• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दो, लकडाउन अझ खुकुलो बनाउँने तयारी

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरुले जनाएका छन् । 

अघिल्ला दिनहरुमा दैनिक रुपमा सङ्क्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९८३ जना सङ्क्रमण मुक्त भएका छन् ।

“तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमित मध्ये ४७।७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने ।  

कुल सङ्क्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । 

यसैबीच, कोरोना संक्रमणको जोखिम कम भएको स्थानमा लकडाउनलाई केही खुकुलो बनाउने भारतले तयारी थालेको छ । भारतीय रेलवे प्रशानले जुन एक बाट २ सय वटा रेलगाडी सञ्चालनमा ल्याउने बताएको छ । 

त्यसैगरी, रेलवे स्टेशनमा किताब, औषधीका पसल खुल्ला गरिने बताइएको छ । यद्यपि, कोरोना महामारीको केन्द्र महाराष्ट्र र उत्तर प्रदेशमा भने ३० जुनसम्म लकडाउन जारी रहने त्यहाँको प्रदेश सरकारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर