• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
 
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ ।  संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।  मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।
 
कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक  रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ । यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।   तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र  एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।  अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको  कोडिभ –१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । डा सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरेका छन् ।
 
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित छन् ।  स्वास्थ्य समितिका अनुसार  कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३–१३, अष्टे«लियामा १२, जापान र  माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र  फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र  पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर