• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘एक विद्यालय, एक नर्स’ : कार्यक्रम एक, लाभ अनेक  

चितवन । नारायणी नमुना उच्च माविको कक्षा ४ को सेक्सन ‘ख’ मा अध्ययन गर्छन्, रविन्द्र श्रेष्ठ । गएको फागनु ३ गते उनलाई स्कुलमा भेट्दा टाउको दुखेको र रुघा लागेको दुई दिन भईसकेको थियो । तैपनि उनी विद्यालय भने आईरहेका थिए । तेस्रो दिन उनको बिमार अलिक बढी नै भयो । यति हुँदा पनि उनी विद्यालयको नर्स कक्षमा नै आराम गरिरहेका थिए । 

उनको घरको आर्थिक अवस्था निकै कमजोर छ । आमा बुवा दिनभरी काममा जान्छन् । स्कुलमा आएपछि सबै ‘डाक्टरी सेवा’ पाईने रविन्द्रको बुझाई छ । यसैले उनी बिरामी हुँदा पनि स्कुल जान छाड्दैनन् । 
‘स्कुलमा आयो भने यहाँ डाक्टर हुनुहुन्छ । म त बिरामी भएपनि सधै स्कुलमा आउँछु’, बिरामी अवस्थामा पनि स्कुलमा आउँदा ढुक्क हुने बताउँदै उनले भने । 

नारायणी नमुना माविकै कक्षा नौ मा अध्ययनरत रीमा (नाम परिवर्तन) ले परिवारकै अगाडि धम्की दिएर गत वर्षको चैत महिनामा हात काटिन् । आमा बुबाले पनि उल्टै रीमाले सधैँ धम्की दिन्छे भनेर बेवास्ता गरे । सामान्य कुरामा सम्झाउँदा पनि झुन्डीने र विष खाने गरेपछि परिवारले वास्ता नगरेको रीमाकी आमा बताउँछिन् । 

यता रीमा भने सधैँ मर्न पाए हुने जस्तो मात्रै लाग्ने गरेको बताउँछिन् । उनी दिनदिनै डिप्रेसनमा पर्दै गईन् । हप्तामा पाँच दिनसम्म उनी विद्यालमा ढल्न थालिन् । रीमाले विद्यालयमा पनि फरक गतिविधि देखाउन थालिन् । उनको गतिविधिमा शंका लागेपछि विद्यालयर्की नर्स सञ्जु तिमिल्सिनाले उनलाई सम्झाउन थालिन । केटा साथीले धोका दिएको उनले नर्सलाई बताईन् । सो क्रममा रीमाले सात पटकसम्म आत्महत्याको प्रयास गरेको बताईन् । बाँच्न मन नलागेको जस्ता कुरा गरेपछि उनको रोग पहिचान गर्न नर्स सञ्जुलाई सजिलो भयो । नर्स सञ्जुले सुरुमा एक्लै राखेर रीमालाई काउन्सीलिङ्ग गरिन् भने पछि आमा बुबालाई राखेर काउन्सीलिङ्ग गरिन् । अहिले रीमा कक्षा दशमा पढ्छिन् । २०७६ असारबाट उनको पढाईमा सुधार हुँदै गएको छ । 

कक्षा नौ मा अध्ययन गर्ने एक विद्यार्थी नर्स कक्षमा टाउको दुख्यो भनेर औषधी लिन आउन थाले । उनी निकै तनावमा परेको जस्तो देखिन्थिन् । ओँठ पनि सामान्यभन्दा बढी नै कालो भएको थियो । 

उनलाई एक्लै राखेर नर्सले सबै कुरा सोध्दै जाँदा उनले एकै दिनमा एक बट्टासम्म चुरोट पिउने बताए । रातको बाह्र–एक वजेसम्म अनलाईनमा बस्ने पनि बताए । नर्सले उनलाई काउन्सेलिङ्ग गरेपछि अहिले विद्यालयमा उनको आनिबानी र पढाईमा निकै परिवर्तन भएको शिक्षक बताउँछन् । 

यी त भए तीनवटा प्रतिनिधि पात्र मात्र । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि चितवनको भरतपुरमा रहेको नारायणी नमुना माविमा अध्ययनरत छात्र छात्राको स्वास्थ्य र दैनिकीमा निकै परिवर्तन आएको छ । दैनिक २० देखि २५ जनासम्मले विद्यालयमा रहेको नर्स कक्षबाट सेवा लिने गरेको विद्यालयकी नर्स सञ्जु तिमिल्सिना बताउँछिन् । 

सञ्जुलाई विद्यालय समयमा विद्यार्थीहरुको स्वाथ्य जाँच गर्न भ्याई नभ्याई हुन्छ । मौसम परिर्वतन हुने समयमा त अत्याधिक विद्यार्थी बिरामी हुने नर्स सञ्जु बताउँछिन् । 

विस २०७५ मंसिरदेखि २०७६ माघ मसान्तसम्ममा छात्रा १२ सय ५ जना छात्र ८ सय ४६ गरी जम्मा २ हजार ५१ जनाको उनले प्राथमिक उपचार गराएकी छन् । यी बिरामी मध्ये पनि २२ जना छात्रा र २० जना छात्र गरी ४२ जनालाई विद्यालयबाटै अन्य अस्पतालमा रिफर गरिएको उनले बताईन् । त्यसैगरी २० जना छात्रा र १५ जना छात्र गरी जम्मा ३५ जनालाई घरमा आराम गर्न पठाईएको तथ्याक उनीसँग रहेको छ । 

गम्भिर अवस्था देखिएका छात्रा १३ जना र छात्र ८ जनालाई अभिभावकको साथमा राखेर मनोपरामर्श पनि दिईएको छ । 


टिफिन टाईममा साथीसंँग खेल खेलिरहेका कक्षा सातका रञ्जित कुसवालाई एकपटक खुट्टा मर्किएर नर्स कक्षमा साथीहरुले उचालेर ल्याए । रञ्जितको प्राथमिक उपचारपछि नर्स सञ्जुले भरतपुर अस्पतालमा रिफर गरिन् । खुट्टा सुन्निएको र एक्स–रे गरेर हेर्नुपर्ने भन्दै रिफर गरेको उनी बताउँछिन् । प्राथमिक उचार गरेर थप उपचार गर्नुपर्ने भएमा सरकारी अस्पतालमा पठाउने गरेको सञ्जुको भनाई छ ।   

स्कुलका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले स्कुलमा नर्सबाट विद्यार्थीको प्रेसर जाँचदेखि महिनावारी र प्रारम्भिक स्वास्थ्य समस्याहरु हल भएको बताउँछन् । उनी ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विद्यालयमा लागु हुँदा सुरुवाती अवस्थामा यसको महत्व आफूले नबुझेको बताउँदै भन्छन्, ‘सुरुका दिनमा हामीले स्टार्फ नर्स पाउँदा त्यसको महत्व बुझेका थिएनौँ । सामान्य तरिकाले लियौँ । क्रमश स्टार्फ नर्स विद्यालयमा आएर परामर्श र सेवा दिन थालिसकेपछि हामीलाई के लाग्यो भने प्रत्येक विद्यालयले राख्न आवश्यक रहेछ ।’ 

नारायणी माविमा करिब २५ सय विद्यार्थी अध्ययनरत छन् त्यसमा पनि छात्राको संख्या अत्याधिक छ । प्रधानाध्यापक दवाडी भन्छन्–‘स्टार्फ नर्स विद्यालयमा आउन थालेपछि विद्यार्थी विशेष गरेर छात्राले आफ्ना समस्या निर्धक्कसँग राख्न सक्ने अवस्था छ ।’

प्रधानाध्यापक दवाडी विद्यार्थीमा बाहिरबाट हेर्दा समस्या नदेखिने तर भित्रभित्र निकै समस्या हुने बताउँदै भन्छन्, ‘विशेष गरेर छात्राको समस्यालाई नर्सले गहिरोसँग अध्ययन गरेर समस्याको पहिचान गरी समस्या समाधान गरिएको छ ।’ 

सरसर्ती हेर्दा विद्याथीमा समस्या नदेखिने उनको अनुभव छ । तर गहिरो रुपमा हेर्दा खेरी आत्महत्या गर्न प्रयास गरेको घटना, डिप्रेसनको समस्या, विद्यालय छाडेर भाग्ने, पारीवारिक समस्याका कारण विद्यालय आउन छाडेर बीच बाटोबाटै हिड्ने जस्ता समस्या विद्यार्थीमा हुने उनी बताउँछन् । 

अहिले नर्स कक्ष सुरु भएपछि विद्यार्थीमा हात कसरी सफा गर्ने, महिनावारी हँुदा कस्ता समस्या आउँछन् र कसरी समस्या समाधान गर्ने, विद्यालयको वातावरण कसरी सफा गर्ने लगायतका काम गर्न नर्सले गर्दा सहज भएको विद्यालयकी सामाजिक शिक्षक पार्वती दवाडी बताउँछिन् । उनको अनुभवमा विशेष गरेर सबै किशोरी यही विद्यालय उमेरमा महिनावारी हुने र महिनावारी हुँदा अपनाउनु पर्ने सरसफाईदेखि मनोसामाजिक परामर्श दिनसमेत नर्स मार्फत सजिलो भएको छ । 

उता नारायणी नमुना उच्च माविमा कार्यरत नर्स सञ्जु तिमिल्सिना विद्यालयमा नर्स आवश्यक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘विशेष गरेर कलिला नानी बाबुको धेरै समय विद्यालयमा बित्छ । यहाँ राम्रोसँग काउन्सीलिङ्ग गर्न नसकेमा उनीहरुले गलत बाटो रोज्न सक्छन् । विशेष गरेर किशोरावस्थामा धेरै परिवर्तन आउने हुँदा उनीहरुको मनोभावना अनुसार उपचार गर्न पाएमा कुनै पनि युवा पिँढी गलत बाटोमा जाँदैनन् ।’ 

विद्यालयमा आएको एक वर्षको अवधिमा बाह्र जना विद्यार्थीलाई आत्महत्या गर्नबाट बचाएको भन्दै उनी भन्छिन्,–‘किशोरावस्थामा आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने भावना आउँछ । तर उनीहरुले सही र गलत छुटाउन नसक्दा आत्महत्याको प्रयाससम्म गरेका घटना विद्यालयमा छन् ।’ 

नर्सले महिनावारीका बारेमा कक्षा पाँचभन्दा माथिका छात्रालाई जानकारी गराएकी छन् । उनले महिनावारी हुँदा के हुन्छ, प्याड कसरी प्रयोग गर्ने र प्रयोग गरेको प्याडलाई कसरी व्यवस्थापन गर्ने भनेर सिकाएकी छन् । अहिले छात्र छात्रा डर नमानिकन महिनावारी भएको सुरुको दिनमा नर्स कक्षमा नै आएर निशुल्क प्याड लैजान्छन् भने पहिलो पटक महिनावारी भएकाहरु पनि डर नमानिकन साथीलाई भन्छन् ।   

मञ्जु पौडेलको छोरी सोही विद्यालयको कक्षा सातमा अध्ययन गर्छिन । उनको छोरी प्रशंसा पौडेल स्कुलमा पहिलो पटक महिनावारी भईन् । मञ्जु भन्छिन्, ‘मेरी छोरीले साथीलाई भनेकी रहिछन् । साथीले नर्सलाई भनेपछि नर्सले कोठामा गएर कसरी प्याड राख्ने र कसरी सफा हुने भनेर सिकाउनुभएको रहेछ । उनले नर्सबाट सिकेर आउँदा मलाई आधा टाउको दुखेको कम भयो ।’

यतिबेला चितवनको भरतपुर महानगरपालिकाका तीन विद्यालयमा स्टाफ नर्स कार्यक्रम लागु भएको छ । चितवन जिल्लाभर भने ११ वटा सामुदायिक विद्यालयमा स्टाफ नर्स उपलब्ध गराइएको छ । भरतपुर महानगरमा ३, कालिका नगरपालिकामा ३ विद्यालयमा नर्स छन् भने राप्ती, माडी, खैरहनी, रत्ननगर र इच्छाकामना गाउँपालिकाको एक÷एक विद्यालयमा एक जनाको दरले स्टाफ नर्स उपलब्ध गराइएको छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका तत्कालिन अधिकृत बाबुराम दवाडीले महानगरका दुई विद्यालयमा महानगरपालिका र एक विद्यालयमा विद्यालयको आन्तरिक श्रोतबाट स्टार्फ नर्स राखिएको बताए । उनी तीन वटा विद्यालयमा स्टार्फ नर्स रहेका र अत्यन्तै प्रभावकारी भइरहेको बताउँछन् । उनले भने, ‘विद्यार्थीले स्कुलमै प्रारम्भिक स्वास्थ्य सेवा पाएका छन्, जसले गर्दा विद्यार्थी स्कुलमा नियमित छन् ।’ उनी सबै स्कुलमा नर्स राख्ने योजना भए पनि अहिले आर्थिक सहयोग महानरगपालिकाले पनि गर्न नसक्ने र स्कुलले पनि आफैले राख्न नसक्दा सबै स्कुलमा राख्न नसकिएको बताए । गत वर्ष नै प्रदेश सरकारले भरतपुर महानगरको दुई विद्यालय नारायणी नमुना माध्यमिक विद्यालय र दुर्गा शेषकान्त माविमा नर्स उपलब्ध गराएको हो । उता नारायणगढको बालकुमारी कन्या माविले भने आफ्नै स्रोतबाट एक जना नर्स विद्यालयमा राखेको छ । 

नारायणी नमुना माविमा सञ्जु तिमिल्सिना र दुर्गा शेषकान्त माविमा मधुकुमारी पौडेलले स्वास्थ्य सेवा दिईरहेका छन् । उनीहरुको मासिक तलब २८ हजार दुई सय रुपैँया रहेको छ  । तर तलब भने समयमा नै आउन नसकेकोमा उनीहरुको दुखेसो रहेको छ । समयमा नै तलव आउन सकेमा अझै काम गर्न सहज हुने नर्स सञ्जुको भनाई छ । उनी पाँच छ महिनाको फरकमा तलव आउदा गाहे हुने गरेको बताउँछिन् ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशको समाजिक विकास मन्त्रालयको कार्यक्रम हो । अहिले बागमती प्रदेशको १२१ विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर