क्वारेन्टाइन मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन

जनकपुरधाम । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले निर्धारित मापदण्ड अनुरुप क्वारेन्टाइन सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि प्रदेशका विभिन्न स्थानमा स्थापित कतिपय क्वारेन्टाइन मापदण्डअनुरुप सञ्चालन नभएको गुनासो आएपछि मन्त्रालयले सो निर्देशन दिएको हो । मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सञ्चालनमा रहेका र आगामी दिनमा सञ्चालन हुने क्वारेन्टाइनका लागि मापदण्डलाई पालना गर्न  सो निर्देशन दिएको जानकारी दिए । 

सो मापदण्डमा क्वारेन्टाइन घनाबस्तीबाट टाढा हुनुपर्ने, सञ्चार, स्वास्थ्य, सडक तथा बिजुलीको व्यवस्था हुुनुपर्ने रहेको छ । 

शिक्षण संस्था, होस्टेल, तालिमकेन्द्र, सामाजिक संरचना, सरकारी भवन यदि यस्तो व्यवस्था नभएको स्थानमा खुल्ला मैदानमा पाल तथा अन्य व्यवस्था गरी क्वारेन्टाइनको स्थापना गर्नुपर्ने रहेको छ ।  गर्भवती महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र सरसफाइ टिमको पनि अलग्गै बस्ने व्यवस्था हुनुपर्ने उहाँले बताए ।

क्वारेन्टाइन स्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले समिति गठन गरी क्वारेन्टाइन स्थापना र सञ्चालन गर्ने व्यवस्था छ । सङ्घीय सांसद, प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समितिका प्रमुख सो समितिको सल्लाहकार रहने व्यवस्था छ भने अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख र सम्बन्धित पालिकाको प्रमुख रहने व्यवस्था छ ।

यसका साथै, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीका अधिकृत, नेपाल रेडक्रस, सम्बन्धित वडाध्यक्ष, डिभिजन शहरी भवन कार्यालयका अधिकृत, अस्पतालका प्रमुख र स्वास्थ्य अधिकृत रहने व्यवस्था छ । 

क्वारेन्टाइन सञ्चालनका लागि निर्धारण गरिएका मापदण्डअनुरुप सञ्चालन नभएका क्वारेन्टाइनमा सुधार गर्नुपर्ने विषयमा जोड दिँदै सचिव डा घिमिरेले क्वारेन्टाइनको अनुगमनका लागि गठित समितिलाई अनुगमनतर्फ बढी केन्द्रित हुनुपर्ने देखिएको बताए ।

यस प्रदेशअन्तर्गतका आठ जिल्लाका विभिन्न स्थानमा १७५ वटा क्वारेन्टाइनस्थल छ । सो क्वारेन्टाइनमा तीन हजार ९८८ वटा श्ययाको व्यवस्था गरिएको छ भने आइसोलेशन श्ययाको सङ्ख्या २६७ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर