पुगेर सुचना सम्प्रेषण गरेको छ, त्यस्ता साथीहरुलाई छोडेर काठमाडौँमा बस्ने दलित पत्रकारहरुको मात्रै राष्ट्रिय दलित पत्रकार संगठन बन्न सक्दैन ।’ तर उहाँहरु यो कुरामा सहमतीमा आउन सक्नु भएन । जुम्लामा बस्ने साथीले पनि अपनत्व महसुस गर्न सक्ने, दार्चुलाको होस या ताप्लेजुङ, सिरहा सप्तरी तथा देशको जुनसुकै कुनामा रहेर पत्रकारिता गर्ने साथीको साझा संगठन बनाउने कुरामा हाम्रो छलफल जारी थियो । तर, उहाँहरुले मान्नु भएन । 

अहिले ७७ वटै जिल्लामा दलित समुदायका साथीहरु पत्रकारिता क्षेत्रमा हुनु हुन्छ । उहाँहरु सबैलाई समेट्ने बहुपदीय प्रणालीको हामीले बिकास गरेर जानु पर्छ भनेर हामीले छलफल अगाडी बढाएका थियौँ । यो गर्न सकेको खण्डमा हामीले नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोग पुर्याउन सक्छौँ । हामीले बिगतमा पुरानो पुस्तालाई गाली गरेर मात्र समय खर्चेका छौँ । अब त्यसरी हुँदैन । अब हामीले बिगतका कमी कमजोरीहरुलाई स्वच्छ आलोचना गर्ने, बिगतमा राम्रो योगदान गर्नेलाई सम्मान गर्दै अगाडी बढ्नु पर्छ, साथीहरु हामी एकै ठाँउ बसौँ भनेर धेरै कोशिस गर्यौँ । तर, हाम्रो आग्रहलाई उहाँहरुले नकार्नु भयो र छुट्टै संगठन बनाउनु भएको छ । 

उहाँहरुले संगठन बनाउने कुरालाई संबैधानिक अधिकार प्रयोग गर्नु भएको छ । त्यसको हामी स्वागत गर्छौ । रचनात्मक काम गर्नु भयो भने त्यो पनि हामी स्वागत गर्छौ । तर, संगठन निर्माण गर्ने, दलित समृुदायका हकमा काम गर्ने कुरामा बाधा अड्चन गर्ने काम भयो भने साथीहरुले प्रतिकार पनि गर्नु हुन्छ । जिल्ला–जिल्लामा साथीहरु संगठित हुनु भएको छ । जसले दलित आन्दोलनलाई घाटा पुर्याउने काम गर्छ, दलित समुदायका पत्रकारहरुलाई संगठन निर्माणमा अबरोध पुर्र्याउने काम गर्छ, दलित समुदायका पत्रकारहरुको हकहित संरक्षण गर्ने कुरामा अवरोध कहीँ कतैबाट अवरोध हुनु हुँदैन । तर, जो साथीहरुले एउटा आकारको संगठन निर्माण गर्नु भएको छ, रचनात्मक काम गर्ने छुट सबैलाई छ । हामी एक आपसमा मिलेर काम गर्न पनि सक्छौँ । 

मैले साथीहरुलाई अनुरोध पनि गरिरहेको छु । हाम्रो कार्यक्रममा हामीले आमन्त्रण पनि गरेका छौँ । उहाँहरु आउनु भएको छैन । उहाँहरुको कार्यक्रममा बोलाउनु भयो भने हाम्रो समितिका सबै साथीहरु खुलस्त ढंगले जान सक्नु हुन्छ । सहभागीका रुपमा होस या अतिथिका रुपमा होस् हामी खलस्त रुपमा जान सक्छौँ र आफ्नो बिचार राख्न पनि सक्छौँ । हामीसंग कुनै पूर्वाग्रह छैन । हामी पबित्र भावनाले काम गर्न खोजिरहेका छौँ । तर, आरोप प्रत्यारोप लगाउने काम कतै बाट हुन्छ भने त्यसको हामी प्रतिवाद गर्छौ । 

हामी कसैको आलोचना गरेर समय खेर फाल्दैनौँ । हामी पुरै रचनात्मक काम गर्छौ । हामीले आफ्नो काम सुरु गरिसकेका छौँ । नेपालको पत्रकारिता आन्दोलनले बिर्सेका नेपालका असल पात्रहरुका नाममा हामी पत्रकारिता पुरस्कार घोषणा गरेका छौँ । कल्याणकारी कोषको स्थापना गरेका छौँ ।  त्यसैले जो साथीहरु बाहिर हुनु हुन्छ उहाँहरुको पनि संगठन हो यो । हामीले निर्माण गरेको कल्याणकारी कोषमा ति साथीहरुलाई पनि समेट्छौँ । 

हाम्रो कोशबाट उहाँहरु पनि लाभान्वित हुन सक्नु हुन्छ । जती पनि नेपालमा दलित समुदायका संचारकर्मीहरु छन्, हामीले गरेका रचनात्मक लाभ सबै संगठनमा जान्छ । हामीले जे काम गरे पनि पबित्र भावनाले गरौँ भन्ने मेरो आग्रह र अनुरोध छ । जो साथीहरु बाहिर हुनु हुन्छ, उहाँहरुलाई पनि हामी क्रमस हाम्रो संगठनमा ल्याउने प्रयत्न गरिरहेका छौँ । उहाँहरु आउनु हुन्छ भन्ने मलाई बिश्वास छ । त्यहाँ भित्र पनि साथीहरु योग्य हुनु हुन्छ । दक्ष र पत्रकारितामा कृयाशिल हुनु हुन्छ । 

हामी मात्र अब्बल छौँ, हामी मात्र सकृय छौँ भनेर हामीले दाबी गर्दैनौँ । कामको पुष्टि उसको योगदान, क्षमताले र कृयाशिलताले गर्ने हो । सबै साथीहरुलाई गोलबद्ध हुन म आग्रह गर्दछु । समन्वय गर्ने कोशिश पनि गरिरहेको छु । हामी पबित्र र स्वच्छ प्रतिस्पर्धात्मक तरिकाले अगाडी बढ्ने हो । उहाँहरु पनि हम्रो संगठनमा आबद्ध हुनु हुनेछ, हामी एकै ढिक्कामा बाधिनेछौँ भन्ने मलाई बिश्वास छ 

तपाईहरुले जम्वो केन्द्रिय समिति बनाउनु भएको छ । तर, समिति आफैमा समावेशी छैन र दलित भित्रको एउटा निश्चित जातीलाई मात्रै अगाडी बढाउने हिसाबले संगठन निर्माण गरिएको भन्ने आरोप पनि छ नि ।
हामी माथिको यो आरोप नितान्त पूर्वाग्रहले राखिएको आरोप हो । म दलित समुदाय भित्र पनि एउटा निश्चित जातीको प्रतिनिधित्व गर्छु । म परियार जातीमा जन्म लिए । म जन्मेकै कारणले दलित भएको हुँ । परियार समुदायमा जन्मेकै कारणले मैले परियार वाद बोकेर हिड्न पर्छ भन्ने मलाई लाग्दैन । मेरो बिचार त्यस्तो छँदै छैन । २०५२ सालमा परियार सेवा समाज स्थापना हुँदा सबैभन्दा बढी बिरोध गर्ने म नै हो । 

नेपालमा परियार, मिजार, बिश्वकर्मा समाज बनाउने भनेको समाजमा झनै बिभाजन ल्याउने कार्य हो । हामी दलित समुदाय भित्र जातीय संगठन बनाउनु हुँदैन । हामी सबै दलितहरु एक ढिक्का भएर अगाडी बढ्न पर्छ भनेर म ५२ साल देखि नै लडिरहेको छु । अहिले सम्म पनि म परियार सेवा समाजको साधारण सदस्य समेत छैन । म संबिधान सभा सदस्य हुँदा परियार सेवा समाजले अरु संबिधान सभा सदस्यहरुलाई अभिनन्दन गरको थियो । तर, परियार सेवा समाजको सदस्य नभएका कारणले मलाई अभिनन्दन गरिएन । म परियार सेवा समाज भित्र प्रतिरोध गरेर हिडिरहेको छु । योग्यता, क्षमता र कृयाशिलताका आधारमा दलित आन्दोलन भित्र नेतृत्वमा जानु पर्छ । समाजलाई योगदान गर्नु पर्छ भन्ने मेरो मान्यता हो । 

अहिले हामीले जुन राष्ट्रिय दलित पत्रकार संघ बनाएका छौँ । यस भित्र परियार मात्रै छन् भनेर कसैले हेर्छ भने २३ सदस्यीय कमिटिको तथ्यांक हेर्दा हुन्छ । संयोगले म अध्यक्ष भएँ । एकाध साथीहरु अन्य पदाधीकारी पनि हुनु हुन्छ होला । तर, हामीले यही कुरा मिलाउनका लागि पटक–पटक बैठक बस्यौँ । जुन साथीहरुले हामीलाई आरोप लगाउनु भएको छ, उहाँहरुले तोकेका साथीहरु मात्र यहाँ हुनु हुन्छ । अहिले हाम्रो संगठन प्रारम्भमा छ । यसलाई ब्यापक ढंगले नमुना संगठन बनाएर लिएर जानु पर्छ । यस भित्र जाती, क्षेत्र र लिङ्गको प्रतिनिधित्वलाई हामीले प्राथमिकतामा राख्नु पर्छ भनेरै हामीले बहुपदीय संगठनको ढाचा बनाएका हौँ । 

हामीबाट छुटेर जाने साथीहरुले संगठनलाई बहुपदीय बनाउनु हुँदैन, सानो आकारको ९ या ११ जनाको केद्रियउ समिति बनाउनु पर्छ भन्नु भएको थियो । तर हामीले बहुपदीय बनाउनु पर्छ, ठुलो आकारको बनाउनु पर्छ, धेरै साथीहरुलाइ समेट्नु पर्छ भनेरै २३ सदस्यीय बनाएका हौँ । अध्यक्ष, अपाध्यक्ष, बरिष्ट उपाध्यक्ष र महिलाको नेतृत्व बिकास हाृस भनेर हामीले महिला उपाध्यक्ष रहने गरि बिधानमा पनि प्रष्ट उल्लेख गरेका छौँ । 

हाम्रो पहिलो साधारण सभाबाट केन्द्रिय समितिमा महिला उपाध्यक्ष पनि ब्यवस्था हुन्छ । यसको अर्थ, अध्यक्ष तथा उपाध्यक्षमा महिला जानस हुन्न भन्ने पनि होइन । हामीले सकेसम्म महिलालाई प्राथमिकताका साथ केद्रिय कमिटीमा ल्याउने र नेतृत्व बिकासमा ल्याउने कुरामा हाम्रो सबै टिम प्रतिवद्ध छ । हामीले चाहाँदा चाहाँदै पनि पूर्ण समानुपातिक हुन सकेको छैन । त्यसलाई हामीले स्वीकानु पर्छ । तर हामीले नेपाल भरि यसलाई नमुना संगठनको रुपमा बिकास गर्छौँ । हामीलाई कसैले जातीय सोँचका साथ अगाडी बढेका छन् भनेर कसैले आरोप लगाउँछन भने त्यो आरोपमा कुनै सत्यता छैन । यो मित्थ्या आरोप मात्र हो । कसैलाई पूर्वाग्रही आँखाले हेर्नु हुँदैन । 

अहिलेसम्म दलित पत्रकारहरुका लागि के गर्नु भयो र भावी योजनाहरु के के छन्? 
हामीले आधा नेपालमा संगठन निर्माण गरिसकेका छौँ । आधा माघ भित्रमा गरिसक्ने तयारीमा छौँ । यो रफ्तारमा अहिले सम्म कुनै पनि संगठन अगाडी बढेको इतिहाँस छैन ।  हामीले यो संस्थाको बिधि तयार गर्दैछौँ । नेपाल पत्रकार महासंगको जस्तै एउटा लोकतान्त्रिक बिधिबाट नेतृत्वमा आउने परिपाटी तयार गर्दैछौँ । सबै क्षेत्रका साथीहरु अटाउने एउटा समाबेशी संगठन बनाउँदै छौ । हामीले संगठन निर्माण गर्दै गर्दा पाँच वटा राष्ट्रिय स्तरका पुरस्कारको स्थापना गरिसकेका छौँ । बिस्तारै हामी क्षेत्रीय स्तरको पुरस्कारको पनि स्थापना गर्दैछौँ । जसले बिगतमा दलित आन्दोलनलाई योगदान दिनु भएको छ, जुनसुकै आस्था र बिस्वासको साथीलाई बिगतको योगदानका आधारमा बिशिष्ट पात्रहरुलाई बिभिन्न ढंगले सम्झिने योजना बनाएका छौ । नेपलको दलित आन्दोलनको सबैभन्दा जेठो पत्रकार, पहिलो र बिशिष्ट योगदान गरेको पत्रकार स्वर्गीय टि.आर बिश्वकर्मा हुनु हुन्छ । उहाँको नाममा हामीले पाँच लाख राशीको अक्षकोष स्थापना गरेका छौँ । उहाँ त मेरो कुनै आफन्त हुनु हुन्थेन । तर हामीले उहाँको नाम संगठनमा प्रस्ताव गर्यौँ । उहाँको नाम अनुमोदन भयो । हामीले देशभरिबाट वर्षको एक चोटी दलित या गैर दलित पत्रकारलाई पुरस्कृत गर्छौ । 

त्यस्तै स्वर्गीय राममाया च्यामे हाम्रो क्ुनै आफन्त हुनु हुन्न । उहाँ काठमाडौँको एउटा सफाई मजदुर हुनु हुन्थ्यो । उहाँले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान गर्नु भएको थियो । गणेशमान सिंह जेलमा हुँदा कुचो लगाउँदै सुचना र सन्देशहरु आदानप्रदान गर्ने काम गर्नु भएको । त्यो परिस्थितिमा उहाँले जुन जोखिम उठाउनु भएको थियो, त्यो निकै महान थियो । तर उहाँलाई कसैले सम्झेको छैन । हामीले सम्झिने कोशिस गरेका छौँ । उहाँका नाममा राममाया लोक पत्रकारिता पुरस्कारको स्थापना गरेका छौँ । यो काम पबित्र हो कि होइन? काम हेरेर समिक्षा गर्नु पर्छ । कसैले हाम्रो आलोचना गर्छ भने पनि हामीले काम गर्न छाड्दैनौ । हाम्रो २३ जनाको कार्यसमिति अब साँघुरो भएको हो कि भन्ने महसुस हामीले गरेका छौँ । हामी देशब्यापी हिड्यौ, हामीले कल्पना गरे भन्दा दोब्बर साथीहरु आउनु भएको छ । केही दिन अगाडी कास्कीमा ३४ जनाको जिल्ला भेला आयोजक समिति गठन भएको छ । जिल्लामा मात्रै ३४ जनाको संगठन बन्दै गर्दा केन्द्रमा २३ जनाको समिति छ । यही खालको बिकास सबै जिल्लामा हुने हो भने ‘एक गाउँ, एक दलित पत्रकार’ निर्माण गर्न हामीलाई गाह्रो हुँदैन । पत्रकारिता क्षेत्रमा दलितको सहभागिता बढाउन सक्यौँ भने सामाजिक रुपान्तरणको आन्दोलन र बिभेद बिरुद्धको आन्दोलनलाई हामी शसक्त बनाउन सक्छौँ । 

राष्ट्रिय दलित पत्रकार संघको फ्रेममा दलितको मुक्ति र परिवर्तनको तस्बिर कस्तो देख्नु हुन्छ?
म त अत्यन्तै सुन्दर देख्छु । हामीले आम संचारको क्षेत्रबाट दलित आन्दोलाई प्रत्यक्ष संगठित योगदान दिन सकेका थिएनौ । स्वतः स्फुर्त रुपमा बिभिन्न जिल्लामा दलित समुदायका साथीहरुले गैर दलितसंग प्रतिस्पर्धा गरेर अरु भन्दा योग्य र दक्ष हुने खालको प्रतिस्पर्धा पनि गरिरहनु भएको छ । र त्यस संगसंगै आफ्नो मुद्धा कसरी जोड्ने भनेर पनि लागिरहनु भएको छ । उहाँले २ वटा काम एक्लैले गरिरहनु भएको छ । अब त हामी संगठित रुपमा गर्दैछौँ । दार्चुलाको साथीले कसरी काम गर्नु भएको हामी रुपन्देहीमा बसेर त्यसको अध्ययन गर्न सक्छौँ । अहिले प्रबिधिले पनि हामीलाई सहज बनाएको छ । दार्चुलामा हुँदै गरेको कार्यक्रम काठमाडौँ या अन्य स्थानबाट लाइभ हेर्न सक्छौँ । हामीलाई त प्रबिधिले नजिक ल्याएको छ । प्रबिधिलाई उपयोग गर्दै नयाँ ढंगले हामी गैर दलितसंग एकाकार भएर जान्छौँ । नेपालको जातीय बिभेद र छुवाछुत बिरुद्धको आन्दोलनलाई आम संचारको माध्यमबाट सहयोग पुर्याउँछौँ । त्यसको निर्णायक काम राजनीतिक पार्टीका जनवर्गीय संगठनहरुले गर्नेछन् । 

सामाजिक सुधारको आन्दोलन अगुवाहरुले गर्नुहुन्छ । हामी संगठनमा राम्रो योगदान गर्नेलाई राम्रो, गलत गर्नेलाई स्वच्च आलोचना गरेर सुधार्ने गर हामी अगाडी बढ्छौँ । राष्ट्रिय दलित पत्रकार संघको भविष्य र यसको तस्बिर मैले सुन्दर देखेको छु । राम्रो सम्भावना देखेको छु । यससंग जोडिने साथीहरुले नेपालको दलित मुक्ति आन्दोलनलाई दिलैदेखि सहयोग पुर्याउनु हुन्छ भन्ने कुरामा म बिश्वस्थ छु । हाम्रा कपिय साथीहरुले आफ्नो जिन्दगी नै दलित मुक्ति अन्दोलनमा बिताउनु भएको छ । तर मिडियामा आउन सक्नु भएको छैन । बिभिन्न प्रतिभा बोकेका कलाकार हुनु हुन्छ उहाँहरु गुमनाम जस्तै हुनु हुन्छ । हामी त्यस्ता लुकेका प्रतिभालाई बाहिर ल्याउने काम पनि गर्छौँ । हामी यो आन्दोलनका सिपाही हौँ । हामी निर्णायक होइनौ । निर्णायक काम गर्ने त राजनीतिक दलका जनवर्गीय संगठनहरुले नै हो । ति संगठनका काम तषा गतिबिधिलाई आम जनतामाझ पुर्याउने भुमिकामा राष्ट्रिय दलित पत्रकार संघ सधै प्रतिबद्ध छ । हाम्रो टिमका सबै साथीहरु नेपालको दलित आन्दोलन शसक्त ढंगले उठोस भन्ने चाहना राख्नु हुन्छ । 

महाधिबेशन कहिले सम्पन्न गर्ने तयारीमा हुनु हुन्छ?
हामी अत्यन्तै दौडाहाका साथ संगठन निर्माण गरिरहेका छौँ । हामीसंग समयको अभाव छ । हामीसंग धेरै श्रमजिबी पत्रकार साथीहरु हुनु हुन्छ । ति पत्रकार साथीहरु संगठन निर्माणका काममा हिड्नु भएको छ । काम गरेर कमाई गर्ने समय संगठन निर्माणलाई दिनु भएको छ । त्यसैले हामी धेरै समय संगठन निर्माणलाई दिन सक्दैनौँ । छिटो भन्दा छिटो संगठन निर्माणको प्रकृयालाई टुङ्ग्याएर यो वर्ष भित्रै पहिलो महाधिबेशन गर्छौ । हामी त्यो महाधिवेशनमा सबै जिल्लाका साथीहरुलाई समेट्नेछौँ । देशैभरिका साथीहरु एकै ठाउँमा जुटेर अबको नयाँ नेतृत्व छान्नेछन् । मैले नयाँ तथा कृयाशिल साथीलाई नेतृत्व सुम्पेर म सल्लाहकारको रुपमा बस्न चाहान्छु । समय र परिस्थितिले मलाई नेतृत्व सुम्पे पनि पहिलो महाधिवेशनले चाँही नयाँ नेतृत्व पाउने छ । योग्य दक्ष र लगनशिल साथीलाई नयाँ नेतृत्वमा बिकास गरि आफुले यसको सहयोगी भएर काम गर्ने मेरो तीब्र इच्छा पनि हो । हामी २०७६ साल भित्रै महाधिवेशन गर्ने तयारीमा छौँ । हामीलाई केही आर्थिक चुनौती पनि छन् । ति चुनौतीलाई कसरी सामना गर्ने भनेर हामी केन्द्रिय समितिमा बैठक गर्छौँ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

  • २४ चैत, २०७६

पोखरा । विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि

संक्रमित बढेकाले लकडाउन थप सशक्त हुन्छ : मुख्यमन्त्री भट्ट

  • २४ चैत, २०७६

धनगढी । नेपालमा पुष्टि भएका कोभिड–१९ का नौ  संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन्  ।  शनिवबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई

कोरोना संक्रमणः हामी दोश्रो चरणमा छौ, तेश्रो र चौथो चरण भयावह हुन सक्छ : डा. पुन

  • २४ चैत, २०७६

काठमाडौं । विश्वमा नै महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस) को नेपालको एकजना स्थानीयमा पनि संक्रमण देखिएसँगै दोस्रो चरणमा प्रवेश गरेको छ