• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सम्झनामा अनेकोट र साँस्कृतिक प्रतिरोध दिवस  

२०५७ चैत ४ गते साँझ अफिसमा फोन आयो । फोन जनादेशका कार्यकारी सम्पादक गोविन्द आर्चायको थियो । 

‘नजिकै हो भोली नै फर्किने जानुपर्यो तपाईं’ गोविन्द सरले भन्नुभयो ।

गुणराज दाइलाई भनें–‘दाइ म भोली बाहिर जान्छु । बेलुकी आइन्छ भनेका छन् माओवादीका  

‘ओहो राम्रो नि, भइहाल्छ नि । पहिलेको जस्तै राम्रो रिपोर्टिङ्ग गर्नु नि’ गुणराज दाइले भन्नुभयो । 

तत्कालै गोविन्द सरलाई फोन गरें–‘गोविन्द सर मलाई अफिसले जान भन्यो ।’

‘त्यसो भए तपाईंहरु बिहान ८ बजे तीनकुनेको मन्दिर छेउँमा सम्पर्क स्थान दिइएको छ । 
त्यहीं आईपुग्नु होला ।’

माओवादीको कार्यक्रममा जानेबेला कोसँग सम्पर्क गर्ने, कुन ठाउँ जाने अग्रिम जानकारी नगराईने चलन थियो । हामीले जानकारी पनि मागिन्नथियो । 

जाने कता हो थाहा थिएन । सम्पर्कमा डा. ऋषिराज बरालको नाम बिहान दिइयो । समयमै तीन कुने मन्दिर छेउमा पुगें । त्यतिबेला तीनकुनेमा ६ लेनको बाटो बनेको थिएन । मार्वलहरुको पसल थिए ।

एउटा सेतो जिप आयो । जीपमा डा. बराल, आनन्दराम पौडेल, कृष्णज्वाला देवकोटा, मनऋषि धिताल, दिनेश रेग्मी, मधुसुधन पाण्डे र एकजना नचिनेका व्यक्ति आए । दिनेशजी त्यतिबेला नेपाल समाचारपत्रमा काम गर्नुहुन्थ्यो । 

काभ्रे जाने जानकारी गराउनुभयो डा. बरालले ।

मूलबाटो छोडेर सरासर बनेपा पुगियो । त्यहाँ पुगेपछि कुन बाटो जाने भन्नेमा ती अपरिचित मान्छे र डा. बरालबीच कुरा भयो । सिधै बाटोबाट जाँदा अबरोध हुन सक्ने भएकाले नयाँ बाटो जाने निर्णय लिनु पर्ने भयो । 

भर्खर ट्रयाक खोलेको बाटोबाट जाने निधो भयो । चालकलाई त्यो बाटो थाहा रहेनछ । बनेपाबाट मयूर फिलिमहल हुँदै उत्तरपूर्वी बाटो लाग्ने सल्लाह परिचय नभएका व्यक्तिसँग भयो । परिचय नभएका व्यक्तिसँग डा. बराल गफ गरिरहनुभएको थियो । हामीलाई लिन आएको माओवादी भन्ने स्वतः थाहा भयो । 

‘भाइ बायाँबाट जाऔं’ डा. बरालले भन्नुभयो ।

‘भरखर ट्रयाक खालेको बाटो हो, कहिल्यै गइएको छैन । जान सकिन्न कि ? बाटो अप्ठेरो छ होला’ चालकले भन्यो । 

‘साथीहरुले सम्पर्क नै यही बाटोको दिएका छन् । पाँचखालबाट त छिर्न दिन्न । प्रहरी नजिकै छ’ हामीलाई लिन आएका ती अपरिचित माओवादीले चालकलाई भने ।

खरो स्वभावमा बोल्ने बानी डा. बरालले भन्नुभयो– ‘पाँचखालबाट छिर्न गाह्रो भनेपछि हिड् न भाइ, अप्ठेरो भए फर्किनुहोला हामी पैदलै जान्छौं ।’

मन नलागि नलागि टयाक्टरले बनाएको ट्रयाकमा चालकले जीप हाल्यो । तीनकुनेमा जम्मा हुँदै गर्दा केही अपरिचित व्यक्तिहरु दायाँ बाँया गरिरहेका थिए । गाडीमा त्यसबारे छलफल भयो । कतै सिआइडीले थाहा पाउने त होइनन् ?

डा. बरालले भन्नुभयो– ‘हा हामीले बाटो चेन्ज गरिहाल्यौं नि । किन डराउने ? तिनीहरुले थाहा पाउँदैनन् ।’

साँच्चिकै बाटो बेस्सरी अप्ठेरो रहेछ । अनेककोट जाने भनेर बल्ल आधा बाटोमा पुगेपछि जानकारी भयो । अनेककोट नपुग्दै वल्लो डाँडासम्म गाडी पुग्यो । त्यहाँ ओर्लेर हिड्यौं । ०५७ चैत ५ गतेको दिन । २०५५ चैत ५ गते ७ जना कलाकार एउटै घरमा प्रहरीले मारेकाले त्यसको स्मृति मनाउने कार्यक्रम रहेछ । बाटामा केही हुल मान्छेहरु त्यसतर्पm जाँदै गरेका भेटिए । 

अनेककोट पुगियो । मञ्च, माइक केही थिएन । सम्पर्क गर्ने घरमा पुगियो । सम्पर्कमा कोही आएनन् । हामीलाई लानेले चाउचाउ हालेका रहेछन झोलामा । एउटा घरमा पुगेर हामीले नै पकाउन लागेऔं । चाउचाउ पाक्दै गर्दा बल्ल भरुवा बन्दुक, ग्रिनेड भिरेका दश÷पन्ध्र जनाको केटा–केटीको हुल सम्पर्कमा आइपुगे ।

भनभने डाँडामा ठूलो रुख देखाउँदै एउटा कार्यकर्ताले भने–‘त्यही भनभने डाँडामा हो कार्यक्रम गर्ने । चारैतिर एम्बुस छ । सुरक्षाको लागि चिन्ता गर्नु पर्दैन ।’

त्यही हुलमा एकसाता अघि भेटिएका बिनोद भन्ने सानो भाइ भेटिए  । (उदयपुरका विनोद भाइ आमा–बुवा नभएका टुहुरा बालक थिए । उनलाई अग्नि सापकोटाले घरमा राखेर पढाउने व्यवस्था मिलादिनु भएको रहेछ ।)

अति चलाख, ती विनोदले कानमा खुसुक्क भने–‘दाइ अस्तिको फोटाहरु ल्याइदिनु भन्नु भएको छ साथीहरुले पिस्करमा खिचेको ।’ 

अनेककोट आउनेबेला फोटो धुलाएको भए ल्याइदिनु भन्ने खबर पहिल्यै भएको थियो । फोटो झोलामै बोकेको थिएँ । मैले भनें–‘पख मलाई भोक लागेको छ । पहिले चाउचाउ खाउँ । पाकिसक्यो मैले खान्छु । अनि देखाउँला ।’

फोटो देखाउन पनि गोप्य सल्लाह गर्ने अवस्था थियो । हतारमा तात्तै चाउचाउ खाएँ । 

‘हिड् विनोद परतिर जाऔं’ मैले भने ।

अलिक पर कान्लामा बसेर मक्खले फोटो हेर्दै थिए विनोदले मैले पालैपालो देखाउँदै थिएँ । माथी एक्कासी ‘ड्यामड्याम’ गरेको आवाज आयो ।

हातमा कटुवा समाएर क्षितिज नामका माओवादी कार्यकर्ता ढिककाल्ना केही नभनि हाम फालेर हाम्रो छेउँमा आइपुगे । घरभित्र दोस्रो लडमा चाउचाउ खानेहरुलाई थाहै थिएन । 

क्षितिजले हस्याङ्गफस्याङ्ग गर्दै भने– ‘पाँच जना ढल्यो, मेरै आँखाले देखेको हो । उताबाट फायर खोल्यो अब यहाँ बस्न दिन्न भागौं ।’

क्षितिजले कुरा सक्न नपाउँदै माथि गाउँमा ‘ऐया, ऐया’ भनेको ठूलो स्वर गुञ्जियो । विनोद र म ठूलो स्वास फेर्दै घरभित्रकालाई ‘भागौं भन्न’ पुग्यौं ।

सबै हतार गर्न लागे । भ¥याङको छेउँमा झोला राखेको थिएँ, हतारहतार झिके । उता हेर्छु आनन्दराम पौडेलले दाइले झन  मज्जाले चाउचाउ खाइरहनु भएको छ । 

‘ए दाइ के गरेको पुलिस आयो माथिबाट । एम्बुस पड्कियो साथीहरु सबै भागे छिटो गर्नुस्’ म ढोका छेउँमा पुगेर आनन्दराम पौडेल दाइलाई भने ।

एक्कसी चाउचाउ खाँदै गरेका थाल फ्याँकेर चश्माको डोरी हल्लाउँदै आनन्दराम दाइ ढोकामा आइपुग्नुभयो ।

अझै विश्वास नलागे जस्तो गर्न लागे केहीले । त्यहीबेला क्षितिज ढोकामा आइपुगे र भने– 
‘छिटो घेरा तोडौं साथी हो । ५ जना ढल्यो । उनीहरुले घेरा मार्ने भए हिडौं । सकेसम्म कम क्षति बेहेरौं ।’

हामी घरबाटा भाग्दै गर्दा धेरै भइयो । कार्यक्रम आउने भनेर सबै घरघरमा लुकेर बसेका रहेछन । अलिक पर खोल्सामा एउटा खरको घर रहेछ । त्यहाँ ज्वरोले सिकिस्त परेका एक महिला थिइन । त्यही सेल्टर लिने जोरबल गर्नुभयो रसकमलले ।

केही लडाकुहरुलाई अल्लो डाँडामा ग्रिनेड र भरुवा बन्दुक समाएर बस्न लगाउनुभयो । 

केही अगुवा नेताहरु हामीसँग रहे त्यही घरको पालीमा कोचाकोच भइयो ।

‘यो प्रतिक्रियावादीहरुको भाडाका टट्टुहरुलाई ठिक लगाइन्छ । एक मिनेट भए पनि यो व्यानर र झण्डा त देखाउनै पर्छ’ रसकमलले आक्रोश पोख्दै भन्नुभयो । (..... रसकमलाई शाही नेपाली सेनाले २०६०... महिना ... गते काभ्रेको ठाउँमा गोली हानि मा¥यो । रकमल त्यतिबेला काभ्रे जिल्लको इन्चार्ज समेत हुनुहुन्थ्यो ।)

माथि गाउँमा चिल्लीबिल्ली सबै सुनिराखेका छौं । एकै छिनमा हेलिकप्टर आकाशमा उड्न थाल्यो । कार्यक्रम गर्ने कि ? घेरा तोड्ने ? बहस शुरु भयो ।

डा. बराल एक्कासी झोक्किएर भन्नुभयो– ‘हामी महान सहिद ती कलाकारको स्मृतिमा आएका हौं रसकमल जी । थप साहित्यकार, पत्रकार, कलाकारलाई फेरी सहिद गराउन आएका हैनौं । ठोस वस्तुको ठोस विश्लेषण गरौं । घेरा तोडौं सकेसम्म चाँडो ।’

पहिले तोड्ने को भन्ने भयो । पहिलोमा तेजबहादुर मिजार र मलाई लगाईयो । मिजार खाइलाग्दा । हातमा करलेश । घन्टी बजेको बज्यै । हामीले त्यहाँबाट काठमाडौैंमा घेरामा परेको सुनाएऔं । एउटा सानो खोला तरेर पारी डाँडाबाट सबै गतिविधि देखिने । हेलिकप्टर आकाशमा फनफनी घुमेको थियो । एम्बुस राखेको ठाउँमा प्रहरीले आगो लगाएछ । डढेलो नै लाग्यो । वारीबाट सुईए गरियो । हातको इशाराले अन्य साथीहरुलाई आउन संकेत ग¥यौं ।

मिजार र म डाँडाको चौतारीमा साथीहरुलाई पर्खियौं । सबै आएपुगे । क्षितिज आइपुगेनन् ।

‘क्षितिज जी दुर्घटनामा पर्नु भयो कि क्या हो ?’ रसकमलले चिन्ता व्यक्त गर्नुभएन ।

त्यो बेला मोबाइल आएको थियो, सबैको पहुँचमा थिएन । सबै जम्मा हुँदा ५ बज्यो । डौडेर पुरै तिघ्रा, पासुला लगलग काँप्ने भएका थिए । अलिक पर गाउँमा पुग्दा सानो पसल रहेछ । त्यहाँ पुगेर थिनआराररुट विस्कुट खाइयो ।

रसकमलले भन्नुभयो–‘ल अब सेल्टर जाने । काठमाडौंबाट आएका साथीहरुलाई पारी लाने ।’

‘टेलिफोन नजिक भएको ठाउँमा राख्नुस् कमरेड । समाचार त पठाउनु प¥यो’ प्रस्ताव गरें । 

‘यस्तो भागाभाग भयो । के समाचार पठाउनु हुन्छ र ?’ रसकमलले भन्नुभयो  ‘जेजे भए त्यही पठाउँछौं । जसरी भागदौड भयो त्यस्तै समाचार हुन्छ’ मैले भनें ।

सेल्टरमा पुगियो । त्यहाँ खाना खानेको संख्या गनियो । समाचार टेलिफोनबाट पठाउने सल्लाह भयो । टेलिफोन कुन्ताबेसीमा रहेछ । दिनेशजी, म, विनोद भाइ र एक जना हाम्रा सुरक्षा गार्ड टेलिफोन भएको ठाउँमा पुग्यौं । विनोदले कटुवा दाइने कम्मरमा बाँधे । 

मूलबाटोबाट जाने कुरै भएन । खेतै खेतको बाटो हिड्यौं । लाइट बाल्ने कुरै भएन । दिनभर गाउँको तनाब । सुरक्षा कडाई हुने नै भयो । घुँडाघुँडा पानी आउने खोला तर्नुपर्ने भयो । 
बगरमा बसेर जुत्ता झिकियो । खोला तरेर टेलिफोन भएको घरमा पुगियो । ती हाम्रा सुरक्षागार्ड बनेकाले ढोका ढकढकाए टेलिफोनका घरबेटीको । 

‘दाइ दाइ ढोका खोल्नुस् त । आज माथि अनेककोटको घट्ना बारे समाचार पठाउने हो । पत्रकार साथीहरु आउनु भएको छ ।’

सटर खोले टेलिफोन सञ्चालकले । सटर लगाएर भर्खर हेन्डफ्री बनाएर डायल टोन सुरु गरेका थियौं । घुम्ति बाटोको छेउमा सानो चौपारी र पिपलको बोट थियो टेलिफोन गर्ने घर । प्रहरीले साइरन बजाउँदै त्यही रोक्यो । मुटु ढु्कढुक गरेर श्वासै रोकिएला जस्तो भयो । चारै जना चुपचाप श्वास सकेसम्म सुस्तरी फेर्यौं । बाहिर प्रहरीको गाडीबाट गुडुडुडु आवाज आइरह्यो ।

गाडी केहीबेरपछि घुर्रघुर्र गराउँदै फर्कियो । मन अलिक ढुक्क भयो । साढे ८ बजिसकेको थियो । यता डेटलाइनको कुरा । समाचार लेखेर पठाउने सम्भावना थिएन । फोनवालालाई उपल्लो तलाको झ्यालबाट प्रहरी चियाउन लगाएऔं । हामीले तलबाट भटाभट फोन हान्यौं ।

गुणराज दाइलाई मोबाइलमा फोन गरें । त्यही बिहानदेखि उहाँलाई ज्वरोले बेस्सरी च्यापेको रहेछ ।

‘मलाई आजै बिहानदेखि बेस्सरी ज्वरोले च्यापेको छ । तै पनि म यस्तो लाइभ न्युज त बनाइहाल्छु नि जान्छु’ गुणराज दाइले भन्नुभयो ।

मेसैसँग घट्ना भनें– ‘माओवादीका कलाकार मारिएको तेस्रो स्मृति सभाको आयोजना रहेछ । काभ्रेको अनेकोटमा । नगरकोटबाट ३ किलोमिटर तल गाउँमा । यता पाँचखालबाट आउँदा मोटर बाटो नजिकै पुगेको रहेछ । माओवादीले चारैतिर एम्बुस राखेका थिए । 

त्यसमध्ये नगरकोटबाट आउने बाटोमा प्रहरीलाई एम्बुसमा पारे । एम्बुस पड्काउनेले दिएको जानकारी अनुसार ५ जना प्रहरी ढलेका थिए रे । उनीहरुको थप अवस्था बारे बुझन सकिएन । काठमाडौंबाट गएका साहित्यकार पत्रकारहरुले सबै सकुशल घेरा तोडे । 

गाउँमा साँझसम्म चिल्लिबिल्ली सुनिन्थ्यो । के कति क्षति भयो, कति पक्रिए थाहा भएन । केही माओवादी कार्यकर्ता समेत परेको आयोजक समितिले जनाएको छ ।’

मैले सकेपछि दिनेश जीले समाचारपत्रमा सम्पर्क गर्नुभयो । फेरी बाहिर निस्कने कसरी अर्को समस्या आइलाग्यो । फोनको पैसा तिरिऊँ । ५६ रुपैया भएको रहेछ । विस्तारै सटर खोलिदिए फोन सञ्चालकले । हामी त्यही चौपारीको छेउबाट पुरानै बाटो समात्यौं । खोला तरेर सेल्टर आइपुग्यौं । त्यहाँ रहेका साथीहरुले खना खाँदै थिए ।

टेलिफोन गर्दा प्रहरी फन्दामा परेको घट्ना सुनाएऔं । उनीहरुले भने–‘माथि बाँच्ने यहाँ झन्दै पर्नुभएन छ । ओहो बच्नु भएछ ।’

भोक बेस्सरी लागेको थियो । बेंसीको नयाँ आलुको तरकारी, दाल, दुःधको व्यवस्था गरिएको रहेछ । तीन पटक थपेर खाइयो । प्रहरीद्वारा दुई वर्षअघि मारिएकी एक कलाकारकी आमा हाम्रै सेल्टरमा रहिछिन । उनीसँग पत्रकारहरुले कुरा गर्ने तयारी भयो । रात छिप्पिदै गयो । घेरा तोड्दाको थकाईले लखटरान परिएकाले भोली मारिएको घरमै गएर कुरा गर्ने सल्लाह भयो । सुत्ने व्यवस्था पल्लो घरमा रहेछ । कटुवा विनोदले भिरेकै थिए । विनोदले मसँग सुत्ने इच्छा व्यक्त गरे । कटुवा झिकेर सिरानीमा राख्दै मेरो छेउँमा निदाए उनी ।

विहान उठेर फेरी अनेककोटतिरै लाग्यौं । विहान चिया नास्ता गरेर फेरी त्यहीं गाउँमा पुगियो । गाउँ पुग्दा चाउचाउ खाएको घरमा पुगियो । सोधियो अघिल्लो दिनको घट्ना बारे । अघिल्लो दिनको घट्ना बारे कोही बोल्न चाहेनन् । 

पछि समाचार सुनेर थाहा भयो । मैले पक्राउ परेको संख्या दिएको थिएन । काठमाडौंमा केदार ओझाले बुझेर मेरो समाचारमा ८५ जना पक्राउ परेको थप गरिदिनुभएछ । हामी गाउँ पुग्दा समाचारपत्रका दीपक रिजाल, काभ्रेबाट भोजराज तिम्लिसिना मोटरसाइकलमा त्यहाँ पुगेका थिए ।

विहान कान्तिपुरमा मेनन्युज आएछ । बाइलाइन आयो घट्नास्थल अनेककोटबाट उजिर मगर भनेर । नेपाल समाचारपत्रमा पछाडी पाना सानो आएछ । दिनेशजीले भन्नुभयो–‘यस्तो हेर्नुस् त हाम्रो समाचार प्लेसिगं ?’

‘घटनाको समाचार त एउटै टिपाएका हौं । मेरोले ठाउँ पाएछ’ मैले दिनेशजीलाई भनें ।

अनेकोट पुगेर एम्बुस पड्केको ठाउँ हेर्यौं । गाउँमा कसैले हामीलाई केही भन्न चाहेनन् । कलाकारहरुलाई मार्दा घरै भत्काइएको रहेछ दुईवर्षअघि । त्यहाँ च्याङ्वा भन्ने निक्कै चर्चित कलाकार मारिएका रहेछन । कलाकार मारिएका घरमा गइयो । पछि माओवादीले साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’र च्यागंवाको नामबाट ‘सेन–च्याङ साँस्कृतिक परिवार’ नाम राखेका छन् । 

राती तल कुरा गर्ने भनेकी मारिएकी कलाकारका आमाले आँखामा आँशु पिलपिल गराउँदै भनिन–‘यी ढुंगाहरु रातै थिए । यो देश र जनताका लागि बलिदान दिन तयार छु आमा भन्दै कम्मर मर्काई, मर्काई नाच्थी छोरी । यही हत्या गरे प्रतिक्रियावादीहरुले ।’

फर्किने साधन थिएन ।

दीपकहरु मोटरसाइकल भएकाले काठमाडौं फर्किए ।

म बनेपासम्म आइपुगें ।

त्यहाँ .....प्रल्हाद हुमागाईंलाई भेटें । त्यतिबेला उनी संयुक्त जनमोर्चाको कार्यालयमा थिए । त्यही अफिसमा बसेर अर्को समाचार पठाएँ । बनेपा आइपुग्दा थाहा पाएँ समाचारले यति तहल्का पिटेको रहेछ सबैले साहासी, पहिलो घट्ना भन्न थाले ।

बिहानै काठमाडौं आएँ । दुई दिनको धुलो शरिर पुरै पसिनाले गन्हाएको थियो । घरमा आएर नुहाएँ । 

बाह्र बजेतिर अफिस पुगें । तल गेटबाट मलाई सबैले–

‘ओहो उजिर ।’

आश्चर्य मान्दै घटनाबारे थप बुझ्न चाहे । युवराज घिमिरे दाइ सम्पादक हुनुहन्थ्यो । नारायण वाग्ले दाइ समाचार सम्पादक । अर्को दिनको नियमित सम्पादकीय टिमको ११ बजे मिटिङ्गमा सबै जम्मा भएका थियौं ।

अनेककोट घट्ना बारे सबै बेलिविस्तार लगाएँ । 

अहिले कान्तिपुर टेलिभिजन स्टेशन भएको घरमा चिटिक्कको तीनतिर बस्ने क्यान्टिन थियो । त्यहाँ चिया खान बसेको काठमाडौं पोस्ट साथीहरुले फेरी घेरा हाले । सबै बेलिविस्तार लगाएँ ।

चौथो तलामा पुगेर गोविन्द आचार्यलाई फोन हानें–‘बल्लबल्ल घेरा तोड्न सफल भइयो सर ।’

‘हामी पनि रातभरी छटपटिएऔं । साथीहरु घेरामा परेको खबर पाइयो । सम्पर्क कसैसँग भएन । बिहान तपाईंको समाचार पढेर ढुक्क भइयो’ गोविन्द सरले भन्नुभयो । 

त्यतिबेला युवराज दाइले रिर्पोटरहरुलाई आफ्नो अनुभव लेख्न लगाउने नीति बनाउनुभएको थियो । स्तम्भ थियो ‘रिर्पोटरको डायरी’  । धेरैले जहाँ भेटे पनि त्यही घट्ना सोधिरहने । हैरान पार्थे । मैले घट्नाको पाचौं दिनपछि रिर्पोटरको डायरी लेखें । ७ पेजमा छापिन्थ्यो । शिर्षक गुणराज दाइले चयन गरिदिनुभयो ।

प्रहरी घेरा तोड्दा र समाचार पठाउँदा प्रहरी फन्दबाट जोगिएको सबै बेलिविस्तार लेखें । अन्तमा ‘नमरी बाँचे, कालले साँचे समाचार कति कति’ भनेर टुंगाएको थिएँ । त्यसैलाई गुणराज दाइले शिर्षक राखिदिए ।

त्यही डायरीको लेख छेउमा एउटी छापामारले ग्रिनेट समाएर जोस्सिएको फोटो राखेँ । पछि नेगेटिभ मनऋषि धितालले माग्नुभयो धुलाउने भनेर । मैले दिएँ । पुतली सडकमा त्यतिबेला जनआव्हानको कार्यालय थियो । त्यहीं राख्नु भएको रहेछ । धिताल पक्राउ पर्दा प्रहरीले त्यो नेगेटिभ समेत सबै कागजपत्र जफत गरेछ ।

मनऋषि र मेरो जेलमा भेट हुँदा, भूमिगत, शान्ति प्रक्रिायमा आएदेखि सधैं त्यो नेगेटिभको कुरा हुन्छ । माओवादी कार्यकर्ता नबनेर पत्रकारिता र साहित्यकार पहिलो पटक घेरामा परेको ऐतिहासिक घटनाको फोटो गुम्यो भनेर हामीबीच छलफल चलिरहेको छ । 

(२०५७ चैत ५ गते ‘अनेकोटमा साँकृतिक प्रतिरोध दिवस’ मनाउने क्रमममा प्रहरी घेराको संस्मरण गर्दै मगरद्वारा लिखित “अंश’’ पुस्तकको एउटा खण्ड ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर