कोरोनाविरुद्ध प्रदेश सरकारको ११ करोड ५० लाख बजेट

डोटी ।  कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ११ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आज मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरणसहित उपचार गर्न र यहाँका तराईका जिल्लामा रहेका  सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा रहेको आइसोलेसशन बेड निर्माणका लागि सो बजेट विनियोजन गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई रु पाँच लाख, नगरपालिकालाई रु चार लाख र गाउँपालिकालाई रु तीन लाख  उपलब्ध गराउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ । त्यस्तै  बैठकले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीको लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको विपद्लाई ध्यानमा राखी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर