• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

वर्षमान पुन ‘अनन्त’को 'कोभिड–१९ डायरी'

कोरोनाले बदलिंदै समाज : 

के धनी, के गरिब । कोरोनाले सिकाएको पहिलो पाठ, विश्वभरी मृत्यु, संक्रमण यो महामारीको दुःखद् क्षण हो । तर, यसले सबैको जीवनशैली एउटै ढाँचामा पुराईदिएको छ । मानव जातिका आ–आफ्ना हैसियत अनुसारका घर छन् । अहिले त्यहीँ आ–आफ्नै घरको पर्खाल बाहिर जान कमैको हिम्मत आउँछ । सबैका मुखमा मास्क, हातमा सेनिटाइजर, सामाजिक दुरी टाढा । पृथ्वीमा जति पनि चेतनशील मानिने मानव जाति छन्, यो एक महिनादेखि उनीहरुको जीवनशैली यो भन्दा भिन्न देखिन्न ।

कोभिड–१९ को महामारीले कतिसम्म क्षति पुर्याउने हो, आँकलन गरिहाल्ने अवस्था आएको छैन । यद्यपी विश्वको अर्थतन्त्र, व्यवस्था, जीवनशैली, विकास सबैमा यसको दिर्घकालीन असर पर्ने संकेतहरु देखिएका छन् । 

‘समाज बदलिन्छ । नयाँ व्यवस्था पद्दतिको जन्म हुन्छ यो महामारीका कारणले भन्ने विज्ञहरुले अनुमान गरेका छन् । यसमा केही सत्यता छ । कोभिड–१९ले कतिसम्म विध्वंश गर्छ भन्नेले सबै कुराको निर्धारण हुन्छ’, अबको समाज नयाँ ढाँचामा जाने पूर्वानुमान गरे ऊर्जा, सिंचाइ तथा जलश्रोतमन्त्री, नेकपाका नेता अनन्तले ।

प्रकृतिसँग जोडिएर भएका विकास मोडल यतिखेर परिपक्व देखिंदै गए । वातावरण अनुकुलको योजना अनुसार बनेका बस्तिहरुमा कोभिड–१९को संक्रमण कम देखियो । स–साना बस्ति अर्थात् टाढा रहेका गाउँ बस्तिमा संक्रमण कम देखियो । आफ्नो जीवनशैली साधरण ढंगले चलाएका समाजमा संक्रमण कम देखिएको तथ्य उनले उजागर गरे । 

अनन्तको विश्लेषण छ– ‘जहाँ प्रकृतिलाई उछिनेर विकास गरिए । जहाँ पुराना संस्कृति, परम्परा भत्काईए, जहाँ उत्पादन र व्यापारलाई मात्रै हेरियो त्यहीँ ठाउँमा कोभिड–१९ को संक्रमण बढि फैलियो । त्यो भन्दा भिन्न जीवनशैली व्यतित गरेका समाज, समुदायमा त्यो देखिएन । यी आधारहरु हेर्दा कोरोनाको अन्त्यसँगै समाज अनिवार्य बदलिने छ ।’

कोरोनाको कहरपछि काठमाडौंबाट १२/१३ लाख मान्छे गाउँ फर्किए । यी मान्छेहरु सुरक्षाका निम्ति मात्रै गाउँ गएका होइनन् । यो सामाजिक मनोविज्ञान हो । हिजोका दिन शहर किन आउनुपर्थ्यो ? अबसरको खोजिका कारण । अहिले स्थानीय तहमा भएका पूर्वाधार, खानपीन, हावा, पानी ग्रामिण वस्तिकै राम्रो लाग्न थाल्यो मान्छेहरुलाई । 

जहिले विपत्ति आउँछ मान्छे पुर्खेउली थात थालोतर्फ लाम लागेर फर्किएको छ । यसको अबसर छोप्न राज्यले नीतिगत अवधारण बनाउने योजना उनले सुनाए । उनले अहिलेको सत्यतालाई केलाउँदै भने– ‘आखिर देशै प्यारो, गाउँ नै प्यारो ।’

‘शहर र विदेशदेखि धनी, गरिब सबै गाउँ फर्केका छन् । आफ्नो गाउँ जति प्यारो भयो, देशप्रति जति माया लाग्यो विदेश रहेकाहलाई । हो यही भावनालाई हामीले राष्ट्र निर्माणमा लगाउनुपर्छ’, पैसा भएका र नभएकाको उदाहरण पेश गर्दै अनन्तले भने– ‘पैसावालाहरु हिजो थाइल्याण्ड, सिंगापुर गएर उपचार गर्थे । अहिले त पैसा भएर पनि जान सक्ने अवस्था आएन । यो संकटको बेला आखिर टेकु, पाटन अस्पताल नै चाहिने रहेछ ।’

– बढ्दै उज्यालो, बदलिंदै समाज ।
– धनी, गरिब एकै ठाउँ ।
– अखिरमा देशै प्यारो, गाउँ नै प्यारो ।
– विश्वको शासन प्रणालीमा किन उठ्यो प्रश्न । 

यसको शिक्षा हो, अब स्थानीय, प्रदेश र केन्द्रमा ठूला अस्पताल निर्माण गर्नुपर्छ । ‘फराकिलो सडक, सुन्दर पार्क, ठूला रंगशाला, नाम चलेको निजी अस्पतालको जुन चर्चा छन् त्यो दोस्रो चरणको काम रहेछ । अहिलेको संकटले हामीलाई के सिकायो भने स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता । भौतिक पुर्वाधार जति बन्दै छन् त्यो भन्दा पहिला स्वास्थ्य र शिक्षा प्रणालीमा जोड् दिनुपर्ने देखियो’, राज्यको दायित्व कुन क्षेत्रमा प्राथमिकता हुनुपर्छ भन्ने बारे प्रष्टयाउँदै उनले भने ।
.............

बिजुली उत्पादन र खपत :

नजिकिँदै गरेको बैशाखले विस्तारै तापक्रम तताउँदै लगेको छ । यो मौसमी तापक्रमले हिउँका डल्लालाई पगाल्न शुरु गरिसकेको छ । हिउँका डल्ला पग्लिदा नदीनालाका मुहानका आकार बढ्दै गएको छ । 

पानीको स्रोत बढेपछिका दिनहरु बिजुली उत्पादनका लागि सुखद् हुन । विद्युत प्राधिकरणले अब, आफ्नो मेघावाटको अंक उकालो लागेको गणना गर्नेछ । ‘बिजुलीको खपत गर्नु भनेर उर्जा मन्त्रालयले आव्हान गरिसकेको छ । आव्हान गर्नुका एउटै कारण, आफ्नो उत्पादनको बजार विस्तार । 

कोरोना भाइरस ९कोभिड–१९०को विश्वव्यापी महामारी । नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा पुगेको विश्व स्वास्थ्य संगठनले बताईसकेको छ । कोभिड–१९ को संक्रमण ९ मध्ये एक स्थानीयमा देखिएपछि सबै जना झन् अनुशासन कायम गरेर बस्नु पर्नेछ । ‘बिजुली अत्यावश्यक सेवाभित्रै पर्छ । लकडाउनका कारण जनता घरभित्रै छन् । जनताले जुन धैर्यता देखाएका छन्, त्यो हामी सबैका लागि हो । यो समयमा कतै लोडसेडिङ नहोस् भनेर सबै प्रवन्ध मिलाएका छौं’, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले मन्त्रालयको योजना सुनाउँदै भने– ‘१ सय ५० युनिटसम्म सरकारले छुट दिएको छ । सकेसम्म बिजुली धेरै खपत गर्नुहोस् भनेर जनसमुदायमा आव्हान गरेका छौं ।’ 

ग्यासको माग अहिलेसम्म अत्याधिक छ । त्यसलाई कम गर्न सहुलियतमा विद्युतबाट चल्ने चुल्हो ‘इन्डक्सन’ प्रयोग गर्न सरकारले नै आग्रह गरेको छ । ‘इन्डक्सन चुल्होमा भन्सार छुट गरिएको छ । १ सय ५० युनिटसम्म बिजुलीमा छुट गरिएको छ । लकडाउनपछि जनतालाई सहज होेस् भनेर  यो निर्णय गरिएको हो । त्यसैले बिजुलीको मागलाई प्राधिकरणले पुरा गर्न सक्ने भएकाले खपत गर्न बढि जोड् गरिरहेका छौं’, आफ्नो मन्त्रालय अन्र्तगत रहेको प्राधिकरणबाट बिजुली उत्पदनको नालिबेली लगाउँदै अनन्त भन्छन ।

लकडाउन शुरु हुनुअघि १२ सय मेघावाटको खपत थियो । लकडाउनपछि खपत स्वात्तै घटेर ७ सय मेघावाटमा झरेको छ । प्राधिकरणले अहिले दैनिक ६ सय मेघावाट उत्पादन गरिराखेको छ । ‘अहिलेकै अवस्थाको खपत हुने हो भने हाम्रै उत्पादनले पुग्ने अवस्था आउन लागेको छ । बैशाखदेखि तापक्रम बढ्दा हाम्रो उत्पादन ६ सय मेघावाटबाट उकालो लाग्छ’, अनन्तले बिजुलीको बढ्दो उत्पादन सम्बन्धि कथा सुनाए । उनको यो संकेत अब, कसैले झ्याप्प बत्ति निभ्यो भन्ने दिन आउँदैन भन्नेतिर थियो ।

बिजुलीको बढि माग हुने साँझ र बिहानको समय हो । बिजुलीको बढि माग हुने समयमा लोडसेडिङ हुन नदिन प्राधिकरणले सबै व्यवस्था मिलाएको छ । ‘भार प्रेषण केन्द्रका ईन्जिनियर साथीहरुलाई घर जान दिएका छैनौं । आइसोलेशनकै शैलीमा उहाँहरुलाई चौबीसै घन्टा त्यहीँ आवासीय व्यवस्था मिलाएर डिउटीमा खटाएका छौं’, लकडाउनमा लोडसेडिङको व्यवस्थापन बारे अनन्तले बताए ।

त्यसैगरी कहीँ तार चुँडिने, पोल ढल्ने, ट्रान्सफर्मरमा खराबीका कारण आइपर्ने समस्याका निम्ति अर्को मर्मत सम्भार टोलीलाई चौबीसै घन्टा डिउटीमा खटाइएको छ । जुन सेवा ‘नो लाइट’बाट दिइएको छ ।

राष्ट्रिय गौरव र केही ठूला विद्युतका आयोजना उर्जा मन्त्रालयकै मातहतमा छन् । ‘छुट्टै समूह बनाएर गाउँ, सहरका बस्ति भन्दा टाढाका परियोजनाहरु सञ्चालनमा छन् । ती परियोजनाहरुमा काम तत्कालै सुचारु गरिनेछ’, अनन्तले भने– ‘उत्पादनका लागि ठूला परियोजना, उद्योग, कृषि लगायत क्षेत्रमा संक्रमणबाट बँच्न मापदण्ड पुरा गरी कामलाई निरन्तरता दिने निर्णय भइसकेको छ । अब, तामाकोशी लगायतका परियोजनामा काम सुचारु हुन्छ’, लकडाउनपछि मन्त्रिपरिषद्ले तत्कालका लागि गरेको निर्णयहरुलाई विस्तारमा सुनाए ।
................

विश्वका शासन प्रणाली कुन ठीक ?
विश्व राजनीतिक शासन प्रणाली बारे कोभिड–१९ ले लगभग ९० दिनमा फेरबदल हुन्छ भन्ने बहसमा पुर्याईदिएको छ । अबका दिनमा शासन प्रणाली कुन हुने रु यो विषयमा बहस चल्न थालिसकेको छ । यो या त्यो अर्थमा विश्वका शासन प्रणालीको प्रभाव शक्तिशाली राष्ट्रहरु अमेरिका, युरोपीयन शैलीकै हुन । तर, कोभिड–१९ले यी प्रणालीमाथि थुप्रै प्रश्न उब्जाइदिएको छ ।

कोभिड–१९ ले शासन प्रणालीमा पारेको प्रभाव र रोकथाम गर्ने पद्दति देश अनुसार फरक–फरक देखियो । यसको रोकथाम गर्ने शैली चीन, कोरिया, जापानले आ–आफ्नो शैली अप्नाए । इटली, स्पेन लगायतको अर्को शैली । पछिल्लो पटक कोभिड–१९ को केन्द्र बनिरहेको अमेरिकी शैलीले उसको शासन प्रणालीप्रति प्रश्न बढि उठिराखेको छ । शक्तिशाली राष्ट्रहरु अहिले यहाँसम्म पुगे कि अरु राष्ट्रले कोरोना संक्रमण रोकथामका लागि गरेको शैलीमा जानु हुँदैन । चीनले कोभिड–१९ को ‘युद्ध’ जित्यो । त्यो ‘हतियार’ अर्को राष्ट्रले प्रयोग गर्न अस्वीकार गरिरहेको छ । तर, शक्तिशाली राष्ट्रको मनोदशा औंल्याउँदै अनन्तले भने– ‘कोभिड–१९ को संक्रमणबाट बँच्न विश्वभरी मास्कको माग छ । अहिले कोभिड–१९ केन्द्र अमेरिकालाई पनि मास्क चाहिएको छ । विश्व बजारको ४० प्रतिशत मास्क चाइनाले उत्पादन गर्दोरहेछ यसअघि । अहिले चीनले बढाएर ४८ प्रतिशत उत्पादन गरेर विश्व बजारमा बेचिरहेको छ ।’

कोभिड–१९ रोकथाममा चीनले अप्नाएको शैली उत्तम देखिएको छ तत्काललाई । यति छिटो संक्रमण नियन्त्रणमा लिनु चीनको अर्थ, उत्पादन प्रणाली र जीवनशैलीले निर्धारण गरेको उनले बताए । ‘अमेरिका सम्पन्न र शक्तिशाली मुलुक हो । उत्पादनमा अघि छ, गुणस्तरमा सम्झौता गर्दैन, जीवनशैली उच्च छ, स्वास्थ्य, शिक्षाको लेभल माथि छ । तर, अहिले भेन्टिलेटर, मास्क चाइनासँग माग्नु परेको छ । यसकारण विश्वमा देखिएका शासन प्रणालीमा नयाँ बहस शुरु हुन लागेको हो’, उनको ठम्याइँ छ ।
...................

सरकारको तर्फबाट हेर्दा 
सरकारको वास्तविकता अनन्तलाई स्वीकार्य छ, सिमित स्रोत साधनबाट सरकारले यो महामारी रोक्नु पर्नेछ । ‘सरकारसँग सिमित स्रोत साधान छ । तर, कुनै कसुर बाँकी नराखी पूर्व तयारी अप्नाएऔं । यदि सरकारले यसरी तयारी नगरेको भए कोभिड–१९ ले महामारीको रुप लिइसक्थ्यो । लकडाउन गरिएको छ । यसमा सम्पूर्ण जनसमुदायको साथ छ । र, सकेसम्म कम व्यक्तिमा संक्रमण देखिनु सरकारले गरेका कामको परिणाम हो’, सरकारले संक्रमण रोक्नका निम्ति गरेका तयारीमा उनले गर्व गरे ।

यतिबेला स्थानीय तहसम्म जनताले कोभिड–१९ बाट बँच्ने उपाय जानि सकेको उनको जिकिर छ । साबुन पानीले हात धुने, सानो समूह बनाएर बस्ने, विदेशबाट आएकालाई स–सम्मान होम क्वारेन्टाइनमा बसाल्ने, संक्रमणका लक्षणहरु देखिएमा चिकित्सकसँग परमर्शमा गर्ने सम्बन्धी ज्ञान स्थानीयलाई भइसको उनले बताए ।

संघीय सरकारमा स्थानीय र प्रदेश सरकारले गरेको रिपोर्टलाई आधार मान्दै उनले भने– ‘स्थानीय तह एकदम प्रभावकारी ढंगले परिचालित छ । जनप्रतिनिधि, चिकित्सक, स्वास्थयकर्मीबाट स्थानीयवासी प्रशिक्षत भइसकेका छन् ।’ यही रिपोर्टकै आधारमा संक्रमण रोक्ने थप प्रभाकारी कदम स्वरुप शनिबारको मन्त्रिपरिषद् बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक नगरपालिकाबाट अर्को नगरपालिका, एक गाउँ पालिकाबाट अर्को गाउँपालिका जानबाट रोक लगाको उनले सुनाए । 

सरकारको आव्हानलाई पुनः दोहोर्याउँदै अनन्तले भने– ‘सामाजिक दुरी टाढै राख्नुस्, संक्रमण रोक्न विश्व स्वास्थ्य संगठन, सरकार र चिकित्सकको सल्लाह बमोजिम काम गरेर उच्च मनोबल राखौं । कोभिड–१९ विरुद्धको ‘युद्ध’ जित्ने विकल्प यही हो ।’

सरकार अल्पकलिन र दीर्घकालिन राहतको तयारीमा जुटेको जानकारी उनले गराए । तत्काल दैनिक ज्यालादारी मजदुर, विपन्न वर्गलाई लक्षित गरी ३० केजी चामल र ३ केजी दाल राहत स्वरुप दिइएको छ । कोभिड–१९ पछि उत्पन्न हुने आर्थिक मन्दी, बेरोजगारी समस्या हल गर्न प्रधानमन्त्री रोजगारी कोषबाट उत्पादन क्षेत्रमा लगानी गरी रोजगारी सृजना गर्ने तयारी भइरहेको उनले बताए ।
 

(उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनसँग कुराकानीका आधारमा उजिर मगरले तयार पारेको आलेख ।)

याे पनि 

अध्यक्ष प्रचण्डको लकडाउन डायरी : मार्क्सको ‘पुँजी’बाटै उदाउँदो सूर्यको खोजी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर