• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ए कान्छा ! तिमी सुतेको चिहान अलि पर सार्न मिल्दैन ?

‘श्रीमतीको मृत देहको छेउबाट जुधाइरहेको परस्त्रीको आँखा बेइमानको पराकाष्ठा थियो । यहाँ प्रयोग गरिएको साझा बिम्ब ‘गोलो’ हो ।’

 

बुद्धको भनाई पछ्याएर भन्ने हो भने यो बन्दाबन्दीमा दुःख छ, दुःखको कारण छस निरावरण छैन । बन्दमा स्वःक्वारेन्टाइनमा बस्नुको विकल्प पनि त छैन । परन्तु भोको पेटले यो क्वारेन्टाइन बस्ने सिद्धान्तइतरमा वकालत गर्छ । तैपनि यो विषम परिस्थितिको एक मात्र सुरक्षा कवच भन्नु नै बन्दाबन्दी वा सामाजिक दुरी कायम गर्नु हो । हुन त यो नै अन्तिम उपाय नहुन सक्छ ।

बेप्रवाह धुवाँ, धुलो, भद्रगोल सवारी र भिड्भाडको लस्कर लाग्ने सडक र शहर यतिखेर मौनधारण अवस्थामा छ ।  देशका भोका जन चिन्ताग्निले जल्दा छन् र यसैकारण मौनधारण तोड्दा छन् । सरकारको कुनै प्रभावकारी नियमन छैन । यस्तो दारुण अवस्थामा कष्टकर जीवनको रथ घचेट्नुपर्ने दुर्दान्तकारी बाध्यताबीच दिन बित्दो छ ।

कोरोनाका रोगी फैलिँदा छन् । घर–घरमा जाँच पड्ताल गर्न सरकार अक्षम छ । सन्त्रस्त जन निष्प्रभावकारी जाँचबाट आजित छन् । र, प्रभावकारी जाँचको पर्खाइमा बस्दा छन् । बन्दाबन्दीले जनको आशा भरोसा र उत्साहमा ऐजेरु पलाएको छ । कोरोना प्रकोपले पक्कै पनि मानवीय संवेगमा चोट पुर्याएको छ ।
कोठाको निरसिलो बन्दी जीवनबाट प्रताडित म एकछिन आङ तन्काउन बाहिर आँगनमा निस्किन्छु । हामी बसेको घरको छेउछाउका रुखका हाँगामा चराका गुँड देखिन्छन् । यतिबेला चराहरू मात्र बेहद स्वच्छताले कावा खाँदै उडान भरिरहेछन् । चराहरूलाई कुनै बाधा छैन । कुनै चिन्ता छैन ।

यसपाली बैशाख वन कुहूकुहू भए पनि मन कुहूकुहू हुन सकेन । कोरोना कहरले गर्दा भग्न मनको कोकिल गाउँदैन । सायद यसपालीको बैशाखमा वसन्तऋतुको दुःखद् अन्त्य भयो । अहिले गृष्म ऋतु लागेको छ । यो ऋतुले झनै सन्त्रास लिएर आवागमन भरेको छ ।

आँखा फारेर हेर्छु, चराको गुँड भएको रुखको हाँगा बतासले हल्लियो । चराको निर्मल देह सगरमा उड्दै गुँड नजिक आयो । सायद झिंजाका जिक्ज्याक गुँडमा अस्तित्वका विजारोपन हुर्किँदै हुनन् ।

आज म कवि रोशन परियारको फेसबुक वालमा सवार भएको छु । उनी समकालीन नेपाली कविताका मुर्धन्य हस्ताक्षर हुन् । उनका सुन्दर कविताको पाठक हुँदै हुँ । परन्तु आज उनका तिनै शक्तिशाली कवितामा विचरण गर्नु र यसले मभित्र पारेको प्रभावको बारे मनलाग्दी कोर्न दुश्साहस गरेको छु । यसमा केबल मेरा वैयक्तिक र निजत्व विचार बिम्बित हुनेछन् । यी समालोचना होइनन् । हुँदै होइनन् । त्यसैले कवि रोशनको कवितामा मैले न्याय गर्छु र गर्दिनँ भन्ने कुराको पीरलो मलाई हुने छैन । उनका सबै कविताको यहाँ चर्चा पनि हुने छैन । यहाँ उनका राम्रा कविता मध्ये एकाध उदाहरणार्थ मात्र प्रस्तुत हुनेछन् ।

कवि रोशन परियारका कविताका आफ्नै मौलिक विशेषता छन् । उनको आहानयुक्त काव्यकलामा मानिसभित्रका सुख, दुःख, आशा, भरोसा र युगान्तकारी ऊर्ध्वगामी प्रस्तारका प्रतिविम्ब विम्बित भएको हुन्छ । सरलीकृत शब्दवान्कीमा मधुपर्कीय काव्यिक छटामा बेजोड् भाव भरिएको उनको ‘गर्व’ शिर्षकको कविताले यथेष्ट मन तान्छ–

रुनु त यसरी रुनु
जस्तो कि आँशुले पनि गर्व गरोः
र भनोस् , आभार छ ‘आँखा’
कैद मुक्त गरिदियौ ।

हाँस्नु त यसरी हाँस्नु
जस्तो कि खित्काले पनि गर्व गरोस्
र भनोस्, धन्यवाद छ ‘ओठ’
पिंजडाको ढोका खोलिदियौ ।’

दुरूह समयको निस्पृहतामा पनि जीवनबोध हुने अलौकिक भावयुक्त यी पंक्तिले प्रयुक्त मन आल्हादित भयो । उनको यो कविताले मानिसको स्वतन्त्र जीवनको वकालत गरेको छ ।

कोरोना कहरले आक्रान्त थिलथिलो मन न खुलेर रुन सक्छ । न त खुलेर हाँस्न सक्छ । परन्तु कवि रोशन परियारले भने जस्तै दर्दमा खुलेर रुन सकेको भए मन हल्का तन हल्का हुँदो हो र आँशुले गर्व गर्दो हो । अथवा खुलेर हाँस्न सकेको भए खित्काले गर्व गर्दो हो । जीवन जीवन्त बन्दो हो ।
कवि रोशन अब भने मेरो निगरानीमा परेका छन् । म उनलाई उनको वालमा धुईँधुईँती खोजेँ । धीत् नमरुन्जेल खोजेँ । ‘इमान्दारिता’ शिर्षकमा उनी यसो भन्दै थिए–

‘बाँच्न सिक्नु पर्छ भन्ने लाग्यो, सिक्न खोजें
बाँचुन्जेल टिक्नु पर्छ भन्ने लाग्यो, टिक्न खोजें
तर बिक्नु पर्छ भन्ने कहिल्यै लागेन र बिक्न पनि चाहिएन
जिन्दगी साझा बसको टिकट जस्तो होइन
जिन्दगी सिनेमा हलको टिकट जस्तो होइन
जसलाई च्यात्न कै लागि बेचिन्छ
जसलाई बेचे पछि जरुर च्यातिन्छ ।’

यो कविता कविको उत्कृष्ट काव्य सौन्दर्य चेतले भरिएको छ । सरलीकृत सृजना कवि रोशनको मौलिक वैशिष्ट्य क्षमताको परिचय हो । उनी आफ्ना कविताहरूमा सर्वाङ्ग खुल्छन् । लयात्मक र गेयात्मक परिधिमा निहित कविता ओजपूर्ण भावभङ्गिमाले सुसज्जित हुन्छन् । ‘इमानदारिता’ कवितामा उनले जीवन बस या सिनेमाको टिकटसरि बेचिनलाई नभएको कुरा इमानदारसाथ प्रष्ट्याएका छन् । आफू कहिल्यै नबिकेको सुन्दर यथार्थ यस कवितामा बताएका छन् । यो साँच्चै राम्रो कविता हो । 

भेद्भाव, छलछाम, उँच, नीच व्याप्त समाजलाई सजिव तरिकाले उतारेर विभेदप्रतिको तीक्ष्ण आवेग, आक्रोश र व्यंग्य ‘सिक्का र नोट’ शिर्षक कवितामा भरपुर पोखेका छन्–

‘मेरो औकात नभए कै कारण हजुरको रवाफ बढेको हो
मेरो हैसियत नभए कै कारण हजुरको दबाब बढेको हो
माफ गर्नुः
गाढालाई ‘गाढा’ भन्न पनि फिक्का चाहिन्छ
नोटलाई ‘नोट’ भन्न पनि सिक्का चाहिन्छ ।।’

सामान्य जन नभए महाजनको कुनै अस्तित्व हुने पनि थिएन । उँच नीचको तुलनात्मक मापनले समाजमा विभेद् र छलकपट विराजमान छ । यसले एउटा अतुलनीय विभेदको चुली अकासिएको यथार्थ ‘नोट र सिक्का’ कवितामा बिम्बित छ ।

फेसबुकमा उनका सबल दुर्बल काव्य हुँदा हुनन् । परन्तु मैले यहाँ आफूलाई मन परेका केही कवितांशको उदाहरणार्थ मात्र प्रस्तुत गरेको छु । वर्तमान नेपाली समकालीन साहित्यमा पढिनु पर्ने र पढिएका कवि हुन् रोशन परियार । धनकुटा जिल्लामा जन्मेर उतै कर्मथलो बनाएका कवि रोशन परियार मोफसलमा बसेर नेपाली साहित्याकाशमा खारिएर प्रस्तुत भएका छन् । सञ्जालमा मात्र नभई समग्र नेपाली साहित्यमा उनलाई खुबै रुचाइएको छ । उनले कविताको आकाशमा बेग्लै पहिचान पनि बनाएका छन् ।

मलाई प्रभाव पारेको अर्को एउटा कविता ‘गोलो’ शिर्षकको कविता हो । उक्त कविताका केही पंक्ति–

‘परदेशी फर्किन्छ भनेर
हिंड्ने साइतमा प्रियतमाले खुवाएको
सेलरोटी गोलो थियो

पसिना नै प्रसिद्धि हो भनेर
आँगनमा छोराले खेल्दै गरेको
थोत्रो जुराफको भकुण्डो पनि गोलो थियो

असिनाको गोलै ढिकाले चुटिरहेको
दिदीको लास कै छेउमा उभिएर
भिनाजुले जुधाइरहेको परस्त्रीको आँखा पनि गोलै थियो ।’

कुनै एक चीज सबै कुराको लागि प्राप्ति हुँदैन । एउटामा औषधी हुने चीज अर्कोमा बिष हुन पनि सक्छ । एउटै कुरा समय, परिस्थिति र परिवेश अनुसार फरक हुन सक्ने सुन्दर उदाहरण अत्यन्त सरल शब्दमा परन्तु अलंकारिक शैलीमा ‘गोलो’ शिर्षकको कवितामा लेखेका छन् ।

माथिको कवितांशमा प्रदेशी छुट्ने बेला प्रियतमाले खुवाएको सेलरोटी गोलो थियो, यो गोलो विछोडको प्रतिक थियो । थोत्रो जुराफको भकुण्डो खेलिरहेको छोराको गोलो आशाको प्रतिक थियो । आफ्नी श्रीमतीको लासमा चुटिरहेको असिना पनि गोलो थियो । श्रीमतीको मृत देहको छेउबाट जुधाइरहेको परस्त्रीको आँखा बेइमानको पराकाष्ठा थियो । यहाँ प्रयोग गरिएको साझा बिम्ब ‘गोलो’ हो । परन्तु यो गोलोमा अर्थको विविधता लुकेको छ । एउटै बिम्बलाई प्रयुक्त मात्रामा खेलाउनु कविको काव्यकुशलताको सुन्दर नमुना हो ।

नारी आवाजलाई पनि उनले बृहत रूपमा उरालेका छन् । ‘म स्वास्नी’ कवितामा उनले निर्मम तरिकाले पुरातन त्याज्य संस्कारप्रति कडा व्यंग्य पस्कन्छन्–   

चुपचाप ‘सहनु’ पर्ने थियो, सहिरहें
आजीवन ‘माफ’ दिनु पर्ने थियो, दिइरहें
किनकी
यी लोग्नेहरू हुन्
जो मरेर पनि फर्किरहन्छन् जिउँदोमा
जो बगेर पनि बसिरहन्छन् सिउँदोमा
ए !
म बाँचेको युग
म पनि क्लियोपेट्रा बनूँ ??

पुरुषको हरेक मन्द दमित कुसंस्कारदेखि सामन्ति आचरण विरुद्धको हुँकार माथिको कवितामा पोखिएको छ । पुरुषको हैकमवादी सोंच, व्यवहारलाई अहं ठान्ने कुप्रथालाई कविले नङ्ग्याएका छन् ।

फेसबुकमा एकाध गजल देखेँ । उनी गजलमा भन्दा कवितामा पोख्त छन् । तैपनि एकाध गजलले मन तानिरहे । बजेट दुरूपयोगप्रतिको कौक्ष एक मतला–

कसैले शिर मागेका छन् कसैले शरिर मागेका छन्
यसपालीको बजेटमा भगवान्हरूले मन्दिर मागेका छन्

कवि रोशन परियारको वालमा विचरण हुँदा कुनै ठाउँमा मेरा आँखा बेस्मारी गाडिए । मन खुबै निचोरियो । आज जेठ महिनाको २ गते २०७७ तदनुसार १५ मे, २०२० का दिन कवि रोशनको कवितामा केही कोर्ने जमर्कोलाई एउटा विधुवा श्रीमतीको करुण क्रन्दनयुक्त कविता ‘ए कान्छा’ शिर्षकको कवितांशले यो लेखनीको बिट मारेँ–

कान्लामुनि तिमीले आफैं खनेको कुवाबाट
अझै पनि राफिलो मूल फुटिरहेकै छ कान्छा
कान्लामाथि तिम्रै हातले गोडेका दुई थुङ्गा रातो गुलाफ
अझै पनि ओइलाएको छैन कान्छा !

टाँकी को रुखमा बसेर न्याउली रुन्छ
उही बेला विरहको छटपटी छातीमा दन्किन्छ
तिमी सुतेकै ठाउँबाट
मेरो हरेक बिहान हुन्छ आज पनि
ए कान्छा !
तिमी सुतेको चिहान
अलि पर सार्न मिल्दैन ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर